चितवनको पर्यटन र पार्यावरणलाई जोड्ने उद्देश्यले शुक्रबार साइकल प्रेमी सहभागितामा ‘राइड टु सोमेश्वरगढी’ आयोजना गरिएको छ।
चितवनको माडीमा रहेको ऐतिहासिक महत्वको स्थल सोमेश्वरगढीलगायत माडी क्षेत्रका अन्य पर्यटकीय स्थलसम्म साइकल यात्रा गरी उक्त क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले साइकल यात्रा गर्न लागिएको हो।
गैरनाफामूलक संस्था ‘एक सपना साइकल’ र वाह बाइकको आयोजनामा शुक्रबार र शनिबार उक्त क्षेत्रमा साइकल यात्रा गर्न लागिएको वाह बाइकका प्रबन्ध निर्देशक डा.जीवन क्षेत्रीले जानकारी दिए।
क्षेत्रीले कोरोनाका कारण अस्तव्यस्त पर्यटन क्षेत्रलाई उजागार गर्दै बढ्दो प्रदूषणलाई न्यूनीकरणका लागि साइकल यात्रा अभियान चलाउँदै आएको बताए। ‘शहरमा बढ्दो सवारी जाम तथा धुलाम्य सडकले सिर्जना गरेको वायु प्रदूषणले स्वास्थ्य र वातवरणमा पारेको असरलाई मध्यनजर गर्दै साइकल र पर्यटनलाई प्रवद्र्धन गर्न साइकल यात्रा गर्ने सोचेका हौ,’ उनले भने।
उनले दीर्घकालमा चितवनलाई साइकलको सहर बनाएर यसको दिगो र हरित विकासका लागि साइक्लिङ प्रवद्र्धनका लागि माडी नगरपालिकासँगको समन्वयमा कार्यक्रम गर्न लागिएको बताए।
एक सपना साइकल र सफा नेपालकी साइकल अभियन्ता रुक्मिणी सापकोटाले ‘राइड टु सोमेश्वरगढी’ मा चितवनलगायत १० जिल्लाबाट साइकल यात्रीहरु सहभागी हुने जानकारी दिइन्।
विश्व साइकल यात्री पुष्कर शाहसहित १०० जना साइकल यात्रीहरुको सहभागिता रहने उनले बताइन्। साथै, भारतमा १० फुट ६ इन्च अग्लो साइकल बनाएर चलाएका साइकल यात्री राजीव कुमार ‘जोनी’ को उक्त यात्रामा सहभागिता रहने उनले जानकारी दिइन्।
माडी नगरपालिकाको मुख्य सहयोग तथा आतिथ्यतामा हुने साइकल यात्रामा भरतपुर महानगर, जिल्ला समन्वय समिति चितवन, क्षेत्रीय होटल संघ, उद्योग वाणिज्य संघलगायतले पनि सहकार्य गरेका छन्।