तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको दिनको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सव दिवसका रूपमा मनाउँदै छ।
सम्पदास्थल बुटवलको जितगढी किल्ला परिसरमा वैशाख ७ गते विजय उत्सव मनाउन लागिएको हो।
विजयोत्सवलाई भव्य बनाउन अहिले जितगढीमा विशेष तयारी गरिएको छ। जुन कार्यको लागि नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको छ। दिवसका अवसरमा तत्कालीन युद्धको प्रर्हशन गर्ने तयारीसमेत भइरहेको छ। मञ्च निर्माण, स्वागतद्वार निर्माण सरसफाइ लगायतका काम भइरहेका छन्।
२०४ वर्षअघि विसं १८७१/०७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो।
सोही दिनलाई बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि विजय उत्सव दिवसका रूपमा मनाउन लागेको हो।
यस पटक यही ७ गते दोस्रो विजय उत्सवको दिन जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गरिँदै छ।
तत्कालीन समयमा कर्णेल उजिर सिंह थापाले पहिरिने जस्तै पोशाकमा शालिक निर्माण भइसकेको छ।
त्यस्तै, शालिकको छेउमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
दक्षिणतिर फर्किएको उक्त शालिकको छेउमा विशाल टावरमा राष्ट्रिय झण्डा फहराइने छ।
कर्णेल उजिरसिंहको शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो बेसमेन्ट बनाइएको छ भने शालिकको छेउमा राष्ट्रिय झण्डा फहराउन करिब ५५ फिटको टावर निर्माण भइसकेको छ।
विजय उत्सवको लागि प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउने कार्यक्रम तय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस महामन्त्री शशांक कोइराला लगायतका शीर्ष नेता बुटवल आउने नगर प्रमुख सुवेदीले जानकारी दिए ।
बुटवलले जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, संवर्द्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख बजेट छुट्टाएर काम थालेको र यसपटक एक करोड बजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको छ।
जितगढी सम्पदास्थलको करिब दुई विगाहा जग्गाको र त्यससँग महत्व जोडिएका अरु क्षेत्रसमेतलाई जोडेर उपमहानगरले गुरुयोजना निर्माण गरिरहेको छ।
जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य बताउँछिन्।
अहिले जितगढी किल्लाको सम्पदा स्थलमा नजिकै रहेका सरकारी संरचनाहरू हटाएर सम्पदा स्थललाई सफा, खुला र व्यवस्थित बनाइएको छ। त्यहाँ रहेको उपमहानगरको वडा कार्यालय, कभर्ड हल लगायतलाई हटाइसकिएको छ।
अंग्रेज सेनासँगको युद्धमा नेपाली सेनाको तर्फबाट जबरजंग गणबाट कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेका थिए भन्ने इतिहास छ । अंग्रेज फौजको तर्फबाट भने जनरल सुलेभान उडले नेतृत्व गरेका थिए ।
बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढी युद्धमा नेपाली सेनाको तर्फबाट जबरजंग गण, भवानीवक्स गण, सबुज गण गरी तीन वटा गणबाट नेपाली सेनाका फौजले विरता प्रस्तुत गरेका थिए। सबुज गणको समेत नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा भएको त्यो लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको इतिहासविद् विमलबहादुर शाक्य बताउँछन्।
नेपाली सेना विश्वभर वीर छन् र कसैका सामू पराजयको घुँडा टेक्दैनन् भन्ने प्रमाणित गर्दै विजय हासिल गरेको उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए ।
वीरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षण र उत्खननको पहल २०५४ सालमा भए पनि अधुरो रहेको छ। पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालबीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो।