कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन्।
‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन्। सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘'सेल्फी प्वाइन्ट'’ निर्माण गरिएको हो।
राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा 'सेल्फी प्वाइन्ट' स्थापना गरिएको हो। सो 'सेल्फी प्वाइन्ट'ले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ ध्यान केन्द्रित गर्न थालेको छ। आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म 'सेल्फी प्वाइन्ट'मा गएर फोटो खिच्ने गरेका छन्।
'सेल्फी प्वाइन्ट'मा फोटो खिच्दा पछाडि आकर्षकरूपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ। सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्वीर खिचाउने गरेका छन्। कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए।
मङ्सिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रूपमा विकास भएको उनले बताए। उनका अनुसार अहिले दैनिक ३०० हाराहारी पर्यटकले सो 'सेल्फी प्वाइन्ट'मा फोटो खिच्ने गरेका छन्। उनले भने, 'सेल्फी प्वाइन्ट'का कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौँ।' थोरै लगानीमा स्थापना गरिएको यस प्वाइन्टले पर्यटकको आकर्षण बढाएको व्यवसायीहरुले बताएका छन्।
क्षेत्रीय होटल एशोसिएशन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यहाँ आएका पर्यटकलाई एकपटक त्यहाँ जाऊँजाऊँ भन्ने बनाएको बताए। उनले भने, 'यसले पर्यटकलाई सौराहा आयौँ भन्ने अनुभूति दिलाउने काम गरेको छ।' स्थानीय पत्रकार होमनाथ सापकोटाले पर्यटन विकासका लागि यसले मद्दत पुगेको बताए। उनले भने, 'यो पर्यटन क्षेत्रका लागि नयाँ आयाम भएको छ।'
कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रिन थालेको व्यवसायीले बताएका छन्। अहिले सौराहा बस्ने गरी आउने पर्यटकको सङ्ख्या दैनिक ६०० को हाराहारी पुगेको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ। घुम्नका लागि मात्रै आउने पर्यटक एक हजार ५०० भन्दा बढी हुने गरेका छन्। रासस