अस्ट्रेलियाको एक्सपर्ट फाउन्डेसनले कोरोनाका कारण समस्यामा परेका विद्यार्थीका लागि दुई लाख डलरको कोभिड-१९ एक्सपर्ट सहयोग कोषको घोषणा गरेको छ।
कोरोनाका कारण अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने उद्धेश्यले उक्त कोषको घोषणा गरिएको एक्सपर्ट एजुकेसनका निर्देशक सन्जिव शर्माले बताए।
उनले विद्यार्थीको समस्यालाई केही हदसम्म मल्हम लगाउने प्रयासका लागि यो राहत कोषको स्थापना गरिएको बताए।
‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गई मानव जगत नै अहिले असहज परिस्थितिबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पूरा गरेका हौं,’ एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले भने।
अर्यालका अनुसार दुई लाख डलरमध्ये एक लाख पचास हजार डलर एक्सपर्ट एजुकेसनमार्फत् आएका विद्यार्थीका लागि र बाँकी पचास हजार डलर अन्य नेपाली विद्यार्थीको सहयोगमा जुटिरहेका संघ/संस्थालाई प्रदान गरिने छ।
पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च अध्ययनका लागि आएका र रोजगारी गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकाहरूलाई पनि मूल्यांकनका आधारमा सहयोग गरिने योजना रहेको अर्यालले बताए।
सम्भवत निजी क्षेत्रबाट सञ्चालित कुनै व्यवसायिक संगठनले कोरोनाको प्रभावपछि विद्यार्थीको हक हितका लागि गरिएको यो पहिलो राहत कोष हो।