सप्तरी–कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रको कन्चनरुप नगरपालिका वडा नं ६ जमुवामा थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको छ।
विशेषतः आरक्ष र सेरोफेरोका धार्मिकस्थलहरु घुम्न आउने पर्यटकलाई खाना, बास र संस्कृतिको स्वाद चखाउन गत वैशाखदेखि होमस्टे शुभारम्भ गरिएको हो । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदेव चौधरीका अनुसार थारु समुदायका ७ घरमा होमस्टे सुविधा छ ।
आइडिएस नेपालको सहयोगमा स्थानीयले आय आर्जनका लागि होमस्टे सञ्चालनमा ल्याएका हुन् । उनीहरुको होस्टेमा एनटिएनसी, आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले हैंसे गरेका छन् । होमस्टेमा आत्मिय र पारिवारिक वातावरण पाइन्छ । खाना र बास सस्तोमा पाइन्छ । सादा खानाको सय, बेडको दुई सय र ब्रकेफास्टको सत्तरी रुपैयाँ पर्छ ।
गाउँ आफैंमा घुम्न लायक छ जहाँ थारु जीवनशैली पाइन्छ । गाउँबाट गाडीमा एक घन्टामै बराह क्षेत्र पुगिन्छ भने आधा घन्टामा रामधुनी । बराह क्षेत्र जानेबाटोमै प्राचीन हरिद्धार चतरा पर्छ । जमुवा नजिकै कमल दह, गोडराजा मन्दिर, भजनेश्वर मन्दिर, बिष्णु मन्दिर, कंकालीनि मन्दिर छन् । होमस्टेमै बसेर छिन्नमस्ता, कालो हनुमान मन्दिर लगायत घुम्न सकिन्छ ।
पाहुनाको माग अनुसार थारु परिकार र थारु संस्कृति अवलोकन गर्न सकिन्छ । मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरी भन्छन–होमस्टे नजिकै कोशी किनारमा अर्ना, जंगली जनाबर हात्ती र चरा अवलोकन गर्न सकिन्छ ।
होमस्टे सञ्चालकहरु उत्साही छन् । होमस्टे नं १ का सञ्चालक रामकुमार चौधरी दुबै बाह्य र आन्तरिक पर्यटकको स्वागत गर्न हरपल तयार भएको बताउँछन् । पाहुना जमुवा होमस्टेमा भ्रमणमा रमाउन सक्छन् ।
आइडिएसका टिम लिडर छोटेलाल चौधरी र जैबिक विविधता संरक्षणविज्ञ नन्दलाल माझी गाउँलेलाई हौस्याइरहेका छन् । ‘राम्र्रो प्रचार गर्न सकियो भने होमस्टेमा पर्यटक बढ्नेछन् । त्यसका लागि हामी निरन्तर गाउँलेसँग हातेमालो गर्छौं’, माझीले भने ।
होमस्टेमा जाँदा फोन सम्पर्क गरेमा सजिलो हुन्छ । त्यसका लागि बिष्णुदेव चौधरी–९८१४७६७६१५, बच्चुलाल चौधरी–९८०५९५०४६३ र रामकुमार चौधरी–९८६२९३४८८७ मा सम्पर्क गर्न सकिन्छ ।