शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ ।
विश्व पर्यटन दिवस २०७५ को अवसरमा सस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा सोही मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीले शाश्वतधामलाई अवार्ड प्रदान गरे ।
समारोहमा पर्यटन राज्य मन्त्री धन बहादुर बुढा, पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशी लगायत पर्यटन क्षेत्रका उच्च पदस्थ महानुभावहरूको उपस्थिति रहेको थियो ।
नेपालको पर्यटन प्रवर्धनमा उत्कृष्ट योगदान पुर्याएवापत शाश्वतधामले उक्त अवार्ड प्राप्त गरेको हो । शाश्वतधाममा नेपालका अतिरिक्त भारतीय पर्यटकहरूको समेत घँुईचो लाग्ने गरेको छ ।
नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वत धामलाई आफ्नो गन्तब्य बनाउदै आएका छन् ।
‘शाश्वत धाम स्थापनाको छोटो समयमै नेपालको पर्यटन उद्योगमा उच्च योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । सम्मानका लागि सस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हार्दिक धन्यवाद दिन्छु’ शाश्वत धामका फाउण्डिङ ट्रष्टी एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘शाश्वत धाममा सम्पदाहरू थपिने क्रम जारी छ । भविष्यमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा सूचिकृत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’