पश्चिम नवलपरासीको सुनवल–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्य बनाइने भएको छ।
पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो पार्कलाई नमूना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएका हुन्। यस पार्कमा नेपालका सबै शहीदको शालिक बनाउने योजना अघि सारिएको छ।
राजमार्गदेखि उत्तरतर्फको १० हेक्टर १५ विघा क्षेत्रफलमा फैलिएको शहीद पार्क क्षेत्रलाई आकर्षक पर्यटकीयस्थल बनाउने गरी प्रदेश नं ५ सरकारले रु ५० लाख र सुनवल नगरपालिकाले रु ४० लाख गरी आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ९० लाख बजेट विनियोजन गरेका छन्।
विसं २०६२/६३ को जनआन्दोलनको क्रममा विसं २०६२ चैत्र ३० गते सदरमुकाम परासीमा सुरक्षा कर्मीको गोलीबाट शहादत प्राप्त गरी तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद घोषित पाण्डेको स्मृतिमा वनकट्टीमा शहीद पार्क स्थापना गरिएको हो।
शहीद विष्णुप्रसाद पाण्डे प्रतिष्ठानले यस पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गरेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठले बताए।
यस पार्कमा अहिले पनि वनभोज खाने र घुमफिर गर्न आउनेको सङ्ख्या बढ्दो छ। हरियाली र हराभरा क्षेत्र भएकाले त्यहाँ आन्तरिक पर्यटक लोभिने गरेका छन्। पार्क ठूलो क्षेत्रफलमा रहेकाले नेपालका सबै शहीदको एकैठाउँमा मूर्तिसहित अन्य सुविधा सम्पन्न संरचनाहरू एकैथलोमा निर्माण गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।
प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट पार्क निर्माणका लागि रु २० लाख र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट अन्य संरचना निर्माणका लागि रु ३० लाख गरी प्रदेशबाट रु ५० लाख विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।
उक्त बजेटमा सुन्दर पार्कसहित पार्कपरिसरभित्रै चक्रपथलगायत संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाइएको प्रतिष्ठानका सचिव दुर्गानारायण सुवेदी बताउँछन्। शहीद पार्क क्षेत्रमा अहिले हराभरयुक्त क्षेत्र, शहीद पाण्डेको शालिक, प्रतीक्षालय, शहीद स्मृति भवन, १०० जना अट्ने सभाहल, दुइटा पोखरी, वनभोजका लागि ट्रष्टलगायत संरचना रहेका छन्।
सुन्दर बगैँचा, सुविधा सम्पन्न सभाहल, व्यवस्थित वनभोजस्थल, अतिथि गृह, प्रतीक्षालय, पौडी पोखरी, पूर्व र पश्चिमतर्फ सहायक प्रवेशद्वारलगायतका संरचनाहरू निर्माण गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गरिएको उनले बताए। यसैगरी सोलार बत्ती, खानेपानीको सुविधा, रेखदेखका लागि माली र चौकीदार पनि राख्ने योजना प्रतिष्ठानको छ।
विसं २०६३ मा स्थापना भएको शहीद पार्क क्षेत्रमा हाल निर्माण गरिएका संरचना तयार गर्न तत्कालीन जिविस, स्वाठी, सुनवल, रामनगर गाविस तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग रहेको छ।