सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। यसका लागि छुट्टै सचिवालय पनि बनाएको छ। तर नेपाली पर्यटनको प्रबर्द्धन गर्ने स्थायी संयन्त्र नेपाल पर्यटन बोर्डको यही वर्षको बजेट भने घटेको छ।
सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना भएको बोर्डको बजेट अघिल्लो वर्षको तुलनामा घटेर आएको हो।
बोर्डले चालु वर्षका लागि १ अर्ब ६३ करोड रुपैयाँको बजेट ल्याउने भएको छ। यो भनेको अघिल्लो वर्षको तुलनामा न्युन हो। अघिल्लो वर्ष बोर्डको बजेट १ अर्ब ७५ करोड थियो।
बोर्डका ठूला प्रबर्द्धनका काम अघिल्ला वर्ष नै भएकाले यो वर्ष केही न्यून भएको बोर्डका सिइओ दिपकराज जोशीले जानकारी दिए।
जोशीका अनुसार यो वर्ष बोर्डले नेपाल भ्रमण वर्ष सचिवालयका लागि १० करोड बजेट प्रस्ताव गरेको छ। त्यस्तै उसले सँधैजसो विदेशी टेलिभिजन च्यानलमा विज्ञापन दिन ७ करोड बजेट छुट्याइएको छ।
इलाममा रिसोर्ट तथा होटल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनयोजन गरेको बोर्डले चितवनको पर्यटकीय गतिविधि र मनाङमा स्कीको पनि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ।