पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बञ्जी थपिने भएको छ।
बञ्जी नेपाल एड्भेञ्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा बनाइरहेको बञ्जी लेकसाइडबाट मात्र साढे दुई किलोमिटर दूरीमा छ।
हाल निर्माणको अन्तिम चरणमा रहेको बञ्जी फागुनबाट सञ्चालनमा आउने कम्पनीले बताएको छ।
सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्री, शान्ती लम्साल भट्टराई र बुद्धिनाथ बरालको ८ करोड लगानी रहेको बताइएको छ।
अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउलगायत देशमा बञ्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बञ्जीमा लगानी गरेका हुन्।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जी जम्पका लागि ५५ मिटर लामो प्लाटफर्म निर्माण गरिएको छ।
सेती नदीको खोंचमा बनिरहेको बञ्जीको प्ल्याटफर्म नदीदेखि १२१ र १२५ मिटरमा हुनेछ्न्। साधारण बञ्जी १२१ मिटर अग्लो प्ल्याटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्पलगायत विशेष जम्प १२५ मिटर अग्लो प्लाटफर्मबाट गराइने अध्यक्ष भट्टराईले बताए।
आइएसओ स्ट्याण्डर्डमा बञ्जी निर्माण गरिएको भट्टराईको दाबी छ।
‘गो बञ्जी' कम्पनीसँगको प्राविधिक समन्वयमा काम भैरहेको भट्टराई बताउँछन्। बञ्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यु टावरको स्वरूप दिइँदै छ जहाँ टावर क्लाइम्बिङ गर्न सकिन्छ। बञ्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भैरहेको छ।