अष्ट्रेलियाको सिड्नीमा रहेको क्राउन इन्सिच्युट अफ हाइयर एजुकेसनले कोरोनाका कारण आर्थिक समस्यामा परेका विद्यार्थीका लागि २५ लाख अष्ट्रेलियन डलरको सहयोग कोष घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोगको लागि यो आर्थिक प्याकेज घोषणा गरिएको इन्सिच्युटका प्रिन्सिपल शेयर होल्डर दिपक खड्काले बताए। विद्यार्थीमा परेको आर्थिक समस्यालाई हेरिकन शैक्षिक तथा अन्य सहयोग गरिने उनले बताए।
न्यु साउथवेल्सका महावाणिज्यदूत समेत रहेका दिपक खड्काका अनुसार कोरोनाका कारण काम गुमाएका र आर्थिक चपेटामा परेका सो कलेजमा अध्ययनरत विद्यार्थीको शैक्षिक शुल्कमा १७ प्रतिशतले छुट दिने निर्णय समेत गरिएको छ।
आर्थिक रुपमा प्रभावित विद्यार्थीलाई पाँच सय डलरसम्मको सहयोग गरिने उनको भनाइ छ। यसका लागि क्राउनमा अध्ययनरत विद्यार्थीले कोरोना प्रभावको सप्रमाण सहित आवेद दिनु पर्ने छ। संस्थाले शैक्षिक शुल्कमा पनि सरलता अपनाउने जनाएको छ।
शैक्षिक शुल्कलाई साप्ताहिक र अर्धमासिक रुपमा समेत तिर्न सकिने बनाएको र हालका लागि ‘लेट फी’ समेत नलाग्ने खड्काले सुनाए। जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमको समेत घोषणा गरिएको छ। जसमा डिन्स अर्वाड अन्तर्गत मेधावी छात्र छात्रालाई थप पन्ध्र प्रतिशत शैक्षिक शुल्कमा छुट दिइने कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थीको भविष्यप्रति कलेज चिन्तित रहेको र रोजगारमा समेत सहयोगी भूमिका खेलिरहेको कलेजका कार्यकारी प्रमुख नारायण तिवारीले बताए। अन्तर्राष्ट्रिय विद्यार्थीको हितमा सबैभन्दा ठूलो र महत्वपुर्ण छुटका साथ ल्याइएको यो पहिलो घोषणा हो।
यसअघि नेपाली मुलका अष्ट्रेलियन धनाढ्य शेष घलेले दश लाख डलरको सहयोग कोषको घोषणा गरेका थिए। घलेको एमआइटी कलेजमा चार हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन्।