प्रधानमन्त्री स्कट मोरिसनले समस्यामा परेका बिदेशी नागरिक र विद्यार्थीलाई घर फर्कन सुझाव दिएका बेला तास्मानिया राज्य सरकारले भने विदेशी नागरिकको लागि राहत प्याकेज घोषणा गरेको छ।
कोरोना भाइरसका कारण आर्थिक संकटमा परेका विदेशीका लागि तास्मानिया राज्य सरकारले ३० लाख डलरको राहत प्याकेज घोषणा गरेको हो।
तास्मानियामा अस्थायी भिसामा रहेकाहरुका लागि आर्थिक सहायता प्रदान गर्ने राज्य सरकारको घोषणाको स्थानीय नेपाली समुदायले पनि स्वागत गरेका छन्।
कोरोना भाइरसका कारण आर्थिक संकटमा परेका विदेशीहरुका लागि आजदेखि लागू हुनेगरी सरकारले ३० लाख डलरको राहत प्याकेज घोषणा गरेको हो।
सरकारको उक्त निर्णयबारे बोल्दै राज्यका प्रिमियर पिटर गुटवेनले पछिल्लो समयमा आर्थिक समस्यामा रहेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन गरिएको आग्रह समेत उपयुक्त नरहेको बताएका छन्।
ठूलो संख्यामा आफ्नो राज्यमा अस्थायी भिसामा रहेका अन्य देशका नागरिक आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेका कारण उनीहरुका लागि सहयोग आवश्यक रहेको पिटरले बताए।
अस्थायी भिसामा राज्यमा रहेका झन्डै २६ हजारका लागि एक पटक मात्रको रकम भुक्तानी गर्ने लिबरल सरकारको उक्त योजना अन्तर्गत एकल व्यक्तिले २ सय पचास डलर र परिवारले १ हजार डलरसम्म राहत पाउन सक्नेछन्।
तास्मानिया नेपाली समाजकी अध्यक्ष पुनम पन्तले सामूहिक प्रयासस्वरुप राज्य सरकारले सानै भए पनि ल्याएको राहत प्याकेज महत्वपूर्ण सन्देशका रुपमा रहेको बताइन्। यो निर्णयले केन्द्र सरकारको आँखा खोल्न बल पुगेको अध्यक्ष पन्तले बताइन्।