अष्ट्रेलियन सरकारले कोरोनाको मारमा परेको मुलुकलाई विस्तारै सामान्य बनाउनेगरी योजनाहरु अघि सारेको छ। पछिल्ला दिनमा कोरोनाका नयाँ 'केस' घट्न थालेपछि सरकार उत्साहित देखिएको हाे।
आवश्यकता हेरी व्यापार व्यवसायलाई खुला गर्ने नीति सरकारले अगाडि सारेको छ। शुक्रबार क्यानबेरामा मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले आगामी दुई महिनासम्म कोरोनालाई कम गर्दै जाने र तीन चरणमा गरेर जनजीवन सामान्य बनाउने मार्गचित्र प्रस्तुत गरे।
सरकारको मार्गचित्र बमोजिम पहिलो चरणमा घर बाहिर हुने १० जनासम्मको सामाजिक भेलाहरू माथि लागेको प्रतिबन्ध हटाइने उल्लेख छ।
यस्तै मानिसहरूले पाँच जनासम्म साथीभाइ घरमा बोलाउन सक्ने, घर बाहिर १० जनासम्म भेला हुन पाउने, पुस्तकालय, सामुदायिक केन्द्र, खेल मैदान, पौडी पोखरी, ब्यापारिक केन्द्र, क्याफे तथा रेस्टुरेन्टहरू पुनः सञ्चालनमा ल्याइने छ।
त्यसैगरी स्थानीय र क्षेत्रीय रूपमा बन्देज लगाइएको आन्तरिक आवागमनलाई पहिलो चरणमा फुकुवा गरिने प्रधानमन्त्रीले जनाएका छन्।
दोस्रो चरणको प्रतिबन्ध फुकुवामा भने बीस जनासम्म मानिस घर बाहिर जम्मा हुन पाउनेछन्।
त्यस्तै जिम, ब्यूटी पार्लर, सिनेमा घर, र सङ्ग्रहालयसहित केही अन्तर राज्य यात्रालाई पनि फुकुवाको प्रकृयामा राखिने प्रधानमन्त्री मोरिसनले बताएका छन्।
तेस्रो चरणमा भने १०० जनासम्मको भेलालाई अनुमति दिइने बताइएको छ। यो चरणमा फुड कोर्ट, नाइट क्लब, पब, र जिम तथा सौनाहरू जस्ता धेरै भीड हुने ठाउँहरू पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
योसँगै तेस्रो चरण अन्तर्गत सबै अन्तर्राष्ट्रिय यात्राको सुरुआत र अष्ट्रेलिया एवं न्युजील्याण्डबीचको भ्रमणहरू हुने छन्। त्यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन जस्ता विषयमा विचार गरिने घोषणामा जनाइएको छ।
यो वर्षको जुलाई महिनासम्ममा यी तीन चरणहरू पार गरेर कोभिडलाई निर्मुल पार गरी सुरक्षित अर्थतन्त्र प्राप्त गर्नु सरकारको लक्ष्य रहेको प्रधानमन्त्रीले बताएका छन्।
यी योजनाहरूको समीक्षा राष्ट्रिय मन्त्रिपरिषद्ले तीन हप्ताको अन्तरालमा गर्ने छ। यी तीन वटै चरणमा अष्ट्रेलियालीहरूले भौतिक दुरी सम्बन्धी नियमहरूको पालना गर्दै, हात राम्ररी धुने र सन्चो नभएको खण्डमा घरमै आराम गरेर बस्नु पर्ने सरकारको कार्यतालिकामा उल्लेख गरिएको छ।
हालसम्म अष्ट्रेलियामा कोरोनाबाट ९७ जनाको मृत्यु भैसकेको छ भने करिब सात हजार संक्रमित भएका छन्। पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या न्यून हुन थालेको छ।