कोरोनाको कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई फुड बैंक अस्ट्रेलियाले एनआरएनमार्फत् खाद्यान्न सहयोग उपलब्ध गराएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएन)का प्रवक्ता नन्द गुरूङले फुड बैंक अस्ट्रेलियाले ३ सय बक्स खाद्यान्न उपलब्ध गराएको हो।
एक जनाको लागि अनुमानित एक महिनासम्म पुग्ने खाद्यान्न बक्स फुड बैंक अस्ट्रेलियाले एनआरएनएमार्फत् समस्यामा रहेका नेपाली विद्यार्थीलाई उपलब्ध गराउने प्रवक्ता गुरुङले बताए।
‘समस्यामा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने अन्य संस्थाको खोजीमा थियौं। फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) का अध्यक्ष अमितजंग थापाको सहयोगमा फुड बैंक अस्ट्रेलियाले सहयोग उपलब्ध गराएको हो’, उनले भने, ‘प्राप्त भएको खाद्यान्न बक्स सहयोग स्टेट कोअर्डिनेट कमिटीलाई वितरणको लागि हस्तान्तरण गरिने छ।’
न्यू साउथ वेल्स राज्यमा ८ सयभन्दा बढीले सहयोग लिएको जानकारी दिँदै प्रवक्ता गुरुङले भने, ‘नेपाली संघसंस्थाबाहेक भारतीय समुदायबाट पनि सहयोग प्राप्त भएको छ। त्यसबाहेक नेपालीहरूलाई सहयोग उपलब्ध गराउने फुड बैंक अस्ट्रेलिया पहिलो संस्था हो।’
एनआरएनएले तयार पारेको मापदण्डअनुसार नै राहत वितरण भइरहेको उनले बताए।
कतिपयले दोस्रो चरणको राहत प्राप्त गरिसकेका छन्। दुई साता पुगेकाले दोस्रो पटक राहत लिएका हुन्।
पहिल्यै तय भएको मापदण्डअनुसार नै राहत वितरण गरिएको छ। अहिलेसम्म ८ सय नेपालीलाई राहत वितरण गरिएको छ।
फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) का प्रेसिडेन्ट अमितजंग थापाले फुड बैंक अस्ट्रेलियाको कार्यकारी निर्देशक ब्रियनासँग सहयोगको प्रस्ताव राखेपछि यो सम्भव भएको थियो।
आवश्यक परेमा फुड बैंकले यो सहयोग अन्य स्टेटहरूमा पनि उपलब्ध गराउने सम्भावना रहेको अमितजंगले बताए।