चारै तिर मनमोहक हिमाल। वरीपरि हरीयाली जंगल बिचमा सुन्दर ताल रारा, महेन्द्र तालका रुपमा परिचित रारा ताल यति बेला हिउँले सेताम्य छ।
समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा अतिबेला हिउँ ढाके सेताम्य देखिन्छ। आईतबारदेखि परेको हिउँले पर्यटकलाई मनै लोभ्याएको छ।
रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन्। रारा साच्चै धर्तिको स्वर्ग हो रारा तालले दिनमा निकै चोटि रङ्ग फेर्छ।
कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग र्फछ। त्यहि रङ्गफेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ।
काठमाडौंबाट पहिलो चोटि रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गरे। मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल।
२०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एक वर्षपछि नियमित रुपमा गाडी चल्न थाल्यो। त्यसयता रारा आउनेलाई सजिलो भयो। ‘रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन्। रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो,’ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढाले भने।
मुगु सदरमुकाम गमगढीबजारको तल्लो बजारमा कोशेली घर छ । कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली ,चिनो कागनो फापर सिमी मार्से लगायत स्थानीय स्तरका लत्ता कपडा पाईन्छन्।
छायाँनाथ रारा नगरपालिका वडा नं १ बासी चेतना शाहीले २०७१ सालमा राराबाट फर्किने पर्यटकका लागि भनेर यो कोशेली घर खोलेकी हुन्।
चेतनाले कोशेलीघरमा स्थानीय स्तरमा गई स्थानीय स्तरमा उत्पादन भएका सामान खरिद गरि बजारिकरण गदै आएकी छन्। ‘कोशेली घरले स्थानी किसानको खर्च धानेको छन् । पर्यटकलाई राराको सुन्दरताले लोभ्याएर मुगुसम्म पुर्याउँछ,’ उनले भनिन्।
मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन् । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटकको गुनासो छ । अचेल मुगुको रारामा वर्षको लाखौ देश भित्र र बाहिरका पर्यटक घुम्न जान्छन्।
पर्यटक बढे यता मुगुको आम्दानी बार्षिक ४० प्रतिशतले बढेको छ । पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो । अचेल पर्यटक प्रर्वद्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस उँचो भएको छ ।
सबै तस्बिरहरूः नन्दबहादुर रोकाया