बुलेट बाइकर्सहरुको संस्था 'नासा बुलेट क्लब' का राइडरहरू एक साता लामो काठमाडौं-लोमान्थाङ-कोरोला नाकाको भ्रमण सकेर बुधबार काठमाडौं फर्किएको छ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने र आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्धेश्यले क्लबका २४ वटा रोएल इन्फिल्ड मोटरसाइकलमा ३३ जना राइडर यात्रामा निस्किएका थिए।
एउटा जिपसहित गएका उनीहरूले काठमाडौं-पोखरा-बेनी- जोमसोम-लोमान्थाङहुँदै कोरला नाकासम्म पुगेका थिए।
नेपाल–चीन मित्रता थप प्रगाढ होस् भन्ने उद्धेश्यसहित गरिएको भ्रमणबाट नेपालको प्राकृतिक सुन्दरता विश्वसामू चिनाउन बुलेट बाइक र्याली आयोजना गरिएको क्लबका अध्यक्ष प्रकाश लिम्बुले जानकारी दिए।
‘नेपाल कति सुन्दर छ त्यो हामी अनविज्ञ छौ, त्यसैले नेपाल चिनाउनका लागि पनि यस भ्रमणले केही टेवा पुग्ने छ,’ लिम्बुले भने,‘आम जनमानसमा मोटरसाइकलबाट पनि अपरमुस्ताङ जान सकिन्छ है भन्ने सन्देश दिन पनि आफूहरूले र्यालीको आयोजना गरेका हौ।’
यस्ता किसिमका भ्रमणले जोमसोम, मुक्तिनाथ अपर मुस्ताङको आन्तरिक एवम् वाह्य पर्यटनमा सहयोग पुग्ने उनको दाबी छ।
कंक्रिटको सहरमा रमाइरहेकालाई मुस्ताङको भ्रमण गराउँदा उनीहरूले प्रकृतिसँग साक्षातकारसमेत गरेका थिए।
आफ्नै देशमा रहेका पाखा पखेर हिमाल र चरनका बारेमा अनविज्ञहरूमाझ मुलुक चिनाउने उत्कृष्ट गन्तब्यसमेत रहेको राइडर तथा टिम लिडर सुजन श्रेष्ठको अनुभव थियो।
भ्रमण टोलीलाई बेनी, टुक्चे (थासाङ गाँउपालिका) मा आमा समूहले बाजागाजासहित स्वागत गरेका थिए।
उद्योग वाणिज्य संघ मुस्ताङले जोमसोममा भ्रमण टोलीलाई स्वागत गरेको थियो। जिल्ला प्रसाशन कार्यालय, घरपझोङ गाउँपालिका, नागरिक मन्च, स्थानीय होटल व्यवसायी, आमा समूह , एक्याप, जिसस, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पुथाङका गाउले राइडर्सहरूलाई स्वागत गरेका थिए।
भ्रमण दलका सदस्यलाई कात्तिक ७ गते काठमाडौंबाट स्थानीय विकास मन्त्री लालबाबु पण्डितले विदाई गरेका थिए।
टोलीले कोरला नाका पछि मुक्तिनाथ दर्शन गर्दै सोही बाटो भएर एक सातामा काठमाडौं आइपुगेको थियो।