भालेश्वर महादेव र केवलकार मात्र चन्द्रागिरिका विशेषता होइनन्, समग्र चन्दागिरि नगरपालिकामा पर्यटकीय सम्भावना भएका धेरै सम्पदा छन्। तीनमा भालेश्वरसहित, अरविन्द्र योग आश्रम, पातलेवन, मच्छेगाउँ, कालुपाँडेको समाधीस्थल, नैकाप भञ्ज्याङ, मातातिर्थलगायत हुन्। ती सबै सम्पदाको प्रचार गर्ने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना भयो।
चन्द्रागिरि पर्यटन विकास समाजले आयोजना गरेको कार्यक्रममा २५० भन्दा बढी साइकलेहरू सहभागी भए। समाजलाई चन्द्रागिरि नगरपालिका, कन्सेप्ट नेपाललगायत संस्थाले सहयोग गरेका छन् ।
नैकाप फूटबल ग्राउण्डबाट सुरू भएर साइकल र्याली नागढुंगा, थानकोट, केवलकार बेस क्याम्प, अरविन्द योग आश्रम, मातातिर्थ, बौंथली, मच्छेगाउँ, विष्णुदेवी, नयाँ नैकाप हुँदै फूटबल ग्राउण्डमै पुगेको थियो ।
उनीहरुले साइकलमा २१ किलोमिटर यात्रा गरे । कार्यक्रममा स्थानीयको उल्लेखनिय सहभागिता थियो। उनीहरुले साइकल यात्रीलाई ठाउँ–ठाउँमा स्वागत गरेका थिए। स्कुले विद्यार्थीले स्वागत गरेका थिए भने पञ्चकन्याले पुष्पगुच्छा दिएर साइकलेको यात्रा सलताको शुभकामना दिएका थिए।
‘चन्द्रागिरि क्षेत्र साइक्लिङ पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो’, कार्यक्रमका टेक्निकल लिडर देवेन्द्र बस्न्यातले भने, ‘साइक्लिङ, हाइकिङ र राइडिङका लागि चन्द्रागिरि उपयुक्त छ।’
कार्यक्रममा प्रदेश नं ३ कि सभासद रमा आले, नगर प्रमुख घनश्याम गिरि, समाजका अध्यक्ष कृष्णहरि रिजाल, महासचिव मनराजा खत्रीलगायतले चन्द्रागिरिको पर्यटनको भबिश्य उज्जवल रहेको बताएका थिए ।
गत वर्ष स्थापित समाजले ‘चन्द्रागिरि मेरो पर्यटन नगरी’ नाराका साथ चन्द्रागिरि नगरपालिकाको पर्यटन प्रवद्र्धनको खाका बनाएको छ। ‘चन्द्रागिरिको प्रमुख आम्दानीको माध्यम पर्यटन बन्न सक्छ भनेर’, समाजका महासचिव खत्री भन्छन्, ‘हामीले एकिकृत पर्यटन विकासका लागि संस्था बनाएर पाइला चालेका हौं ।’