सन् २०१६ को तुलनामा नेपाल आउने पर्यटकको वृद्धिदर दक्षिण एसियाका अन्य देशको तुलनामा धेरै रहेको छ। वल्र्ड टुरिजम अर्गनाइजेशनको तथ्यांकअनुसार नेपलामा पर्यटक आगमन वृद्धिदर दक्षिण एसियामा सबैभन्दा बढी देखिएको हो।
भूकम्प र नाकाबन्दीपछि निरन्तर बढ्दै गएको पर्यटक आगमन यो वर्ष पनि जारी छ।
विश्वभरको पर्यटकीय तथ्यांक प्रकाशित गरेको उक्त संस्थाका अनुसार नेपालमा २४ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिदर दक्षिण एसियामा सबैभन्दा उच्च हो।
अन्य देशहरुमा भुटानको २१, भारतको ६, माल्दिभ्सको ८ र श्रीलंकको ३ प्रतिशत वृद्धि भएको छ।
दक्षिण एसियाको औसत वृद्धिदर ५.६ प्रतिशत रहेको छ। नेपालमा राजनीतिक स्थिरता भएसँगै पर्यटक आगमन बढिरहेको र यसलाई निरन्तरता दिनु चुनौती भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीको भनाइ छ।
समग्र एसियामै नेपालको वृद्धिदर उच्च रहेको उक्त संस्थाको तथ्यांकले देखाएको छ। संस्थाकाअनुसार भेयतनाममा २९ प्रतिशतले बढेको छ।
गएको वर्ष नेपालमा ९ लाख ४० हजार विदेशीले भ्रमण गरेका थिए। जसबाट नेपालले ६७ करोड अमेरिकी डलर आम्दानी गरेको थियो।
पर्यटनबाट विदेशी मुद्रा आर्जनसँगै रोजगारी सिर्जना पनि उत्तिकै हुने भएकोले पूर्वाधार निर्माण र बजार प्रबद्र्धनमा ध्यान दिनुपर्ने जोशीको भनाइ छ।
पर्यटन बजार बलियो बनाउनको लागि छिमेकी देशबाट बढीभन्दा बढी पर्यटक आकर्षित गर्नुपर्ने र बोर्डले त्यहीअनुसार भारत र चीनमा बजारीकरणलाई प्राथमिकता दिएको उनको भनाइ छ।
सन् २०२० मा भ्रमण वर्ष मनउने घोषणा गरेको सरकारले २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ। त्यसको लागि अहिलेको बृद्धिदरलाई कायम राख्दै यसलाई दिगो बनाउनुपर्ने छ।
पहिले मौसमअनुसारमात्र विदेशी आउने प्रबृत्ति रहेकोमा अहिले त्यो परिवर्तन भएर सबै महिना उत्तिकै संख्यामा विदेशीको आगमन बढीरहेको जोशीको भनाइ छ।
‘हामीले विदेशमा प्रबद्र्धन गर्दा पनि जुन महिना पनि नेपाल भ्रमण उपयुक्त छ भन्ने सन्देश प्रसार गरिरहेका छौं’ जोशीले भने,‘कुन देशमा कुन मौसममा भ्रमणमा बढी निस्कन्छन् त्यही लक्षित प्रचार हामीले गरिरहेका छौं।’
बजारीकरणको पछिल्लो रणनीतिको परिणाम अहिले देखिएको उनको दाबी छ।