हरियै लेउ र जलकुम्भीले ढाकिएको बैठौलिया कपरकट्टी तालको परिचय अब भने फेरिने भएको छ।
बुटवल उपमहानगरपालिकाले वडा नं. १६ बैठौलियामा रहेको सिमसारसहितको उक्त ताललाई स्थानीय अगुवाहरूले नरेश्वर बुटवल ताल राख्न प्रस्ताव गरेका छन् ।
जलकुम्भीले भरिदै जाँदा तालको क्षेत्रसमेत पुरिन थालेपछि बुटवल उपमहानगरपालिकाले सुरू गरेको सरसफाइ कार्यक्रममा स्थानीय अगुवा तथा राजनीतिक दलका प्रतिनिधिहरूले उक्त नाम प्रस्ताव गरेका हुन्।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष रामप्रसाद रेग्मीले स्थानीय अगुवाहरूको सुझाव र प्रस्तावसँगै सर्वपक्षीय छलफलबाट निकालिने निचोडलाई वडा कार्यालयले उपमहानगरको कार्यपालिकामा प्रस्ताव पठाउने बताए ।
पर्याप्त सिमसारसहितको तालको संरक्षण गर्दै पर्यटकीय स्थलका रूपमा विकासका लागि उपमहानगरपालिकाले काम सुरू गरेको छ।
प्राकृतिक मूल नै त्यहीँ रहेको यो सिमसार क्षेत्रलाई विकास अयोजनामार्फत् बुटवलको पर्यटकीय गन्तव्य बनाउन सुरू गरिएको हो ।
उपमहानगरका प्रमुख शिवराज सुवेदीले प्राचीन कपरकट्टी ताललाई नजिकै रहेको नरैनापूर धाम तथा अन्य पर्यटकीय र ऐतिहासिक स्थलहरूसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अनुरूप काम सुरू गरिएको बताए। ताल परिसरमै बुधबार आयोजित कार्यक्रममा विकास आयोजनाको शुभारम्भ गर्दै प्रमुख सुवेदीले पर्यटनलाई समृद्धिको आधारका रूपमा लिइएको बताए ।
बुटवलले तयार पारेको एकीकृत सहरी विकास योजनामा यहाँका पर्यटकीय क्षेत्र, सांस्कृति सम्पदाका क्षेत्र तथा कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गरिएको छ ।
तालसहित त्यसक्षेत्रका पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई समेटेर विकास गर्नेगरी गुरुयोजना बनाइएको छ। गुरुयोजना अनुसारको काम पूरा एक अर्ब २८ करोड रुपैयाँ बजेटको अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट छुट्टाएर अहिलेको सरसफाइ सुरू गरिएको हो। बुटवलले बनाइरहेको चक्रपथले यो ऐतिहासिक ताललाई समेत जोड्ने दाबी उपमहानगरपालिकाको छ।
तालको वरपरको क्षेत्रमा वातावरणमैत्री पर्खाल बनाउने, तालभित्र रहेका झाडी सफा गर्ने, डुंगा सयर, चरा संरक्षणलगायतका कामहरू चालु आर्थिक वर्षमै अगाडि बढाउने गरि काम सुरू गरिएको प्रवक्ता रेग्मीले बताए ।
नील दहका नामलेसमेत चिनिने यो ताल झण्डै डेढ सय वर्ष पुरानो रहेको अनुमान गरिएको छ । १८ बिघामा सिमसारसहित फैलिएको तालको लम्बाइ तीन किलोमिटर हुने छ । करिब ४ सय मिटर चौडाइमा फैलिएको तालको गहिराइ करिब ५ देखि ६ मिटर रहेको बताइएको छ । ताल परिसरमा वन हास, वन कुखुरा, सिम कुखुरा, जलेवा जस्ता चराचुरुङगी समेत पाइन्छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले पर्यापर्यटनको क्षेत्रका रूपमा उपयुक्त सिमसार क्षेत्र रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाइएको बताए ।
व्यस्त सहरका रूपमा विकास भइरहेको बुटवलमा बढ्दै गएको भिडभाड, धूलो धूवाँका बीचमा छेउछाउको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पर्यटनविज्ञ गितु गिरीको भनाइ छ । बुद्धबल्ली अन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना रहेको उनको भनाइ छ ।
उपमहानगरपालिकाले सिमसार क्षेत्रलाई लक्षित गरेर निजी क्षेत्रको सहकार्यमा भविष्यमा सुविधा सम्पन्न रिसोर्ट, स्थानीय कला संस्कृति झल्किने होम स्टे, पिकनिक स्पट, स्वीमिङ पुल, चिल्ड्रेन पार्क, बाल उद्यान जस्ता पर्यटकीय पूर्वाधार बनाउने लक्ष्यसहितको योजना बनाएको छ ।
तालको नजिकै रहेको पशुपतिनाथको समकालीन मानिने नरैनापुर धाम हिन्दु अनुयायीहरूको एउटा पवित्र तीर्थस्थल मानिन्छ। यो धाममा विभिन्न ठाउँबाट (भारतबाटसमेत) धार्मिक अध्येता र पर्यटकहरू आउने गर्दछन्।
पशुपतिको र यहाँको शिवज्योर्तिलिंग एकै समयका रहेको मानिन्छन् । यसले पनि यो क्षेत्र पर्यापर्यटनसँगै धार्मिक पर्यटनको हिसाबले समेत सम्भावना बोकेको क्षेत्र हो ।