अष्ट्रेलियास्थित नेपाली राजदूतावासले सिड्नी आउने नेपाल एयरलाइन्सको चार्टड विमानबाट आपतमा परेका नेपालीलाई स्वदेश फर्काउने प्रयास गरिएको जनाएको छ।
एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले घुमाउराे पारामा याे प्रयास सफल हुनेमा भने शंका जनाएकाे छ।
यसअघि ब्रिसबेन आएको नेपाल एयरलाइन्सको जहाजमा आपतविपतमा परेका नेपाली फर्काउन राजदूतावसले आग्रह गरेता पनि नेपाल सरकारले अस्वीकार गरेपछि विमान खाली फर्केको थियो।
स्वदेश फर्काउन राजदूतावासलाई दिनहुँ कयौं आग्रह र अनुरोध आउने गरेका छन्। दूतावासले यसलाई गम्भीरतापूर्वक लिएको र परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको जनाएको छ।
सरकारले दिएको आदेश पालना गर्नु आफूहरुको पनि कर्तव्य रहेको औंल्याउँदै दूतावासले अष्ट्रेलियामा रहेकालाई सुरक्षित रहन आग्रह गरेको छ।
दूतावासले घुमाउरो भाषामा विमान खाली फर्कने संकेत गर्दै भनेको छ, ‘जहाँ रहनुभएको छ, सुरक्षित रहनुहोला र खाना बस्नकै समस्या परे राजदूतावासमा सम्पर्क गर्नुहोला।’
अष्ट्रेलियामा रहेकाहरुको अवस्थालाई खुलाएर आफूहरुले आपतविपतमा परेकालाई फर्काउन आग्रह गरेको राजदूत महेशराज दाहालले बताए।
यसैबीच मेलवर्नमा पारिवारिक भ्रमणमा आएका एक क्रिकेटर अनिल अधिकारीले देश फर्कन माग गर्दै अनसन थालेका छन्।
‘खाली प्लेन फर्काउन पाइँदैन, नागरिकलाई अलपत्र पार्न पाइँदैन’ भन्दै अधिकारीले स्वदेश फर्काउन राज्यलाई आह्वान गर्दै भोक हड्ताल सुरु गरेका हुन्।