चिन्ताको प्रमुख कारण मानिस भित्रको डर पनि हो। गरिबीको डर, आलोचनाको डर, स्वास्थ्यको डर, मायालु गुम्ने डर, बुढेसकालको डर अनि मृत्युको यस्तै यस्तै। त्यसकारण हामीले जिन्दगी जिउन मात्र सिकेका छौँ, बाच्न होइन।
थोमस क्रेल्यल भन्छन् ‘हामी परको धमिलो चिजलाई चियाउने प्रयास गर्छौँ तर आफ्नै हातमा भएको सफा चिज देख्दैनौँ। अर्थात जे सफा छ त्यसलाई प्रयोग गरेर बाच्नु मात्र जिउनु होइन।’
चिन्तामुक्त हुन के गर्ने? उत्तर सरल छ। चिन्ता गर्न बन्द गर्ने , बाच्न सिक्ने, आफूलाई सकारत्मक राख्ने। बन्दाबन्दीले घरभित्र बेकामे भएर बसेको अहिलेको बेलामा झनै उपयोगी छ।
कसैलाई पढाईको, कसैलाई स्वास्थ्यको चिन्ता, मित्रको चिन्ता, जागिरको चिन्ता, व्यापारको चिन्ता, देशको चिन्ता , पृथ्वीको चिन्ता उर्फ चिन्तै चिन्ता।
शान्ता एफ अस्पतालका प्रमुख चिकित्सक, कोलोराडोका डा. ओएफ गोबेर भन्छन् ‘७० प्रतिशत बिरामी औषधीय उपचार गर्न आउँछन्, तर उनीहरुमा आत्मबल र चिन्तामुक्तिको बलियो अचुक औषधि हुने हो भने आधाउधि त आफैं निको हुन सक्छन्।’
स्नायु सम्बद्ध रोग , मुटुरोग, पेटको अल्सर, अनिन्द्रा, कुनै पक्षाघात, कतिपय टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुनुको कारण पनि डर र चिन्ता हो।
अन्योल नै चिन्ताको प्रधान कारणका बारेमा हर्बर्ट इ. हव्केस भन्छन्, ‘सम्पूर्ण, नभए पनि अधिकांश समस्याको जड त यही चिन्ता रैछ! हामी सबै सफलताको दौडमा हुन्छौँ, तर असफलताको चिन्ताले बढी पिरोलिन्छौँ, यो नै हाम्रो रोगको कारण बन्ने गर्छ।’
डा. एलेक्सिस कार्रेलले भनेका छन्, ‘व्यापारी, जोसँग चिन्तासँग लड्ने वुद्धि हुँदैन, त्यो अकालमा मर्ने पक्कापक्की छ।’
अब गर्ने के त? त्यति बेला चिन्ता गर्न गाह्रो हुन्छ, जब तिमी आफूलाई व्यस्त राख्छौँ जुन कामलाई योजना र सोच चाहिन्छ। चिन्तामुक्त हुने उपाय नै सम्पूर्णरुपमा आफूलाई केही सिर्जनात्मक काममा लगाइ राख्ने हो।
‘मैले आफूलाई कामकाजमा भुलाउनु पर्छ अन्यथा म नैराश्यतामा क्षीण हुनेछु,’ भन्ने भावना जागृत हुनु पर्ने छ। महान वैज्ञानिक पासट्युरले बोलेका केही स्मरण सम्झने हो भने, ‘शान्ति पुस्तकालय र प्रयोगशालामा पाउँछु, किनकि पुस्तकालय र प्रयोगशालामा मान्छे प्राय काममा मग्न हुने गर्दछ।’
एउटा लघुकथा सम्झिन मन लाग्यो, जहाँ एउटा मान्छे एक्लै जंगलमा अलपत्र पर्छ। उसले त्यहाँ वर्षौ वर्ष एक्लै बिताउनु पर्दा उसलाई कति चिन्ता हुन्थ्यो होला, कति आत्तिन्थ्यो होला। डर पनि छ, साथमा समय पनि बिताउनु छ। त्यो पनि एक्लै।
हरेक दिन उसले जम्मा पारेका बन्दोबस्तीका सबै सामान बिहानै लगेर समुन्द्रमा फाल्दिनथ्यो रे, किनकि उसले फेरि त्यहि सामानको खोजीमा आफ्नो समय बिताओस्। मात्र पिर, चिन्तालाई छल्न र आफूलाई अभ्यस्त राख्न मानिस व्यस्त हुन जरुरी छ।
‘खाना पकाउन आउँदैन भने नयाँ नयाँ परिकार बनाउन थाल्नुहोस्, घरमा के के मर्मत गर्नु पर्ने छ, सूची बनाएर काम गर्नुहोस्। छोराछोरीको लघुकथा सुनिदिनुहोस् जुन सुन्ने फुर्सद थिएन। पुस्तक पढ्नुहोस्, चलचित्र हेर्नुहोस्, आगामी योजना बनाउनुहोस्, मात्र चिन्ता नगरिदिनुहोस्।
सधैंको भागदौडले हामी आफूलाई नै बुझ्न नसक्ने भइसकेका छौँ, यो त मौका हो हामीले आफूलाई अझ धेरै बुझ्ने, माया गर्ने र आफूलाई लेखाजोखा गर्ने। के थाहा तपाईले गरिरहेका पूर्व काम वा तपाईंको दैनिकीको बारेमा पनि समीक्षा भएको थिएन कि।
जो कहिले तपाईंको साथ छोड्दैन, सधैँ सँगै हुन्छ, अरुलाई मात्र समय दिने तपाईंले अब यो समय आफूलाई दिनुहोस्।आफूलाई सुझाव दिनुहोस्, प्रेरित गर्नुहोस्, समिक्षा गर्नुहोस् र आफूमा नै लगानी गर्नुहोस्। यस्तो समय र मौका सँधै आउँदैन।
यो महामारी न त पहिलो हो, न त अन्तिम नै कसलाई के थाहा। विश्वास छ काडाँधारी सिस्नुको तरकारी बनाउन त जान्ने हामी नेपालीलाई यो महामारीको ऐजेरुले कदापी हतोत्साही बनाउने छैन। अब ल भन्नुहोस् चिन्ता गर्ने कि चिन्तन गर्ने ? पिर गर्ने कि विचार मन्थन गर्ने? अनि जीवन बाच्ने कि मात्र जिउने?