पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सीमानामा पर्ने खावामा ‘वर्ल्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय सुरू हुन लागेको हो।
प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दाबी गरे।
‘सुपरम्यान जिपलाइन मेरो बाहेक अरुको छैन’, उनले भने, ‘यो मेरो दाबी हो, नेपालमा यस्तो व्यवसाय अर्को छैन, यसमा एक जोडीले एकैपटक हातखुट्टा फैलाएर फ्लाइ(उडेको) जस्तो प्रकृतिमा खेल्न सक्छन्, अरु जिपलाइनमा एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने हो, यसमा यहाँको जस्तो हेलिकप्टर झैँ उडेर खेल्ने सुविधा छैन।’
उनले सुपरम्यान जिपलाइनका लागि अमेरिकी र क्यानेडेली प्रविधिको सामग्री प्रयोग गरेकाले खासै जोखिम नहुने बताए।
पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालय लगायतका निकायबाट स्वीकृति लिएर सो व्यवसाय सञ्चालन गर्न लागिएको उनको भनाइ छ। नेपाल सरकारको नियमानुसार रु पाँच लाखको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको उनले बताए।
हेर्दा संरचनाको हिसाबले सामान्य देखिए पनि नेपाल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकोले बनाउने ठाउँमा माटो परीक्षण गरी टावर हाल्ने काम गरेको उनको भनाइ छ। प्रयोग गरिएका सबै सामान अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त रहेको सञ्चालक थापा बताउँछन्।
जिपलाइनका लागि मात्रै रु दुई करोड ५० लाख खर्च भएको र सो खेलसँगै त्यहाँ आउनेलाई थप सुविधा प्रदान गर्न अरु व्यवस्थापनको काम भइरहेको बताइएको छ। त्यससँगै सो वरिपरि बालबालिकालाई उपयुक्त खेलका लागि अरु संरचना निर्माण गर्ने तयारी भइरहेको उनले बताए। सम्पूर्ण व्यावसायिक कार्य सम्पन्न हुँदा रु छ करोड लगानी लाग्ने सञ्चालक थापाले बताए।
व्यवसाय सञ्चालनका लागि करिब ७० रोपनी जग्गामा संरचना निर्माण गर्ने तयारीमा रहेको छ। उनले व्यावसायिक हिसाबले काठमाडौंबाट पनि नजिक र पर्यटकीय हिसाबले निकै प्रख्यात भएकाले पनि धुलिखेललाई नै रोजेर नयाँ व्यवसायका रूपमा जिपलाइन खेल व्यवसाय सञ्चालन गर्न लागेको बताए।
व्यवसाय सञ्चालन गर्न आवश्यक जनशक्तिका लागि स्थानीयवासीलाई प्राथमिकता दिने बताउँदै उनले दक्ष प्राविधिकबाहेक २० देखि २५ कामदारले प्रत्यक्ष रोजगार पाउने बताए। व्यवसायको संरचना निर्माणका लागि अहिले प्राविधिक जनशक्ति भारतबाट झिकाएर काम भइरहेको छ।
जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी एघार सय मिटरको रहेको छ । उनले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा दुई हजार पाँच सय र विदेशीको लागि ३५ देखि ४० डलरसम्म लाग्ने बताए।
सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने उनको भनाइ छ। टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।