‘घुमौं पूर्व प्रदेश नम्वर १’ नारासहित १ नम्वर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डसहितको १३ सदस्यीय टोलीले आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन अभियान माघ १० मा जनकपुरबाट सुरू गरेको छ।
नेपाल पर्यटन वोर्ड प्रवर्धक तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् (नाटा) १ नम्वर प्रदेश तथा होटल संघ नेपाल पूर्व शाखाको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन,पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीबीच छलफल गर्ने छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचलित ब्यवसायी ब्यवसायी बीचको ब्यवसाय प्रबद्र्धन गरिने छलफल बिटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा ब्यापक बनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको बताए।
एकआपसमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकीय क्षेत्रका विकास, प्रवर्द्धन र प्रचार प्रसारका लागि के कस्ता उपायहरू अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीहरूबीच छलफलहरुको आयोजना यो अभियान अन्तर्गत गरिनेछन्।
अभियान अन्तर्गत ब्यवसायबीच सहकार्य गराई आन्तरिक पर्यटकका लागि भ्रमण प्रबद्र्दनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए।
टोलीमा नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमप्रसाद भट्टराई, आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठ, नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, अभियानका सहसंयोजक वासुदेव बराल, विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका होटल व्यवसायी जीवन पराजुलीलगायतको सहभागिता छ।
बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पामा हुँदै मिति २०७७ माघ १५ मा लुम्बिनीमा सम्पन्न हुनेछ।
काठमाडौं भेडेटार र इलाम पर्यटक बससेवा फागुनबाट
आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग पर्यटक बससेवाबाट जोड्ने उद्देश्यका साथ फागुन पहिलो साताबाट काठमाडौं भेडेटार र काठमाडौं-इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको छ।
नेपाल पर्यटक यातायात ब्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको बस सेवा स्वास्थ्य प्रोटोकलको पालना गरी २७ सिटर पर्यटक बसबाट गरिने भएको छ।
हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जमा पर्यटक बससेवा उपलब्ध छन्। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी प्रवर्धन र बस सेवासँगै गुणस्तरको बृद्धिले नै पर्यटनले आशातीत प्रतिफल पाउने बताए।