नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पाहुनालाई बढीभन्दा बढी नेपालको भौगोलिक र वातावरणीय अवस्थाबारे जानकारी गराउन भन्दै पूर्व-पश्चिम हिमाली मार्ग (ग्रेट हिमालय ट्रेल) को फोटो पुस्तक सार्वजनिक भएको छ।
पूर्वको कञ्चनजंघादेखि पश्चिमको दार्चुलासम्मको ग्रेट हिमालय ट्रेल विश्वकै लामो र उचाइमा रहेको पदमार्गका आकर्षक र मनोरम तस्बिरहरूसहितको फोटो पुस्तक बुधबार राजधानीमा आयोजित एक कार्यक्रममाझ सार्वजनिक गरियो।
पुस्तकका माध्यमबाट पूर्वको कञ्चनजंघाहुँदै पश्चिमको दार्चुला, हुम्ला तथा खप्तडसम्मको यात्रा गर्न सकिन्छ।
यही पदमार्गलाई दश भाग (कञ्चनजंगा, मकालु, सोलुखुम्बु/एभरेष्ट, रोल्वालिङ, लाङटाङ, मनास्लु र गणेश, अन्नपूर्ण,नार र फु, मुस्ताङ, डोल्पो, मुगु / हुम्ला र सुदूरपश्चिम गरी छुट्टाएर यसका म्याप र फोटो तथा पदमार्गका लागि आवश्यक जानकारीहरू पुस्तकमा राखिएको छ।
गुणस्तरीय र दिगो पर्यटनका लागि ग्रेट हिमालयन एउटा छुट्टै गतिविधिका रूपमा विश्वभर चिनिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए।
नेपाल ट्रेकिङका लागि विश्वको सबैभन्दा उत्कृष्ट गन्तब्य भएको भन्दै उनले एडभन्चरका लागि विश्वमा चर्चित ट्रेकिङको प्रचार प्रसारमा यो पुस्तकले सहयोगी भूमिका खेल्ने बताए।
एभरेष्ट र अन्नपूर्ण मात्र नभएर नेपालको पूर्वदेखि पश्चिमसम्ममा त्यतिकै एड्भेन्चर र मनमोहक क्षेत्र अरू पनि छन्। त्यो क्षेत्रलाई ब्राण्डिङ गरी प्रचार प्रसार गर्ने र त्यो क्षेत्रमा पर्यटक लैजाने जरूरि भएकाले त्यसका लागि साथै पर्यटन वर्ष २०२० का लागि पर्यटक नेपाल भित्र्याउन यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने जोशीले बताए।
पिटर हिलारीले आफ्नो बुबा सर एडमन्डल हिलारीको कुरा जोडेर सन् १९५३ मा अरूण भ्याली भएर एभरेष्ट जाँदाको स्मरण गर्दै यो ग्रेट हिमालय ट्रेलले एभरेष्ट मात्र होइन। एभरेष्ट जतिकै पूर्वदेखि पश्चिमसम्म लैजान मद्दत गर्ने बताए।
‘यसले सबै एडभन्चर लभरलाई यो रूटमा हिड्न प्रेरित गराउँछ,’ हिलारीले भने।
पुस्तकका लेखक रोबिनले आफ्नो पुस्तकको दोस्रो संस्करण आउँदासम्म आफू यसबिचमा कुनै न कुनै स्थानमा गएको भन्दै कुनै न कुनै रूपमा आफूले ग्रेट हिमालय ट्रेल गएर सूचना र नयाँ जानकारीहरू संकलन गरेको बताए।
उनले यात्राका दौरान ९० जना पूर्वदेखि पश्चिमसम्म ग्रेट हिमालय ट्रेल गर्ने भेटेको र ३०० भन्दा बढीले यो रूटमा हिँडिरहेको भेट्टाएको बताए।
उनले यो रूटमा हिड्नका लागि धेरैलाई प्रेरित गरिरहेको र सफलता हात पारेको जानकारी गराए।
यस्तै पुस्तकका प्रकाशक हिमालय म्याप हाउसका प्रवन्ध निर्देशक पवन शाक्यले १० वर्ष पछि आएको पुस्तकको दोस्रो संस्करणमा पछिल्ला नयाँ अपडेटहरू थपिएको जानकारी गराए। ‘ग्रेट हिमालय ट्रेलको म्यापिङमा हामीले रोबिनलाई पछ्याएका हौ। एकै पटक सम्भव नभएकाले यसलाई १० क्षेत्रमा विभाजन गर्यौ। पाउनै गाह्रो हुने म्यापलाई बिभिन्न ठाउँबाट संकलन गरी एकै ठाउँमा ल्याएका छौ,’ शाक्यले भने।
उनले पुस्तकमा सबैले आफ्नो हिसाबले तयार भएर जानसक्ने गरीको सूचना र नक्सा तयार पारिएको जानकारीसमेत दिए।
उनले दश वर्ष अगाडिको भन्दा राम्रो र उत्कृष्ट फोटोहरू राखेर पुस्तक प्रकाशन गरेको जानकारी दिए।
उनले पुस्तकलाई मोटो गातामा ३५ सय र साधारण गातामा ३ हजार रूपैयाँमा आजैबाट बिभिन्न पुस्तक पसलबाट लिन सकिने जानकारी गराए।
पुस्तकमा सबै १० भागको पुरै नक्सा र आकर्षक तस्बिरहरू राखिएको छ। पुस्तकमा प्रकाशन भएका अधिकांश तस्बिरहरू रोबिनले खिचेको र बाँकि तस्बिरहरू अरूले खिचेको शाक्यले जानकारी गराए।
सन् १९९० देखि अन्तर्राष्ट्रिय ट्रेकिङ ट्रेलका रूपमा विकास गर्ने अवधारणाअनुसार सन् २००३ देखि यसको सम्भावना खोजी भएको थियो।
यो पदमार्गबाट विश्वका सबै (१४) आठ हजार मिटर अग्ला हिमाल हेर्न सकिन्छ । कुल पर्यटकमध्ये ९५ प्रतिशत पर्यटक पदयात्राका लागि नेपाल आउँछन्। तीमध्ये अधिकांश अन्नपूर्ण, लाङटाङ र सगरमाथा क्षेत्रमा जाने गरेका छन्। यी बाहेकका क्षेत्रमा जानेको संख्या न्यून मात्र छ। यी पर्यटकलाई पूरै नेपाल चिनाउन ग्रेट हिमालयनले सघाउ पुर्याउने लेखकले अपेक्षा गरेका छन्।
के हो ग्रेट हिमालय ट्रेल
नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि ग्रेट हिमालयन ट्रेल’को ट्रेक सुरु भइ सुदूरपश्चिमको हुम्ला जिल्लाको हिल्सासम्म हो अहिले थप गरिएकोमा खप्तडसम्म जान्छन्।
यसरी नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि सुदूरपश्चिमको दार्चुलासम्मको उच्च हिमाली क्षेत्र हुँदै गरिने ट्रेकिङ रुटलाई नै ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ।
नेपाल खण्डमा रहेको र, लगभग १७ सय किलोमिटर लामो उच्च हिमाली क्षेत्रको पदयात्रा मार्गलाई नै आजभोलि अंग्रेजी भाषामा ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ।
यो रुटमा पनि १० वटा मुख्य शाखा रुट विभाजन गरिएको छ । त्यस्तै यो क्षेत्रको पदयात्रा गर्न चाहने पदयात्रीहरुलाई ‘हाई एल्टिच्युड रुट’ र ‘लो एल्टिच्युड रुट’ गरी दुई वटा बाटो तय गरिएको छ ।
त्यस्तै यो रुटमा पदयात्रा गर्न चाहने पदयात्रीमध्ये कोही सुरुदेखि अन्तसम्मै संलग्न हुन्छन् भने कोही–कोही बीच–बीचमा र ठाउँठाउँमा थपिने र घट्ने वा भनौं ट्रेक बीचमै छोडेर घर फर्कने हुन्छन्।
जस्तो उदाहरणका लागि ग्रेट हिमालयन ट्रेलको पूरा यात्रा गर्न सक्दिन भन्ने कोही पर्यटक ताप्लेजुङको कञ्चनजंघादेखि संखुवासभाको मकालुसम्म, कोही सोलुखुम्बुको थामेसम्म, कोही दोलखाको गौरीशंकरसम्म, सिन्धुपाल्चोकको हेलम्बुसम्म, कोही रसुवाको लाङटाङ वा तामाङ हेरिटेज ट्रेलसम्म, कोही गणेश हिमालसम्म, कोही मनास्लुसम्म, कोही मनाङसम्म, कोही मुस्ताङ माथिल्लो भेगसम्म, कोही डोल्पासम्म कोही मुगुको रारा तालसम्म को यात्राका लागि आउँछन् भने, थपिने पर्यटकहरु पनि मकालु, थामे, गौरीशंकर, लाङटाङ, मनास्लु, मनाङ, मुस्ताङ, डोल्पा आदि ठाउँबाट थपिदै जान्छन् ।
पदमार्गका केही तस्बिरहरू