प्रदेश नं. ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ को लागि ४ करोडभन्दा बढी बजेटसहितको कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमार्फत् लुम्बिनीमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेअनुरूप प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्षका लागि विभिन्न कार्यक्रमसहित ४ करोड १९ लाख ६० हजार बजेट छुट्याएको हो।
आगामी २०७६ वैशाख पूर्णिमाको दिन उद्घाटन भई २०७६ चैत पूर्णिमाको दिन समापन गरिने लुम्बिनी भ्रमण वर्ष अवधिभर आयोजना गरिने लुम्बिनीको पर्यटन केन्द्रित कार्यक्रमका लागि उक्त बजेट खर्च गरिने छ।
सरकारले वैशाख पूर्णिमाको दिन गरिने उद्घाटन कार्यक्रमका लागि मात्रै ७० लाख रुपैयाँ छुट्याएको छ भने २०७६ चैत पूर्णिमामा हुने समापन कार्यक्रमको लागि १५ लाख रुपैयाँ छुट्याइएको छ।
प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले छुट्याइएको बजेटमध्ये २ करोड २७ लाख ९० हजार रुपैयाँ चालू आर्थिक वर्षमै खर्च हुने बताए।
भ्रमण वर्षमा प्रचारप्रसार, सरसफाइ, साहित्यिक कार्यक्रम, स्थानीय टुर गाइड तालिम, पर्यटन तथा फुड फेष्टिवल, खेलकुद लगायतका कार्यक्रम तय गरिएको छ।
भ्रमण वर्षमा प्रचारप्रसारको लागि मात्र १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ। उक्त रकम लोगो, जिंगल तथा वेब पेज, एफएम रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामार्फत् प्रचारप्रसार, बुद्ध सर्किटसँग सम्बन्धित ब्रोसर, होर्डिङ बोर्ड जडान, सडक प्रदर्शनी, टिसर्ट, टोपी, राष्ट्रिय झण्डा, भ्रमण वर्ष स्टिकर छपाइ र प्रदेशभित्रको उत्पादन विक्री कक्ष व्यवस्थापन लगायतका कार्यक्रम रहेका छन्।
त्यस्तै सभा, समारोह, उत्सव तथा पूजाआजामा १ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ। त्यसमा भ्रमण वर्ष उद्घाटन र समापनदेखि फुड फेस्टिवल, सुजाता खिर उत्सव, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, योग तथा ध्यान शिविर, स्वागतद्वार निर्माण तथा विभिन्न झाँकी प्रदर्शन समावेश गरिएका छन्।
लुम्बिनी भ्रमण वर्ष अवधिभर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलनको लागि मात्र १२ लाख रुपैयाँ छुट्याइएको छ भने लुम्बिनी–तिलौराकोट सडकलाई मायादेवी प्रसुति मार्ग घोषणा तथा प्रसुति उत्सवको लागि १५ लाख रुपैयाँ छुट्याइएको छ।
बुद्ध सर्किटका विभिन्न स्थान तथा लुम्बिनी प्रवेशका विभिन्न नाकाहरूको सरसफाइ, डष्टविन खरिद र बेलहिया–भैरहवा दिपमाला जडानको लागि ४० लाख रुपैयाँ छुट्याइएको छ।
प्रदेश सरकारले तय गरेको बजेट तथा कार्यक्रममा खेलकुद, साहित्य, संस्कृति तथा क्षमता विकास कार्यक्रमका लागि २७ लाख, बौद्ध दर्शन र लुम्बिनीको बारेमा कार्यपत्र प्रस्तुतीको लागि २० लाख तथा भ्रमण वर्ष अवधिभर विभिन्न समिति तथा उपसमितिका बैठक भत्ता तथा खाजाको लागि ३६ लाख रुपैयाँ छुट्याइएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए।
भ्रमण वर्षमा लुम्बिनीमा आउने पर्यटकले कम समयमात्रै नेपालमा बिताउने गरेको तथ्यलाई ध्यानमा राखेर पर्यटकको बसाइ लम्बाउने खालका कार्यक्रम तय गरिएको उनले बताए।
लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने लुम्बिनीमा सरदर वार्षिक १५ लाख ६२ हजार पर्यटकले भ्रमण गरेको देखिन्छ। यीमध्ये १२ लाख ५० हजार आन्तरिक पर्यटक र १ लाख ६१ हजार भारतीय पर्यटक रहेका छन् भने बाँकी ८७ देशका जम्मा १ लाख ५१ हजार पर्यटकले मात्र लुम्बिनीको भ्रमण गर्ने गरेका छन् ।
लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरू पनि अधिकांश मायादेवी मन्दिरको अवलोकन गरी १ घण्टामै फर्किने गरेको देखिन्छ।
लुम्बिनी क्षेत्रमा थप संख्यामा पर्यटकलाई आकर्षित गर्दै उनीहरूको बसाइ बढाउँदै पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो।