अस्ट्रेलियाको स्टार्टस्फिल्ड स्टेसनको रेलमा मृत भेटिएका मिलन गुरुङको शव सिड्नीस्थित एक शवगृहमा राखेको दुई हप्ता बितिसक्यो।
दुई नेपाली समूहबीचको विवादपछि भएको झडपमा ज्यान गुमाएका अमित कार्कीको शव पनि शवगृहमा छ। यी दुई शव नेपाल लैजान बाधक बन्यो-लकडाउन।
हालै नेपाली राष्ट्रिय ध्वजावाहक जहाज चार्टर्ड गरेर अस्ट्रेलियाको ब्रिसबेन आए पनि खाली फर्किएको उक्त विमानमा शव लैजाने वातावरण बनेन।
परदेशमा बिनाकारण ज्यान गुमाएका दुई युवाको परिवार यतिखेर शोकमा छन्। कोरोनाको कहरले मृतक छोराको अनुहार समेत हेर्न पाएका छैनन् परिवारले।
लामो समय शव राख्दा समस्या थपिने भएपछि गोरखा घर भएका मिलनको शव सोमबार यतै अन्त्येष्टि गरिने भएको छ। उनको परिवारको अनुमति अनुरूप सोमबार दाहसंस्कार गरिने एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताए।
'केही समय नेपाल पठाउन सकिन्छ कि भनेर हेरियो तर परिस्थिति अनुकूल नहुने देखिएपछि सोमबार सिड्नीमा अन्त्येष्टि गरिन लागेको हो' प्रवक्ता गुरुङले भने।
कोरोनाको कहर र कमजोर राज्य व्यवस्थाका कारण स्वदेशमा रहेका बाबुआमाले मृतक छोराको अनुहार हेर्न र अन्तिम संस्कार गर्न समेत पाएनन्।
त्यस्तै, ललितपुर इमाडोल घर भएका अमित कार्कीको शवलाई नेपाल लैजाने आशमा शवगृहमै राखिएको छ। सिड्नीस्थित हर्षभिलको पबमा दुई विद्यार्थी समूहबीचको विवादले झडपको रूप लिएपछि अमितको मृत्यु भएको थियो।
२३ वर्षीय उनको मृत्युपछि परिवार पीडामा छट्पटाएको छ। छोराको मृत्युको खबर सुन्नेबित्तिकै आमा बेहोस् भएकी थिइन्। अकल्पनीय पीडाबीच अमितको अन्तिम पटक अनुहार हेर्ने परिवारको आश छ।
उनको शव नेपाल लैजान च्यारिटीमार्फत् केही रकम संकलन भैसकेको छ। तर लकडाउन अन्त्य नभई शव नेपाल पठाउन सकिने अवस्था छैन।
'परिवारको चाहना अनुरूप अमितको शव नेपाल पठाउने प्रयास जारी छ, प्रहरीको अनुसन्धान पनि सकिएको छैन' सहयोग अभियानकी अभियन्ता भारती पौडेल तिवारीले भनिन् 'हामी परिवारको सम्पर्कमा छौं र अमितको बाबुआमाको चाहना अनुरूप केही दिन कुर्नेछौं।'
उनले 'गो फन्ड'मा उठेको रकमबाट खर्च कटाएर बचेको पैसा समेत अमितको परिवारलाई हस्तान्तरण गर्ने बताइन्।
नेपाली राजदूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटा यस्ता खाले कयैन् समस्याहरूलाई रोगको महामारी र लकडाउनका कारण तत्काल उद्दार गर्ने अवस्था नरहेको भन्दै दुःख व्यक्त गर्छिन्।
'मानवीय संवेदनाका यस्ता कयैन् विषय यतिबेला कोरोनाको महामारीका कारण असामान्य बन्न पुगेका छन्। केही सहज वातावरण बनेपछि यसका लागि पहल गर्नेछौं' उनले भनिन्।