मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने भएको छ। भिजिट नेपाललाई सघाउ पुर्याउन यस्तो फेस्टिभल आयोजना गर्न लागिएको नेपाल क्लाइम्बिङ टिमले जानकारी दिएको छ।
फेब्रुवरी १ देखि १० सम्म आयोजना हुने यो फेस्टिभल दोस्रो संस्करण हो। अघिल्लो वर्ष पनि मनाङकै हुम्देमा भएको थियो।
अफ भनिने सिजनमा पनि गतिविध बढाउन यो फेस्टिभल आयोजना गरिएको आयोजकले प्रष्ट पारेको छ।
एडभेन्चर पर्यटकीय क्षेत्रमा काम गर्ने नेपाल क्लाइम्बिङ टिमले आयोजना गर्ने यो फेस्टिभलमा हिउँमा आधारित विभिन्न गतिविधि हुने छन्।
३२ सय मिटर उचाईमा रहेको हुम्देमा रहेको हिम झरणामा आरोहण गर्न सकिने छ। उक्त अवसरमा विभिन्न अफर दिइएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार आइस क्लाइम्बिङ कोर्स, परम्परागत आर्चरीजस्ता अफर हुने छन्। नेपालका पहाडहरुमा धेरै हिउँ भएपनि यसमा आधारित पर्यटकीय गतिविधि न्यून छन्।
“यही अभाव पूरा गर्न हामिले योफकार्यक्रम आयोजना गरेका हौ' नेपाल क्लाइम्बिङ टिमका महासचिव बिष्णु तामाङले जानकारी दिए।
यसबाट मनाङकोमात्र नभएर नेपालकै प्रबर्द्धन हुने उनको विश्वास छ। पर्वतीय खेललाई विकास गर्नकै लागि संस्था खोलिएको उनले जानकारी दिए।
यो संस्करणको फेस्टिभलमा ४० देखि ४५ जनालाई सहभागी गराइने संस्ठाले जानकारी दिएको छ। यसमा १० देखि १५ सम्म नेपाली पनि सहभागी हुने छन्। सहभागिताका लागि जनवरी १५ सम्म रजिष्ट्रेशनको समय छ। यसका लागि नेपाल पर्वतारोहण संघको र क्लाइम्बिङ टिमको वेबसाइटबाट दर्ता गर्न सकिने छ।
नेपाली सहभागीका लागि १५ हजार शुल्क तोकिएको छ भने विदेशीका लागि ३५० डलर तोकिएको छ।