लुम्बिनीलाई बृहत लुम्बिनीको रूपमा विकास गर्न लुम्बिनीसँग जोडिएका जिल्लाहरूको विकाससँग जोड्नुपर्ने बताइएको छ।
नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी विकाष कोषद्वारा लुम्बिनीमा आयोजित ‘लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू लुम्बिनी विकास कोष पर्खालभित्र मात्र सीमित रहँदा लुम्बिनीप्रति स्थानीयको अपनत्व नरहेको र त्यसको प्रभाव लुम्बिनीको विकासमा समेत पर्न गएको भनि लुम्बिनी विकास कोषको समन्वयमा आसपासका जिल्ला र स्थानीय तहहरूसँग पनि जोड्न आग्रह गरिएको हो।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विभिन्न कारणले लुम्बिनीको जति महत्व छ त्यति स्थापित गर्न नसकेको बताए ।
उनले लुम्बिनीको जति महत्व त्यो महत्वलाई उजागार गर्दै विकास गर्ने इच्छाशक्तिमा भने कमी रहेको बताए।
उनले लुम्बिनीको विकासमा अहिलेसम्म भइरहेको प्रगतिले नपुग्ने भन्दै लुम्बिनीसँग सम्बन्धित स्थलहरूको विकासमा पनि ध्यान दिनुपर्ने बताए।
मन्त्री गिरीले लुम्बिनीसँग जोडिएका सबै क्षेत्रहरूको गुणात्मक विकास गर्ने र विश्वभरका पर्यटकलाई लुम्बिनीमा ल्याउने प्रमुख लक्ष्यका साथ योजना अगाडि सारेको बताए।
अरुको चित्त नदुखाउने बुद्धको ज्ञानलाई अनुसरण गर्दै लुम्बिनीसँग जो जति नजिक रहेको छ उसको जिम्मेवारी पनि सोही अनुरूप रहेकोले दिर्घकालीन लाभलाई सोचेर लाग्न आग्रह गरे।
मन्त्री गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनीमा पर्यटकहरूको चाप बढ्ने भएकोले सोही अनुरूपका होटल, सडक तथा अरु क्षेत्रहरूको विकासलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताए।
कार्यक्रममा लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अवधारणापत्र प्रस्तुत गर्दै अग्रज पत्रकार डिआर घिमिरेले लुम्बिनी कपिलवस्तु, नवलपरासी र रुपन्देहीका सबै स्थानीय तहको साझा सम्पत्ति हो भन्ने बुझाउन लुम्बिनी विकास कोषले समन्वय बढाउन जरुरी रहेको बताए ।
उनले लुम्बिनसँग जोडिएका जिल्लाका स्थानीय तहहरूले लुम्बिनीको विकाससँग जोडेर पर्यटन प्रवर्द्धनका विभिन्न योजना बनाए पनि समन्वयको अभावमा प्रभावकारी बन्न नसकेको बताए। उनले स्थानीय तहहरूले लुम्बिनीबाट आर्थिक लाभ लिन र बुद्ध दर्शनको प्रचारप्रसारको लागि अन्तरपालिका टुर प्याकेज बनाउन आग्रह गरे।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले लुम्बिनी विकास कोषले गरेका लुम्बिनी विकास गुरुयोजना अन्तर्गतका कामहरूको बारेमा जानकारी गराएका थिए ।
हालसम्म गुरुयोजना अनुरूपको ८२ प्रतिशत काम पूरा भएको र बाँकी कामको लागि अझै ६ अर्ब रुपैयाँ आवश्यक रहेको बताए।
उनले लुम्बिनीको पर्यटनसँगै यहाँको वातावरण संरक्षणको लागि वृक्षारोपण, सरसफाइ लगायतका कामहरूलाई निरन्तर सञ्चालन गरिरहेको बताए।
भट्टराईले लुम्बिनीको ६० प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने प्रोफेसर केन्जियो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजना अनुरूप गत वर्षमात्रै ३ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिए ।
स्थानीय मोहम्मद ईस्लाम खानले लुम्बिनी विकास कोषलाई राजनीतिबाट मुक्त स्वतन्त्र संस्थाको रूपमा राख्नुपर्ने बताए।
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार नारायण सापकोटाले लुम्बिनी वरिपरिको जलाधार क्षेत्रहरुको संरक्षण, स्थानीय उत्पादनलाई कोशेलीको रूपमा प्रयोग गर्न सकिने बताए।
उनले लुम्बिनी आसपास रहेका मुश्लिम समुदायलाई लुम्बिनीप्रति अपनत्व जगाउन जरुरी रहेको बताए ।
सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारु चौधरीले लुम्बिनीको विकासमा लुम्बिनी विकास कोषले स्थानीय तहसँग समन्वय, सहकार्य गर्दै साझेदार बनाउन आग्रह गरे। विकास कोषले समन्वय मात्र गर्यो भने स्थानीय तहहरू साझेदार बन्न तयार रहेको बताए।
रामग्राम नगरपालिकाका प्रमुख राधेश्याम चौधरीले रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तुप र लुम्बिनी उत्तिकै महत्वका धेरै अन्तर रहेको बताए।
उनले लुम्बिनी विकासकोषले रामग्रामको विकासमा खासै ध्यान दिन सकेको गुनासो गर्दै त्यसको विकासको लागि संघिय सरकार मातहत लुम्बिनी विकास कोष रहेजस्तै स्थानीय स्तरमा स्थानीय समिति गठन गर्नुपर्ने बताए।
रामग्राम स्तुप रहेको गाउँ रझरही खोलाको मार्गलाई बुद्धकालीन संरचनासँग जोडेर विकास गर्ने योजना बनाएको बताए।
उनले पण्डितपुर अतिक्रमण र ओझेलमा परेको छ त्यसलाई संरक्षण गर्न जरुरी रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको सिद्धार्थ नगरमा लुम्बिनी र बुद्धसँग जोडेर बेलहियामा प्रवेशद्वार निर्माण गर्नुको साथै बेलहियादेखि बुद्धचोक र विमानस्थलसम्म सडक किनारमा दुई सय मिटरको दूरीमा पित्तलका बुद्धमूर्ति स्थापना गर्ने र वृक्षारोपण गर्ने योजना बनाएको बताइन् ।