बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिर परिसरमा आजदेखि ५ दिनसम्म परम्परागत माघि मेला सुरु भएको छ।
माघे संक्रान्तिको अघिल्लो दिनदेखि पाँच दिनसम्म लाग्ने परम्परागत माघी मेलामा छिमेकी जिल्ला दाङ, बाँकेसहित कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ भक्तजन आउने गर्छन्।
ठाकुरबाबा मन्दिर ३ सय बर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मूर्ति फेला परेको र उचाल्न नसकेपछि त्यहीँ राखिएको धार्मिक किम्बदन्ती छ।
थारू समुदायका महन्त पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु समुदायले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताइन्छ।
करिब ४५ वर्ष अघि स्थानीयको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुनर्निर्माण गरिएको हो।
भुरीगाँउ बजार नजिक पुर्व पश्चिम राजमार्गको अम्रेनी देखि १३ किलोमिटर दक्षिण तफ, भुरीगाँउ देखि नेउलापुर गोदाना गाँउ हुँदै ९ किलोमिटर दक्षिण तर्फ र सदरमुकाम गुलरिया देखि ४० किलोमिटर पश्चिम तर्फ ऐतिहासिक ठाकुरबाबा मन्दिर रहेको छ ।
‘माघ लहाईली सुरीक सिकार खैलि रे हाँ, सखिय हो माघक पिली गुरी गुरी जाँड’ अर्थात माघमा नुहाउने संगुरको मासुका परिकार खाने, साथी हो, माघमा पिउँला मिठो मिठो जाँड । यस्तै मघौटा, हुरदंगवा, सखिया गीतमा नाचगान गर्ने, माघे संक्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिका खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्व सुरु भइसकेको छ । यो पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत लिने गर्दछन् । तर पछिल्लो समय माघे संक्रान्तिमा नाचगान गर्ने परम्परा हराउँदै गएको छ ।
थारु समुदायमा मनाईने माघी पर्वमा खोला र नदीमा माछा मार्ने, जिता मार्ने (सुँगुर बंगुर मार्ने), नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाईने ढिक्री लगायतका परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ।
माघे संक्रान्तिका दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन छ ।
थारु जातिको बाहुल्यता रहेको पश्चिम तराईका दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत भेगमा माघे संक्रान्तिका दिनलाई थारु समुदायहरुले ठूलो चाडका रुपमा मनाउने गर्दछन् । उनीहरुले माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन ।
बर्दियाको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगै स्थानीय तह भएपछि यस क्षेत्रमै पहिलो पटक पुस ३० गते बेलुकादेखि माघ ४ गतेसम्म महोत्सवको आयोजना हुन लागेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।
झण्डै २ सय व्यापारिक स्टलहरु रहेको माघी तथा पर्यटन महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने र अनुमानित झण्डै ३ करोड बराबरको व्यापारिक कारोबार हुने ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष डिलराज पौडेलले बताए।
महोत्सवमा राष्ट्रिय कलाकारसँगै स्थानीय थारु कला संस्कृति र देउडा संस्कृति प्रदर्शनी तथा कृषिजन्य वस्तुहरुको प्रदर्शनी रहेका छन्।
हेर्नुहोस् केही तस्बिरहरू