काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै दुई सय किलोमिटर पर तालहरुको सुन्दर सहर पोखरास्थित अमरसिंह चोक पुगिन्छ। त्यहाँबाट करिब १० मिनेटको ट्याक्सी यात्रापछि पोखरा उपमहानगरपालिका वडा नम्बर १३ काहुँ खोला पुगिन्छ।
पोखरा काहुँ खोलादेखि कास्कीको २१ किलोमिटर उत्तर पूर्वमा अन्नपूर्ण र लमजुङ हिमालको काखमा सुन्दर एवं रमणीय गाउँ ताङतिङ लुकेर रहेको छ। यो गाउँ मादी गाउँपालिका वडा नम्बर २ मा पर्दछ।
आँखा, मन, मुटु अगाडि चाँदीझैँ टल्किरहेको मायालुको प्रतिक्षामा मुस्कुराइरहेको जस्तो अन्नपूर्ण चौँथो, अन्नपूर्ण दोस्रो, लमजुङ हिमाल गाउँ अगाडि एक टकले जुगौँदेखि उभिरहेका छन्। गाउँ पारी सिक्लेस, पार्चे गाउँहरु एक टक लगाएर कैलाशको काखमा डुबुल्की मारिरहेका छन्।
ताङतिङ गाउँको आसपासमा घट्टे खोला, तेउरी खोलाको छमछम अनि अन्नपूर्ण, लमजुङ हिमालबाट निस्केको हिउँ नदी (मादी नदी) सुसाइरहेका छन्। प्रकृतिको उपहार मृग चराचुरुंगी गाउँ नजिक रहेको काउँचो डाँडा, हुडाडा, पलेची प्रो, फोलोप्रो डाँडा वरिपरि गाउँकै गीत गाइरहेका छन्।
बेलुकीपख रात छिपिँदै जाँदा घाँटुनीहरुको नाचसँगै मादलुको घिन्ताङ घिन्ताङ अनि पाहुनाहरु कम्मर मर्काइ मर्काइ 'ताङतिङको मेलामा, सिधैँ नजर जुधाउने कोहोला भेट भएको बेलामा' भन्ने गितमा उफ्रिरहेको ठेटर गितको आवाज, झिसमिसेमा क्रबु डाँडामा हिउँ खेल्न जानेहरूको लस्कर वर्णन गर्न नसक्ने ताङतिङको कहर।
सुन्दै चाइनिज र कोरियाली भाषा जस्तो लाग्ने यो ताङतिङ गाउँको नाम (तोनी नासा) रमाइलो गाउँ गुरुङ भाषाबाट बनेको हो भन्ने बुढापाकाहरुको भनाइ छ। गुरुङ भाषामा तोनी भनेको रमाइलो सधै रमाइ रहने र नासा भनेको गाउँ हो।
तोनी नासाबाट अपभ्रंश भएर ताङतिङ गाउँ रहन गएको हो भन्ने जनविश्वास छ। यसो त तोनी वा गुरुङ भाषामा तो भनेको बदेल र नी भनेको लड्ने हो। परापूर्व कालमा हालको ताङतिङ गाउँ रहेको ठाउँ ठूलो घना जंगल थियो रे, त्यो जंगलमा बदेल खुब लड्दथे रे। त्यही तोनीवाबाट अपभ्रंश भएर ताङतिङ गाउँको नाम रहन गएको भन्ने जनश्रुति पनि छ।
अन्नपूर्ण क्षेत्रमा रहेको ताङतिङ गाउँ आफैँमा प्राकृतिक, सामाजिक र सांस्कृतिकरूपले अति सुन्दर गाउँ हो। समुद्र सतहदेखि ११६५ मिटरमा माथि रहेको यो गाउँमा ढुंगा र टिनले छाएका २०० घर एकै ठाउँमा गुचमुच्च रूपमा रहेको छ।
करिब एक हजार जनसंख्या रहेको यो गाउँमा गुरुङ ९० प्रतिशत र बाँकी १० प्रतिशत दलित र अन्य जातिहरु परापूर्व कालदेखि मिलेर बसेका छन्। ताङतिङ गाउँ ग्रामीण पर्यटन एकीकृत खेतीपाती, पशुपालनको अति सम्भावना बोकेको विकासको दृष्टिकोणले एउटा नमुना गाउँ हो।
यो गाउँ प्राकृतिक रूपले सुन्दर छ। आँखै अगाडि अन्नपूर्ण र लमजुङ हिमालहरु, हरियाली डाँडाकाँडा अलावा गाउँ र गाउँ वरिपरिको प्राकृतिक दृश्यहरु हेर्ने ठाउँहरु- नेचुरल भ्यू टावरहरू छन्। गाउँभित्र घुम्दा ताङतिङलाई एउटा गुरुङ संस्कृतिको खुल्ला संग्राहालयका रूपमा पाउन सकिन्छ।
अतिथिहरुले गाउँको शिरदेखि तल्लासम्म ढुंगे गोरेटो बाटोहरू, गाउँको घरको आँगन आँगनमा आमाहरु, दिदी बहिनीहरु राडीपाखी बुनिरहेको, बुबा दाजुभाइहरु, भकारी डोको, नाम्लो बुनिरहेको देख्न सकिन्छ।
नेपालको पहाडी भेगमा बसोबास गर्ने गुरुङहरुको धर्म, संस्कृति, रहनसहन, उनीहरुको जीवन निर्वाह गर्ने तरिका, सामाजिक सद्भाव पाहुनाहरुले गाउँ घुम्दा पूरै हेर्न र अनुभव गर्न पाइन्छ।
गाउँ घुम्दा गाउँको तल पण्डित टोलमा रहेको नौचु पैगी लामा महायानी बौद्ध गुम्बा, गाउँको शिरानमा रहेको ताङतिङ कोइवा धीं, ताङतिङ सभा आँगन, प्लोवमै युम थेवा प्राकृतिक दृश्यावलोकन गर्ने ठाउँ पर्यटकहरुको लागि ताङतिङको बारे केही नयाँ कुरा सिक्ने पाठशाला हुन्।
यस्तै प्रकारले गाउँ नजिकै रहेको २० मिनेटमा पुग्न सकिने उत्तर पश्चिम रहेको पुलुको डाँडा (सेल्फी डाँडा), बाटोमा रहेको तुरुक्यू खोला, गाउँदेखि पश्चिममा रहेको छत्रे खोला झरना झियाँ डाँडा र आसपासको क्षेत्रहरु प्रकृतिसँग रम्ने ठाउँहरु हुन्।
ताङतिङ गाउँदेखि माथि दक्षिणमा रहेको, नौचु डाँडा (२०४७ मिटर) पुग्नलाई लगभग एक घन्टा लाग्छ। यहाँबाट अन्नपूर्ण, लमजुङ, माछापुच्छ्रे हिमशृंखलाहरु, पोखरा र आसपासको धेरै गाउँबस्तीहरु देखिन्छन्।
यो ठाउँ योगा गर्न, क्याम्पिङ गर्नलाई पनि ज्यादै उपयोगी छ। नौचु डाँडा ऐतिहासिक महत्व बोकेको ठाउँ पनि हो। यो ठाउँ ताङतिङको आस्थाको धरोहर वर्षेनी गाउँलेहरूले पूजा गर्ने ठाउँ पनि हो।
अर्का पर्यटकीय ठाउँ ताङतिङबाट लगभग तीन घन्टा ३० मिनेटको पैदल यात्रामा पुग्न सकिने क्रबु डाँडा (३०८५ मिटर) पनि एक हो। गाडीबाट जाँदा एक घन्टामा पुग्न सकिन्छ।
प्रकृतिसँग रमाउन चाहनेहरू, हिउँ खेल्न चाहनेहरूको लागि यो अति राम्रो ठाउँ हो। यहाँबाट अन्नपूर्ण, लमजुङ हिमाल, माछापुच्छ्रे मनासलु, हिउँचुली लगायत १० वटाभन्दा बढी हिमालहरु हेर्न सकिन्छ। पोखरा उपत्यका, लमजुङ र कास्कीको गाउँहरु यहाँबाट हेर्न सकिन्छ।
ताङतिङ, नौचुडाँडा, क्रबु डाँडा, चोरो डाँडा, सिन्कु खोला हुँदै खोला क्लि ताङतिङ चार दिनको हाइकिङ पहाडी उकालो, लालीगुराँस र लेकाली जंगलको झाडी क्रबुदेखि चोरो अनि ताङतिङसम्म आउँदा प्रकृतिको रसास्वादन, जंगली पशुपक्षीको अवलोकन, हिमाल हेर्न आनन्दसँग हाइकिङ गर्नलाई यो मार्ग अति राम्रो हो।
यस्तै प्रकारले ताङतिङ हुँदै तमुहरूको (गुरुङहरुको आदिम थलो) क्होलासोथर पनि एकै दिनमा पुग्न सकिन्छ। ताङतिङ हुँदै लमजुङ, मनाङ, पदयात्रा पनि गर्न सकिन्छ। पोखरा, ताङतिङ सिक्लेस घलेखर्क भुर्जुङ खोला पदयात्रा र ताङतिङ क्रबु डाँडा याङजाकोट हाइकिङ पनि गर्न सकिन्छ।
यसो त रमाइलो ताङतिङको विशेषता भनेको गाउँदेखि हिमालको हिउँ पहिरो हेर्ने, आत्मियता, पाहुनाहरु गाउँमा आउँदा सत्कार गर्ने हुन्। साथै गुरुङहरुको आफ्नो परम्परा, रीतिरिवाज, जीवन्त गर्न सफल जहाँ सरकारको नीतिभन्दा गुरुङको थिति ठूलो मानिन्छ।
ग्रामीण पर्यटनलाई गाउँको आर्थिक, सामाजिक र सामुदायिक विकाससँग फ्युजन गर्दै अहिले जनप्रतिनिधिहरु, आमा समूह, युवा बुद्धिजीवी, गाउँलेहरू एकजुट भएर लागेका छन्। यसमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मादी गाउँपालिका, नेपाल पर्यटन बोर्डको विशेष सहयोग रहेको छ।
सिएफपी ग्रिन विल्डिङ नेदरल्याण्डले गाउँको १४ वटा होम स्टे र ६ वटा होटलहरुलाई फर्निचर सहयोग, गाउँको पर्यटन विकासमा सहयोग गर्न वृत्तचित्र निर्माण, पर्यटन म्याप निर्माण, ब्रोसर, वेवसाइट निर्माण गर्ने ठूलो सहयोग गरेको छ।
अन्य सबै संघसंस्थाहरु र मिडियाकर्मी पत्रकारहरूको अनवरत सहयोगले विस्तारै ताङतिङ ग्रामीण पर्यटनको गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छ।
गाउँमा रहेको १४ वटा होमस्टे र ६ वटा होटलले गाउँमा आउने पाहुनाहरुलाई गाउँले आत्मीयता, गाउँमै उपलब्ध खाना, तरकारी, ढिडो फाटो खुवाइन्छ। पाहुनाहरुलाई गुरुङ संस्कृतिअनुसार फूलमाला लगाएर स्वागत गर्ने परम्परा छ।
ताङतिङ जानलाई पोखरा १३ काहुँ खोलामा बिहान ८ बजे र बेलुका ४ बजे बसको सुविधा छ। जिप रिजर्भ जति बेला पनि उपलब्ध हुन्छ। बसमा दुई घन्टा र जिपमा एक घन्टा ३० मिनेटमा ताङतिङ पुगिन्छ।
मोटरसाइकलमा पनि जान सकिन्छ। पोखरा काहुँखोला विजयपुर खोला, काउरेडाँडा, छाचोक, सबिमा मादी खोला तरेर सेतीखोलाको उकालो, उपल्लो बेसी हुँदै रमाइलो ताङतिङ पुगिन्छ।
सबैलाई ताङतिङ गाउँमा यात्राको लागि निम्तो दिन चाहन्छौँ। रमाइलो गरौँला ताङतिङ। ढिलो नगरौँ ताङतिङैमा भेट्नलाई, हिउँपहिरोमा अनि मनभरी हिमाल हेर्ने प्यास मेट्नलाई।