अष्ट्रेलिया सरकारले क्वारेन्टाइनसम्वन्धी नियम उल्लघंन गरेका कारण राज्यमन्त्रीलाई नै एक हजार डलर जरिवाना सहितको कारबाही गरेको छ।
न्यु साउथ वेल्स राज्यका कला साहित्य मन्त्री डन हार्विनलाई क्वारेन्टाइनको नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको हो।
मन्त्री डन सिड्नीको अर्पाटमेन्टबाट सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए। न्यु साउथ वेल्स राज्यले भाइरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामीण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएका बेला उनी त्यसतर्फ गएका कारण कारबाही गरिएको हो।
मन्त्री हार्विनको होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि त्यो निकै चर्चाको बिषय बनेको थियो। त्यसपछि होलिडे घरबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो।
कोरोना फैलन नदिन लागू गरिएको नियम तोड्नेलाई ठाउँको ठाउँ जरिवाना तिराउन सक्ने अधिकार प्रहरीलाई दिइएको छ।
न्यु साउथ वेल्सका प्रहरी आयुक्त माईक फुलरले कोही पनि कानुनभन्दा माथि नरहेको बताए। उनले भने संकटको बेला जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसार कारवाहीको भागिदार हुनुपर्छ।’
न्यु साउथ वेल्सका मुख्यमन्त्री ग्याल्डिस बेरजेकलिनले जिम्मेवार पक्षले यसको कडाइका साथ पालना गर्नु पर्ने बताए ।
यो घटनापछि मुख्यमन्त्री ग्याल्डिसमाथि मन्त्री हार्विनलाई बर्खास्त गर्न दवाव परेको छ।