कोरोना भाइरसको विश्व महामारीकाबीच चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका छन्।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ।
नेपाल-चीन सीमा रहेको संसारको सबैभन्दा अग्लो हिमाल दुबैतर्फबाट चढ्न मिल्छ।
कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालले भने स्वदेशी तथा विदेशी दुबैका लागि यस मौसमको सबै सगरमाथा आरोहण अभियानहरू बन्द गरेको छ।
सगरमाथा आरोहण गर्नका लागि यतिबेला दुई दर्जनको संख्यामा चिनियाँ पर्वतारोहीहरू शुक्रबारसम्म बेसक्याम्प पुगिसकेको हुने चाइना-तिब्बत पर्वातारोहण संघको सम्पर्कमा रहेका अभियान अपरेटरहरूले जनाएका छन्।
चिनियाँ आरोहीहरू आरोहण सफल भएमा चिनियाँहरूमात्र सगरमाथा चढेको यो दुर्लभ अवसर हुनेछ।
यसअघि सन् १९६०को वसन्त ऋतुमा चिनियाँहरूमात्र सगरमाथाको चुचुरोमा पुगेका थिए। त्यतिबेला भारतीयहरूले चुचुरोमा पुग्ने प्रयास गरेको भएपनि सफल भएका थिएनन्।
अब चिनियाँ आरोहीहरूले सगरमाथा चढ्नु अगाडि आफूलाई उचाइसँग घुलमिल गराउन क्याम्पहरूको बीचमा ओहोरदोहोर गर्नेछन्। यसका लागि उनीहरूलाई कम्तीमा एक महिनाको समय लाग्नेछ।
त्यसपछि आरोहीहरू आफू अनुकुलको मौसम हेरेर सगरमाथा आरोहण गर्नेछन् जुन प्रायजसो मे महिना सक्किनु अगावै हुनेछ।
तीन महिना अगाडि कोरोना भाइरसको संक्रमण मध्य चीनबाट सुरु भएको थियो। त्यसयता भाइरसबाट चीनमा ३ हजार बढीले ज्यान गुमाइसकेका छन्।
हाल चीनले आफ्नो देशमा भाइरसको संक्रमणनियन्त्रणमा आएको जनाएको छ भने महामारीको उद्गमस्थल हुबेई प्रान्तको वुहानलाई विस्तारै सामान्य अवस्थामा ल्याउन सुरु गरेको छ।