सोमबार अस्ट्रेलियाका १ सय ५० जना भन्दा बढी अर्थशास्त्रीहरूले सरकारलाई कोरोना भाइरसको संक्रमण रोकथाममा प्रभावकारी मानिएको सामाजिक दूरीको अभ्यासलाई खुकुलो पार्न नहुने चेतावनी दिएका छन्।
कोरोना संक्रमितको संख्या घट्दै आएको भएपनि उनीहरूले त्यस्तो नगर्न चेतावनी दिएका हुन्।
कोरोना भाइरस फैलिन सुरु भएपछि आफ्ना अन्तराष्ट्रिय सीमानाकाहरू बन्द गर्नुका साथै मानिसहरूको चहलपहलमा प्रतिबन्ध लगाएको अस्ट्रेलियामा कोरोनाको प्रभाव विश्वका अन्य मुलुकको तुलनामा कम छ।
अस्ट्रेलियामा केहि समययता कोरोनाका संक्रमित प्रतिदिन ४० भन्दा कमको संख्यामा देखिदैं आएको छ।
संक्रमण नियन्त्रणका लागि सरकारले पछिल्लो समय अपनाइरहेको उपायले संक्रमणमा कमी आएको भएपनि ती उपायहरूका कारण बेरोजगारीदर भने १० प्रतिशतसम्म बढ्ने देखिएको छ।
यो १६ वर्ष यताकै उच्च बेरोजगारीदर हो।
प्रतिबन्धहरू खुकुलो पार्न माग उठिरहेको सन्दर्भमा ती अर्थशास्त्रीहरूले सरकारलाई पत्र लेखेका हुन्।
'सार्वजनिक स्वास्थ्य संकट विस्तृत रूपमा समाधान नगरेसम्म क्रियाशिल अर्थव्यवस्था हुन सक्दैन', उनीहरूले पत्रमा लेखेका छन्।
अस्ट्रेलियन सरकार र त्यहाँको केन्द्रिय बैंकले देशको अर्थव्यवस्थामा कोरोनाका कारण परेको असरलाई समाधान गर्न ३ सय २० अस्ट्रेलियन डलरको आर्थिक प्याकेज ल्याउने बताइसकेका छन्।
प्रधानमन्त्री स्कट मोरिसनले गत हप्ता अष्ट्रेलियाको प्रतिबन्ध कम्तिमा चार हप्तासम्म सहज नहुने बताएका थिए।
सोमबार अस्ट्रेलियाका विभिन्न राज्यका प्रमुखहरूले नागरिकहरूलाई सामाजिक दूरीका नियमहरु पालना गर्न आग्रह गरेका छन्।
'हामी सबैले ठूलो त्याग गरेका छौं। हामी निराशामा बगेर अहिलेसम्मका उपलब्धिहरूलाई खेर फाल्न सक्दैनौं', भिक्टोरिया राज्यका प्रमुख डानियल एन्ड्रयूजले मेलबर्नका संवाददाताहरुलाई भने।
एन्ड्रयूजले अस्ट्रेलियाले कोरोना परिक्षण क्षमता, ट्राकिङ सिस्टम बलियो नपारेसम्म हाल जारी प्रतिबन्धमा सहजता ल्याउन नसकिने स्पष्ट पारे।