नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत नदिर पटेल सगरमाथा बेस क्याम्पमा ट्रेकिङ जाने भएका छन्। नेपाल भ्रमण वर्ष २०२० को प्रचारमा सघाउन र ट्रेकिङ रूटमा क्यानडियन सहयोगमा बनेका योजनाको अवस्था बुझ्न राजदूत नदिर शुक्रबार ट्रेकिङ जान लागेका हुन्।
‘नेपाल-क्यानडाबीच दशकौंदेखि घनिष्ठ सम्बन्ध छ। सगरमाथा जाने रूटमा क्यानडाले धेरै ऐतिहासिक र साँस्कृतिक सम्पदा निर्माणमा सघाएको छ। ट्रेकिङका क्रममा हामी ती सम्पदाको छोटाछोटा भिडियो क्लिप पनि बनाउनेछौं,’ बिहीबार साँझ राजधानीमा आयोजित कार्यक्रममा राजदूत पटेलले भने, ‘मनमोहक हिमालमा ट्रेकिङ जानु व्यक्तिगत रूपमा पनि साँच्चै नै अदभूत् अनुभव हुनेछ।’
राजदूत पटेलको टोलीले लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्नेछ। त्यसका लागि झन्डै २ हप्ता समय लाग्ने बताइएको छ।
यसअघि राजदूत पटेलले आजै दिउँसो परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए।
भेटका क्रममा द्वीपक्षीय सम्बन्ध र लगानीका बारेमा कुराकानी भएको उनले बताए।
‘यो क्षेत्रमा क्यानडाका १ हजारभन्दा बढी कम्पनी कार्यरत छन्। नेपालमा राम्रो वातावरण हुना साथ उनीहरू लगानी गर्न आउँछन्,’ राजदूत पटेलले भने, ‘अघिल्लो साता काठमाडौंमा भएको लगानी सम्मेलनमा पनि हाम्रो सक्रिय सहभागीता थियो।’
सम्मेलनका क्रममा क्यानडाको स्काई पावर ग्लोबलले चौधरी ग्रुपसँग ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने समझदारी गरेको थियो।
राजदूत पटेलले आगामी दिनमा क्यानडाले नेपालको जलविद्युत क्षेत्रमा पनि काम गर्न सक्ने बताए।