लोन्ली प्लानेट वेबसाइटले २०१९ सालमा घुम्नका लागि संसारका दस उत्कृष्ट सहरको सूची निकालेको छ। सूचीको पहिलो स्थानमा डेनमार्कको कोपेनहेगन सहर छ। दोस्रो र तेस्रोमा चीनको शेन्जेन र सेर्बियाको नोवा साद सहर छ। चौथोमा अमेरिकाको मायामी छानिएको छ।
भ्रमणबारे सिफारिस गर्ने संसारकै ठूलोमध्येको एक प्रकाशक लोन्ली प्लानेटले पाँचौं स्थानमा काठमाडौं उपत्यकालाई सिफारिस गरेको छ।
सन् २०१३ मा पनि ट्रिपएडभाइजरले विश्वका दस यात्रास्थलमा काठमाडौंलाई तेस्रो स्थानमा राखेको थियो। बिक्रम सम्वत् २०७२ को भुइँचालोले यसको श्रेणी घटेको अनुमान छ। तर यो वर्ष लोन्ली प्लानेटले भने काठमाडौंलाई आफ्नो सूचीमा समावेश गरेको छ।
भुइँचालोपछि अझै पुनर्निर्माण नसकिए पनि चार वर्ष मै उत्कृष्ट गन्तव्य सूचीमा पर्नु नेपालको लागि गौरवको कुरा हो।
लोन्ली प्लानेटले नेपाल भुइँचालोले पुर्याएको क्षतिबाट पुनः स्थापित हुँदैछ भन्ने उल्लेख गरेको छ। त्योबेला भत्किएका र ध्वस्त भएका स्मारकहरू पुनः स्थापित गरिइसकेको पनि जनाएको छ।
‘ऐतिहासिक क्षेत्रहरू आफ्नो पुरानो महिमामा फर्केका छन्’, वेबसाइटले लेखेको छ,‘काठमाडौं पहिलेभन्दा अझै बढी जीवन्त भएको छ।’
काठमाडौंका शीर्ष विशेषतालाई बढावा दिँदै साइटले घुम्नलायक विभिन्न ठाउँका नाम पनि सुझाएको छ। यसमा हनुमानढोका दरबार क्षेत्र, इटुमबहाल, ठमेल, गार्डेन अफ ड्रिम्स, असन टोल, इन्द्रचोक, नासलचोक, तलेजु मन्दिर लगायत छन्।
वेबसाइटले आकर्षक ठाउँमा भने बौद्धनाथ स्तुपको नाम उल्लेख गरेको छ।
नेपाली खानाबारे पनि यहाँ वर्णन गरिएको छ। दालभातलाई सामान्य खानाको रुपमा नलिई यो चामल, दाल र तरकारीको उत्कृष्ट संयोजन हो भनिएको छ। हिमालय क्षेत्रको खाना दालभात शक्तिवर्द्धक हुने पनि बताइएको छ।
त्यस्तै यहाँका विभिन्न क्याफे र रेष्टुरेन्टका बारेमा पनि उल्लेख छ। विदेशीकासाथै स्वदेशी पर्यटकको पनि ध्यान तन्न यो वेबसाइटले मद्दत पुर्याएको छ। पर्यटकका लागि काठमाडौंमा विभिन्न व्यवस्थित होटल र रिसोर्टहरू भएकाले आवासको समस्या खासै पर्दैन।
‘यात्रुको बस्ती’ का रुपमा चिनिने ठमेलमा पर्यटकले चाहेअनुसारको खानपान र बसाइ लक्षित राम्रा–राम्रा गेस्ट हाउस, रेष्टुरेन्ट र किताब पसल खुलेका छन्
‘विश्वसनीय विद्युत् र वाइफाईले पर्यटकलाई यात्रा गर्न अझैँ सहज हुनेछ’,वेबसाइटले वर्णन गरेको छ,‘भूलभुलैया जस्तै गल्लीका पुराना सहरले यात्रा झन् रोमाञ्चक बनाउँछ।’