सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नाराका साथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका युथ को–अर्डिनेटर लालबहादुर गुरुङले सो कार्यक्रम हुने जानकारी दिएका हुन्।
उनले ग्रामीण क्षेत्रमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्नु उक्त प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
उनले भने,‘यसका साथै ग्रामीण क्षेत्रमा पर्यटन विकास र प्रर्वद्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौं ।’
उनका अनुसार उक्त प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साइकल रूट निर्माण गरी साइकलिङ गर्ने, स्वीमिङ पुल निर्माण गरी प्रतियोगिताहरू आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यतासमेत अध्ययन गर्न सकिने छ।
उक्त प्रतियोगिताको उद्धघाट्न नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गर्नेछन्।
प्रतियोगिताको उद्धघाटन सत्रमा स्थानीय सोरठी, घाँटु, कौडा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकीहरू प्रदर्शन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जनाए।
थापाले दिएको जानकारी अनुसार क्रस कन्ट्री दौड १४ किमी (२१ वर्ष मुनिका) र ३१ किमी (खुला) दुई समूह बिहान ९:०० बजे सुरू हुनेछ। पुतलीबजार–९ कोल्मा बराहचौरबाट सुरू भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ।
त्यस्तै, प्रतियोगितामा प्रथम हुने पहिलो समूहको प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार, तृतियलाई १० हजार पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई ५० हजार, द्वितियलाई ४० हजार, तृतियलाई ३० हजारको पुरस्कार दिईनेछ ।
दुवै समूहको प्रथम, द्वितिय र तृतिय हुनेलाई ट्रफी र मेडलसहित प्रमाणपत्र पनि प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगितामा दस जना सम्मलाई मेडल र प्रमाणपत्र प्रदान पनि गरिने आयोजकले जनाएको छ।