देशभर उद्योग तथा व्यापार व्यवसाय प्रवर्द्धनको लागि मेला महोत्सव चलिरहँदा रुपन्देहीमा भने सिमसार क्षेत्रको संरक्षण र पर्यापर्यटनको प्रवर्द्धनको लागि महोत्सव हुँदैछ।
सिमसारको संरक्षण उद्यमशीलता र पर्यापर्यटनको प्रवर्द्धन भन्ने नारासहित रुपन्देहीको कञ्चन गाउँपालिकामा ताल महोत्सव गर्न लागिएको हो।
कञ्चन, गजेडी र दानापुर तालको संरक्षण तथा प्रवर्द्धनको लागि भन्दै आयोजना गरिएको यसपटकको महोत्सव ११ औं संस्करण हो।
१७ किलोमिटर नजिकै रहेको लुम्बिनी र बुटवल आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सिमसार क्षेत्रको अवलोकन गराउँदै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकार र कञ्चन गाउँपालिकाको सहयोगमा समयमाई सामुदायिक वन उपभोक्ता समूहले महोत्सवको आयोजना गरेको हो।
समयमायी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापाले सिमसार क्षेत्र, जलचर तथा चराचुरुंगीका कारण प्रदेशकै नमूना पर्यटकीय स्थल बन्दै गएको दानापुर तालको विकास र प्रचारप्रसार गर्ने उद्देश्यले माघ १५ गतेदेखि २६ गतेसम्म ताल महोत्सव आयोजना गरिएको बताए।
वन, वन्यजन्तु, सिमसार तथा पर्यापर्यटनको विकास र प्रचारप्रसारका लागि आयोजना गर्न लागिएको महोत्सवबाट कञ्चन गाउँपालिकाले मात्र होइन रुपन्देही र प्रदेश पाँचले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
तालको विकास र सुन्दरता थप्दै पर्यटकहरूको आकर्षण बढाउन गुरूयोजना बनाउन थालिएको गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले बताए। गाउँपालिकादेखि नजिकै रहेको लुम्बिनीमा वार्षिक २० लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आइरहँदा त्यसको थोरै संख्यालाई मात्र भए पनि तालको अवलोकन गराउने योजनामा गाउँपालिका रहेको छ।
ताल महोत्सवमा डुंगा सयर, वस्तुको प्रदर्शनी, काष्ठकला प्रदर्शनी लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन्।
महोत्सवमा स्थानीय जातिका खानाका परिकारसहित तालमा डुंगा सञ्चालनको व्यवस्था गरिने महोत्सव व्यवस्थापक श्रीराम तिमिल्सिनाले जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष गंगा तरामुले महोत्सवको सफलता गाउँपालिकाको प्रतिष्ठासँग जोडिएकोले सफल बनाउन गाउँपालिका सक्रिय रहेको बताइन्।
तालमा पाइने माछाका परिकारसहित खाना पकाउने र खाना खाने प्रतिस्पर्धा समेत राखिएको छ।
वरिपरि रहेको हरियाली जंगल र प्राकृतिक सुन्दरताले भरिएको ताल क्षेत्रसँगै कृषिको उर्वर भूमिको रूपमा रहेको कञ्चनको विकासमा महोत्सवले सहयोग गर्ने अपेक्षा गरिएको छ।
आकर्षक तालको अवलोकन, डुंगा सयरसँगै वनभोजका लागि समेत दानापुर तालमा आउनेहरूको संख्या बढ्न थालेको अवस्थामा यो महोत्सवले प्रचार प्रसार र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
केही वर्ष विश्व सिमसार दिवसमा एक दिनमात्र मनाइँदै आएको महोत्सव गत वर्षदेखि महोत्सवको रूपमा मनाउन थालिएको छ।
स्थानीय किसानले काँडे लहरा र जलकुम्भीले ढाकेको सानो पोखरीलाई गाईभैंसीलाई पानी खुवाउनको लागि २०३८ सालदेखि संरक्षण गरेको ताल अहिले १९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
२०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले उपलब्ध गराएको ४ लाख बजेटबाट ताल क्षेत्रलाई वनभोज स्थलसँगै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थालिएको हो।
अहिले ताल वरिपरि पिकनिकको लागि दर्जनौं सेड निर्माण गरिएका छन् भने खुला स्थलमा समेत ५० भन्दा बढी समूहमा पिकनिक खान मिल्नेगरी व्यवस्थापन गरिएको छ।
सिमसार क्षेत्रमा समेत सूचीकृत भइसकेको यो ताललाई नमूना पर्यटकीय स्थल बनाउन सामुदायिक वन र गाउँपालिकाले १० वर्षे गुरुयोजना निर्माण गरिसकेको छ।
गुरुयोजना अनुसार एक अर्बभन्दा बढी लागतमा विभिन्न संरचना निर्माण गरिने छन्। त्यसको लागि सामुदायिक वनको जग्गा लिएर तालको क्षेत्रफललाई २२ हेक्टर पुर्याउने लक्ष्य छ।
गुरुयोजना अनुसार १५ तले भ्यू टावर, दुइटा स्वीमिङ पुल सहितका वाटर पार्क, तालको बीचमा आइल्याण्ड निर्माण गरिने छ।
त्यस्तै, एक हजार क्षमताको ध्यान तथा योग केन्द्र र चिडियाखाना समेत गुरुयोजनामा समेटिएको छ।
वनका अध्यक्ष थापाले आउँदो पाँच वर्षभित्र गुरुयोजना अनुसारका पूर्वाधारका काम पूरा गर्ने बताए।
९२ दशमलव २ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वनको ४३ दशमलव ७८ हेक्टर क्षेत्रलाई पर्यापर्यटन क्षेत्रको रूपमा निर्धारण गरिएको छ।
विभिन्न चराचुरुंगीको बासस्थान र आहारको लागि उत्तम मानिने यो तालमा वनबिरालो, चित्तल, बाघ, ब्वाँसो, ढेंडु, हरिण, मृग, जरायो, बंदेल, निलगाई, दुम्सी, स्याल, खरायो, जरायो जस्ता वन्यजन्तु देख्न सकिन्छ।
त्यस्तै, मालेहाँस, पानी हाँस, सारस, बकुल्ला, वन कुखुरा, घुमुवा कोकल, सुगा, जुरेली, लाहाचे, निलकण्ठ डाङग्रे, लाटोकोसेरो, मैना, गिद्ध र गरुड लगायतका चराचुङ्गी पनि पाइन्छन्।
तालमा धवई, चेलवा, गाईसिद्रा, पाते सिद्रा, ढेव्री, गिराई भोटी, पडेनी, अन्धा बाम, चुच्चे बाम, झिँगे लगायतका एकदर्जन बढी रैथाने सँगै विकासे जातका कमन, रहुँ, सिल्भर, बिगहेड, नैनी लगायतका २५ प्रजातिका माछा पाइन्छन्।
कञ्चन गाउँपालिकाको समृद्धिको आधारको रूपमा रहेको तालको संरक्षण तथा पूर्वाधार विकासको लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट डेढ करोड बजेट व्यवस्थापन भएको छ।
बुटवलदेखि २३ किलोमिटर पश्चिम दक्षिणमा रहेको यो तालमा वार्षिक तीन लाख बढी आन्तरिक र बाह्य पर्यटक पुग्ने वनका अध्यक्ष थापाले जानकारी दिए।