अस्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरूको छाता संगठन अस्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट एलायन्स(एका)ले विद्यार्थीहरूको हितका लागि आफूहरूले विविध कार्यक्रम ल्याएको जनाएको छ।
एकाले आफ्ना सदस्य कन्सलटेन्सी र क्राउड फन्डिङमार्फत् पाँच लाखको विद्यार्थी कल्याण कोषका लागि पैसा संकलन सुरू गरेको छ।
अनलाइन पत्रकार सम्मेलनको आयोजना गरेर एकाले आर्थिक सहायता लगायत विद्यार्थीहरूको हकहितका लागि विद्यार्थी राहत कोषको स्थापना, विश्वविद्यालय, सरकार र सरोकारवालाहरूसँंग सहकार्य गर्नुका साथै परामर्श सेवामा विशेष सहुलियत अनि मानसिक समस्यामा सहयोग र सचेतना अभियानको थालनी गरेको एकाका मिडिया संयोजक सन्जिव पाण्डेले बताए।
पत्रकार सम्मेलनमा एकाका अध्यक्ष पिआर अधिकारीले कोरोनाका कारण संकटमा रहेका विद्यार्थीका लागि पहिलो चरणमा तत्कालै एक लाख डलर सहायता उपलब्ध गराउने जानकारी गराए।
एकाले नेपाल र अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरूलाई यो अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ।
सहयोग कोष निर्माणमा आर्थिक संकलन गर्न र शैक्षिक संस्थाहरूसँग सहकार्य गर्नका लागि एकाले पूर्वअध्यक्ष विवेक थापाको संयोजकत्वमा समिति बनाएको छ। एकाले शैक्षिक परामर्शका लागि विद्यार्थीले तिर्दै आएको सेवा शुल्कमा सहुलियत दिन समेत सबै सदस्य कन्सलटेन्सीलाई आग्रह गरेको कुरा मिडिया कमिटीका सदस्य सन्दीप खनालले बताए।
त्यस्तै, एकाले विद्यार्थीलाई सहायता उपलब्ध गराउन अस्ट्रेलियाका विश्वविद्यालय र कलेजहरूसँग निरन्तर सहकार्य गरिरहेको ओसेनिया एजुकेसनका खनालले जानकारी गराए।
अस्ट्रेलियाका शैक्षिक संस्थाहरूले विदेशी विद्यार्थीका लागि शुल्कमा छुट, आर्थिक सहायता र खाद्यान्न समेत उपलब्ध गराइरहेको र अस्ट्रेलियाका ४३ विश्वविद्यालयमध्ये २९ वटाले विदेशी विद्यार्थीका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको मिडिया कमिटीका सदस्य राजेश जोशीले बताए।
नेपाली विद्यार्थीहरूको समस्या समाधानका लागि एकाले नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र सामाजिक संघसंस्थासँग निरन्तर सहकार्य समेत गरिरहेको जानकारी दिँदै एकाका मिडिया कमिटी सदस्य दीपक क्षेत्रीले भने विद्यार्थीका सहयोगको सवालमा एकद्वार प्रणालीबाट अगाडि बढ्न एका सहमत भएको समेत बताए।
एकाले विद्यार्थीका समस्याबारेमा अस्ट्रेलियन सरकारलाई समेत जानकारी गराइरहेको बताउँदै एकाका सचिव शरद भुषालले विद्यार्थीलाई नेपालबाट सहज तवरबाट पैसा ल्याउने व्यवस्था गर्न नेपाल सरकार र नेपाल राष्ट बैंकको ध्यानाकर्षण गराएको समेत बताए।
विद्यार्थीले व्यक्तिगत खर्चका लागि ५ सय अमेरिकी डलर लाने पाउने व्यवस्थालाई एक हजार डलर बनाउन पनि एकाले पहल गरिरहेको भुषालले पत्रकार सम्मेलनमा जानकारी दिए।