पछिल्लो समय नेपालीहरूमा घुमफिर गर्ने प्रवृत्ति विस्तारै बढ्न थालेको छ। हिजो आज विदेशीको तुलनामा नेपालीहरू पनि नयाँ-नयाँ स्थानहरूमा घुम्न जाने रमाइलो गर्ने, पैसा खर्च गर्ने गरेको पाइन्छ। यो सँगै नेपालको पर्यटनमा आन्तरिक पर्यटककले धेरै हिस्सा ओगट्न थालेका छन्।
नेपालमा घुम्नका लागि धेरै रमणीय स्थानहरू छन्। साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध छ।
करिव ३५ प्रतिशत बनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ। नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन्। यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पुगेकै हुन्छन्।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तब्य हो।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेश द्वार सौराहा हो। यहाँ सुरु सुरुमा विदेशी मात्र देखिन्थे। वदलिँदो समयसँगै सौराहा आन्तारिक पर्यटन गन्तव्य बन्दैछ। काठमाडौं र पोखरा पछि, सौराहा देशकै तेस्रो प्रमुख गन्तव्य बनेको छ। प्रकृतिसँग नजिक हुन चाहने जो कोहिलाई सौराहाले तान्छ।
सौराहा आउनुको मुख्य उदेश्य भनेको निकुञ्ज भ्रमण गर्नु हो। त्यस माथि गैंडा हेर्ने धोको सबैको हुन्छ। निकुञ्ज भ्रमण विभिन्न माध्यमबाट गर्न सकिन्छ। सबै भन्दा लोकप्रिय माध्यम हात्ती सफारी हो। एउटा हात्तीमा चार जनासम्म बस्न सकिन्छ। हात्तीबाट जनवार राम्रो र सुरक्षितसँग देख्न सकिन्छ।
अर्को सफारी जीपमा। सौराहाको राप्ती किनारबाट सुरु हुने यो यात्रा निकुञ्जको मुख्यालय कसरासम्म पुग्छ। यात्रा लगभग ३६ किमि दुरी करिब साढे ४ घण्टामा पार गर्न सकिन्छ। कसरामा रहेको गोही प्रजनन केन्द्र पनि यात्रामा देख्न सकिन्छ। यि दुई बाहेक साहसिक पर्यटकका लागि निकुञ्ज हेर्ने अर्को उपाय पदयात्रा हो। जंगल वाकमा जान पथ प्रर्दशक अनिर्वाय छ। सौराहामा छन् नेचर गाइडहरु।
निकुञ्जमा ५०३ गैंडा, लगभग १५० बाघ छन्। जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयुर पनि अनगिन्ति देखिन्छन्। बर्ड वाचिङ मात्रै गर्न पनि विदेसी आउँछन्।
हात्ती तथा जिप सफारी गर्दा जंगलमा चरिरहेको मृग, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ।
सौराहामा अर्को छुटाउन नहुने कुरा डुंगा यात्रा हो। राप्तीमा ४५ मिनेट डुँगा चढ्न पाइन्छ। डुँगामा बसेर नदी किनारमा सुस्ताईरहेका गोही हेर्दा आनन्द आउँछ। जाडो याममा साइबेरियादेखिका चरा नदीमा आउँछन्। वर्षाको बेला पानी धमिलो हुन्छ। आफ्नो सीमा नापन नगरी उर्लने खोलामा जल यात्रा गर्दा आउने आनन्द बेग्लै हुन्छ। जल यात्रा गर्दा लाईफ ज्याकेट लाउनु पर्छ।
जल यात्रा सकिनेवित्तिकै १० मिनेटको हिँडाईमा हात्ती प्रजनन केन्द्र पुगिन्छ। त्यहाँ विभिन्न उमेरका हात्तीको छावा देख्न पाईन्छ, अझ त्यस माथि जुम्ल्याहा पनि।
सौराहाको आकर्षण भनेको हात्तीसँग नुहाउनु पनि हो। गर्मी महिनामा मानिसलाई मात्र होइन, हात्तीलाई पनि पानीमा खेल्न मन पर्छ। यसरी खोलामा नुहाउन गएका हात्तीसँग नुहाउनु, हात्तीको सुँडले फ्याकेको पानीमा सावर लिनु र हात्तीलाई नुहाइदिनु अविष्मरणिय क्षण बन्छ।
साँझ राप्ती किनारमा बसेर सूर्यास्त हेर्दा आनन्द हुन्छ। जुस वा मदिराको चुश्कि लिँदै डुब्दै गरेको सूर्य हेरिरहन मन लाग्छ। दिउँसो चर्को घाम पछि चिसिँदै गएको सन्ध्याकालिन मौसमा छुट्टै आनन्द लिन सकिन्छ। बगरबाट निकुञ्जलाई नजिकबाट पनि हेर्न सकिन्छ। कहिलेकाहीँ त पानी पिउन आएका जनवार पनि देख्न पाइन्छ। रातमा सौराहाको मुख्य चोकमा रहेको थारु नाँच घरमा थारु नृत्य चम्किन्छ। नृत्य हेर्न टिकट काट्नु पर्छ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा आयोजना हुने चितवन हात्ती महोत्सव सौराहाका व्यवसायीले सौराहाको ब्रान्डींगको अवसरका रुपमा लिने गरेका छन्। यो समय विदेशी पर्यटकको संख्या कम हुने भएकाले आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव सुरुवात गरिएको हो। यो खेल सुरु हुँदा सौराहा क्षेत्र लगायत चितवनमै नेपाली पर्यटकको निकै कमी हुने गर्दथ्यो। हात्ती दौड हुन थालेको दस वर्षको अन्तरालमा हात्तीसँग सम्बन्धित थुप्रै खेलहरु थपिदै आएका छन्।
पछिल्लो समय हात्तीका छावाको रोचक फुटबल प्रतियोगिता र हातीवीचको सुन्दरी प्रतियोगिता हुन थालेको छ। साथै गाडा दौड, डुङा दौड, सांस्कृति कार्यक्रम अवलोकन गर्न सकिन्छ।
भोलि पुस ११ गतेदेखि सौराहाको बाघमारा चौरमा हुने यसपालीको हात्ती महोत्वस ५ दिनसम्म चल्नेछ।
आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्दन गर्दै लोप हुँदै गएको हात्तीहरुको संरक्षण र यसको महत्वकोबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिबृद्वि गराउनु यो महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सवका मुल संयोजक सुमन घिमिरेले जानकारी दिए।
महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष घिमिरेले हात्ती महोत्सवले मुलुककै प्रयर्टन प्रवर्द्धन गर्ने बताए। 'नेपालमा यस्तो महोत्सव सौराहामा मात्रै हुन्छ। यो महोत्सवले चितवन मात्रै होइन मुलुककै प्रर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ', उनले भने।
उनले सौराहा आउन अब पूर्वाधारले समेत साथ दिएको बताउँदै सहज रुपमा पर्यटक आउने बातावरण तयार भएको बताए।
'लामो समयदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड पुर्णरुपमा संचालनमा आइसकेको छ। अब पर्यटक चार घण्टामा काठमाडौंबाट चितवन आइपुग्न सक्छन्। ' घिमिरेले भने।उनका अनुसार चितवनमा सन् २०१८ अवधिमा दुइलाख पर्यटक आएका छन्। सौराहामा भएका एक सय १० होटलमा वर्षभरिमा ४० प्रतिशत अकुपेन्सी रहेको उनले बताए। उनले पर्यटक भित्र्याउनका लागि होटलहरुले विभिन्न अफरहरु ल्याएको बताए।
'महोत्सव भन्ने बित्तिकै होटल दर महँगो भन्ने सोचिन्छ। यहाँ रहेका एक सय १० होटलमा आन्तरिक तथा वाह्य पर्यटकले सामन्यतया भन्दा थप सहुलियतमा होटल बुक गर्न सक्ने वातावरण बनाएका छौँ, ' उनले भने।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुने महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम हुनेछ।
सङ्घका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ।
चितवन हात्तीहरुको राजधानी हो। जंगली हात्ती हुन् या सरकारी वा निजी हात्ती, संख्यात्मक हिसाबमा नेपालका अन्य ठाउँहरुमा भन्दा यहाँ धेरै पाइन्छ। यति मात्र होइन, चितवन हात्ती सफारीका लागि पनि प्रमुख गन्तव्य हो। संसारका विभिन्न कुनाबाट चितवन हात्ती सफारीकै लागि आउने पर्यटक संख्या पनि निकै छ। हात्ती महोत्सवको कारण पनि चितवन पर्यटक बढाउँदैछ। यो सुखद पक्ष हो।
एक दशक अघिसम्म यहाँ खरले छाएका स–साना ‘छाप्रा–होटल’ हरू थिए । पछिल्लो समय चेतना र प्रविधिको विकाससँगै यहाँ हाल टिपिकल नेपाली ‘होमस्टे’ देखि सुविधासम्पन्न आधुनिक होटल तथा रिसोर्टहरू खुलेका छन् र यो क्रमले तीव्रता पाएको छ। व्यवसायीहरू पर्यटकलाई सेवा र मनोरञ्जन दिन प्रतिस्पर्धात्मक रूपमै लागिपरेका छन् ।
सौराहामा वर्षैभरि घुम्न सकिन्छ ।
त्यसैले सौराहा घुम्न कम्तिमा दुई रात छुट्टयाउनु पर्छ। मनसुनको हरियालीमा जंगलमा धेरै जनावर देख्न सकिन्छ। हामी नेपाली पर्यटक आउँदा खुशी हुन्छौं। सौराहासम्म देशका धेरै भूभागबाट यातायात साधनमा जान सकिन्छ।
काठमाडौंको कान्तिपथबाट हरेक बिहान ७ बजे टुरिष्ट बस जान्छ। त्यसमा जाँदा यात्रा आरामदायी हुन्छ। अरु बस, मिनिबस र निजी सवारी साधनमा जादा पनि हुन्छ।