२६० यात्रु र २६ जनाको प्राविधिक तथा चालक दलसहित नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाईट मकालु अष्ट्रेलियाको ब्रिजबेनमा अवतरण गर्यो।
विमानमा अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक तथा केही अष्ट्रेलियन पिआरधारी नेपाली थिए। मलेसियामा रिफ्यूलका लागि एक घण्टा उत्रिएको विमान लगत्तै अष्ट्रेलियाको ब्रिजबेनका लागि उडेको थियो। यो उडान ऐतिहासिक बनेको क्याप्टेन बिजय लामाले बताए।
कोरोना महामारीकाबीच ध्वजाबाहक विमानमा ब्रिजबेन आइपुगेका सिड्नीका तीन युवा व्यवसायी राज खनाल, विनोद पौडेल र दिपक भट्टराई क्वारेन्टाइनमा छन्। कस्ताे छ त उनीहरुको क्वारेन्टाइन अनुभव?
होटल तथा कलेज व्यवसायमा रहेका राज खनाल भन्छन्- 'कोठामा एक्लै बस्ने बानी नपरेर होला पहिलो दिन नै अनौठो लागिरहेको छ। सिड्नीमा रहेको परिवारमा पनि चासो उत्तिकै छ। निजी भ्रमणमा नेपाल गएको म आउँंदा ब्रिजबेनमा १४ दिनको छुट्टै बास। दुई छोराहरु पालैपालो फोन गर्छन्। उनीहरुलाई ढाँट्न मन लागेन, सबै भनिदिएको छु यो अवस्था बारे।'
बुटवल थातथलो रहेका राज चार हप्ताअघि निजी कामले नेपाल पुगेका थिए। आउने बेलामा कोरोनाले संसारलाई छपक्कै छोप्यो। नेपाल पनि लकडाउन भयो।
उनी थप्छन्, 'बुटवलबाट काठमाडौं आउँदा निकै सास्ती पाइयो। बल्ल बल्ल एउटा प्रहरीको पत्रले काठमाडौं आइपुग्यौं, चितवनमा साथी विनोद पौडेललाई समेटेर।'
ध्वजाबाहक चढेर अष्ट्रेलिया आउने रोमाञ्चक यात्राभित्र रहँदा पनि क्वारेन्टाइनको त्रासदी र भयले भने सताएकाे उनी बताउँछन्।
भन्छन्, 'यतिखेर हामी सयौ नेपाली मुलका अष्ट्रेलियन ब्रिजबेनको एक होटलमा क्वारेन्टाइनमा छौं। पहिलो दिनको छटपटीलाई इन्टरनेट साथीभाइ र इष्टमित्रको टेलिफोन अनि फेसबुकले मेट्ने प्रयास गर्दैछौं। सिड्नीबाट श्रीमतीले फोन गरिरहन्छिन्।'
होटलको सत्रौं तलामा आफूहरू रहेको उनले जानकारी दिए।
'केही चिरपरिचित साथीहरूका कोठा जोडिएका छन्। कोठाभित्र बसिरहँदा निस्सासिएजस्तो लाग्दो रहेछ अनि न्यास्रो पनि। ढोका खोलेर चियाउँछौं र हात हल्लाउने गरेका छौं। यो अनौठो अनुभव भएको छ,' उनले भने।
सोही होटलमा क्वारेन्टाइनमा रहेका विनोद पौडेल भन्छन्, 'राष्ट्रिय झण्डावाल प्लेन चढेर आएका कारण केही उत्साहित र रोमाञ्चित भए पनि यो पाँचतारे सुविधा जेलझैं लागेको छ। झ्याल बन्द छन्। बिहान आठ बजे ब्रेकफास्ट, १२ बजे दिनको खाना र ६ बजे रातिको खाना आउँछ।'
सिड्नीको मिन्टोमा रहेको परिवार र छोराका कारण विनोद पनि यतै जमेका हुन्। वर्षौंदेखि बुवाआमासँगै नेपालमा बस्ने धोको पूरा हुन नपाउँदै यता घर परिवारको चिन्ताले उनलाई सताउन थाल्यो।
विनोद भन्छन्, 'सानो छोरो घरमा भएकाले पनि संक्रमण हुन सक्ने खतरा मोल्नुभन्दा अहिले अष्ट्रेलियाली सरकारले अपनाएको सुरक्षा तरिका नै उत्तम हो।'
सिड्नीको मिन्टोमा छ वर्षीय छोरासँगै रहेकी उनकी श्रीमती जिप्सोंना क्वारेन्टाइन बसाइलाई सहज रुपमा लिनुपर्ने बताउँछिन्।
ब्रिजबेनको दुई हप्ते बसाइपछि सिड्नी आउने चुनौती पनि छ उनीहरूमा। तर न्यु साउथवेल्स राज्यले अहिले क्वारेन्टाइनको अनिवार्यता नतोकिसकेको अवस्थामा ब्रिजवेनको क्वारेन्टाइन बसाईपछि उनीहरु सिड्नीमा परिवार भेट्न आतुर छन्।
पूर्व एनआरएरएन आइसिसी सदस्य दिपक भट्टराई श्रीमती तृप्तीसहित ब्रिजबेनको होटलमा क्वारेन्टाइनमा छन्। उनीहरूलाई १४ दिन कटाउने समस्याले सताएको छ।
'फेसबुक र इन्टरनेट अनि टेलिफोनले गर्दा केही हदसम्म समय बिताउने बाटो बनेको छ, नत्र एउटा कोठाभित्र दुई हप्ता बिताउन कठिन नै हुन्छ,' दिपकले सुनाए ।