पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै काठमाडौंको चन्द्रागिरीमा बाक्लो हिउँ परेपछि आजमात्रै १० हजार जनाले हिउँमा रमाएका छन्।
चन्द्रागिरीमा यो वर्ष पाँचौं पटक हिउँ परेको आइएमइ ग्रुप प्रमुख जनशक्ति व्यवस्थापक राजु पौडेलले जानकारी दिए।
चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्यामा वृद्धि भएको हो।
पौडेलले शनिबारमात्रै करिब १० हजार पाँच सयजना चन्द्रागिरी पुगेको जानकारी दिए।
हिउँले बोटबिरूवासँगै निर्माण गरिएका संरचनाहरू सेताम्मे भएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। चन्द्रागिरी घुम्न पुगेका थानकोटका मोहन डाँगीले हिउँ खेल पाउँदा र प्रकृतिसँग रमाउन पाउँदा खुसी लागेको बताए।
योसँगै काठमाडौं उपत्यका नजिकै रहेका डाँडा फुलचोकी, शिवपुरी, नगरकोटमा समेत हिउँ परेको छ। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।
चन्द्रागिरीमा हिउँ खेल्न पुगेका पर्यटकको चापका कारण कलंकी नागढुंगामा सवारी चापसँगै ट्राफिक व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको थियो।
पानी रोकिएर घाम लाग्न सुरू भएसँगै काठमाडौं उपत्यका वरिपरिको दृश्य थप मनोमहक र आकर्षक देखिएको छ। चन्द्रागिरी समुन्द्री सतहबाट २५५१ मिटर उचाइमा रहेको छ।
सबै तस्बिरहरू : रोशन दानी