काठमाडौंबाट नजिकै, फरक र सुन्दर ठाउँ । जसको पनि मन खिच्न सक्ने एउटा टुक्रा हो चित्लाङ । मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ठाउँ हो चित्लाङ । यही ठाउँमा रहेको करिव २० बर्ष अगाडि स्थापना भएको ओलीभ फार्मले पर्यटकिय आकर्षणलाई झन् मनमोहक बनाईदिएको छ । त्यसमाथि यसै ठाउँमा दक्षिण अमेरिकाबाट सुरुवात भएको र एसियामै दुर्लभ मानिने अल्पाका जनावरले त जो कसैको मन खिचेको हुन्छ । झट्ट हेर्दा साना कोरेली गाई जस्ता देखिने तर फरक खालको अल्पाकाबाट अति महंगो ऊन निकालिन्छ । ऊनकै लागि पालीने यो जनावर एशियामै नेपालको यही ठाउँमा मात्रै उपलव्ध जनावर हो ।
काठमाडौंबाट नजिकै रहेको र थोरै समयमा पुगिने भएकोले धेरैको आँखा चित्लाङमा पर्न थालेको छ । आन्तरिक पर्यटक मात्रै होइन विदेशी पर्यटकहरु समेत यहाँ रमाउन मन पराउँछन् । विश्वमै अत्यन्तै राम्रो अक्सिजन पाइने दुईवटा बनस्पतिमध्ये एक तुलसी हो भने अर्को ओलिभ हो । तुलसी पछि ओलिभलाई उत्तम अक्शिजन दिने वनस्पति मानिन्छ । युरोपियन र अमेरिकीहरुले ओलिभको अक्शीजनमा बस्न मात्रै लाखौ खर्चिन्छन् । यसरी हेर्दा यो ठाउँ अन्तर्राष्ट्रिय पर्यटकिय क्षेत्रका रुपमा बलियो सम्भावित ठाउँ मानिन्छ ।
काठमाडौंबाट यसरी पुग्ने चित्लाङ
काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ । जस अनुसार सबै भन्दा कम दुरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ ।
त्यसैगरी काठमाडौंबाट मातातिर्थ सःखेल हुँदै जाने हो भने करिव २७ किलोमिटर चित्लाङ पर्छ । हाल दुवै रुट आधा कच्चा र आधा पक्का अवस्थामा छन् भने बाटो निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । बाटो पक्की भइसकेपछि करिव आधा घन्टामै यी रुटबाट चित्लाङ पुग्न सकिन्छ । पक्की अबस्थामा रहेका अरु दुई रुट पनि छन् । अलिक लामो बाटो भएर घुम्दै जाने पर्यटकहरुका लागि फर्पिङको बाटो पनि उत्तम मानिन्छ । दक्षिणकाली फर्पिङ कुलेखानी भएर जाँदा ५२ किलो मिटरको दुरीमा चित्लाङ पुगिन्छ । त्यसैगरी अर्को अझै लामो र घुम्दै जानको लागि थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ । यो रुटबाट यसको दुरी ७५ किलोमिटर रहेको छ ।
चित्लाङका विशेषताहरु :
हुन त काठमाडौंबाट नजिक रहेका हिसाबले ग्रामिण बस्ती घुम्नकै लागि मात्रै पनि चित्लाङ पर्याप्त छ । तर यहाँका विशेषता थाहा पाउने हो भने यो ठाउँ जो कसैलाई पनि जीवनमा कम्तिमा एकपटक घुम्न मात्रै होइन केही समय बस्नका लागि सानदार मानिन्छ ।
यहाँको पहिलो विशेषता हो काठमाडौंबाट नजिकै रहेपनि पुगीसकेपछि धेरै टाढा र कहाँ कहाँ आएजस्तो अनुभूति हुने हुँदा थोरै समयमै फ्रेस हुन सकिन्छ ।
दोस्रो विशेषता हो वातावरण अत्यन्तै राम्रो । त्यसमाथि यहाँको मात्रै विशेषता रहेको छ खुल्ला र निलो आकाश देख्न पाउनु । प्राय सबैजसो मोसममा यहाँ जाने पर्यटकले निलो आकाशको अनुभूति लिन पाउँछन् । हरेक मौसममा यहाँबाट देखिने निलो आकाश मुलुकको अन्य कुनैपनि ठाउँमा देख्न सकिँदैन ।
यसैगरी विश्वमै दुर्लभ र एशियामा यहाँ मात्रै पाइने अल्पालाई यहाँ हेर्न पाइन्छ । अल्पाका बाख्रा भन्दा ठुलो र गाई भन्दा सानो जनावर हो । हिमालयन प्लान्टेशन प्रालिले हाल १७ वटा अल्पाका पालन गरेको छ । यो विश्वमै सबै भन्दा महंगो उनको लागि पालिने जनावर हो । अल्पाका हेर्नकै लागि पनि यहाँ पर्यटकहरु आउने गर्दछन् ।
त्यसैगरी ओलिभ फर्म यहाँको अर्को आकर्षणको केन्द्रविन्दु हो । तुलसी पछि अक्सिजनमा दोस्रो मानिने ओलिभ फर्म भिजिट गर्न धेरै मानिस मन पराउँछन् । यसको अक्सिजन लिन मात्रै पनि विदेशी पर्यटकहरु यहाँ आउने गर्दछन् ।
ओलिभको अक्सिजनमा बस्ने मानिस अन्य मानिस भन्दा २० प्रतिशत बढी उमेर बाँच्न सक्ने चिकित्सकहरु बताउँछन् । चित्लाङ ओलीभ फर्ममा पुगिसकेपछि ओलिभको ग्रीन टि खान भने छुटाउनु हुँदैन । यहाँ पुगिसकेपछि यसबाहेक इन्द्र सरोवर ताल (कुलेखानी) दामन आदीको भ्रमण पनि उत्तम मानिन्छ ।
ऐतिहासिक पक्ष
चित्लाङका थुप्रै ऐतिहासिक स्थलहरुमध्येको एक हो अशोक चैत्य । भारतका सम्राट अशोक धेरै पटक नेपाल भ्रमणमा आउँदा सोही रुटको प्रयोग गर्ने भएकाले उनकी छोरी चारुमतीले सम्झनास्वरुप करिब २५ सय वर्षअघि उक्त चैत्य बनाएको भन्ने भनाई रहेको छ ।
सोही चैत्यको नामबाट नै चित्लाङ नाम रहन गएको कथन समेत रहिआएको छ । यहाँको कात्तिक नाच एकदमै प्रसिद्ध रहेको छ । बुद्ध जयन्तीको अवसर पारेर यहाँ देशविदेशबाट ठूलो संख्यामा बुद्धधर्मावलम्बीहरु आउने गर्दछन् ।
सातधारा चित्लाङको अर्को ऐतिहासिक स्थल हो । सात वटा ढुंगेधारा रहेको यस क्षेत्र कुनै समय गणेश, शिव, कृष्ण र सरस्वतीको वासस्थान हुने गरेको बताइन्छ । यस क्षेत्र घना वनजंगलले ढाकिएको छ ।
हरेक वर्ष वसन्तपञ्चमीको दिन यहाँ सरस्वतीको पुजा आराधना गरिन्छ । त्यसैगरी बाख्राको दुधबाट चिज बनाउने पहिलो नेपाली उद्योग यही ठाउँमा छ, जसलाई गोट चिज भनिन्छ । गोट चिजको फ्याक्ट्रीको समेत भ्रमण गरेपछि चित्लाङको यात्रा पूर्ण मानिन्छ ।
बस्नका लागि ओलीभ फर्मको होमस्टे उपयुक्त
केहि दिनका लागि घुम्न आइसकेपछि बस्ने उपयुक्त ठाउँ चाहिन्छ नै । यसरी बास बस्नका लागि भर्खरै मात्रै ओलीभ फर्म भित्रै खोखिएको होमस्टे सबैभन्दा उपयूक्त हुन सक्छ । त्यसो त इन्द्र सरोबर तालको छेउछाउ पनि होटलहरु खुलेका छन् । तर बास बस्नको लागि ओलिभ फर्मको अक्सीजन लिएर निलो आकाश हेर्दै अल्पाका जनावरसँग खेलेर बस्नुको मज्जा बेग्लै हुन्छ । यसैले पनि सुविधा सम्पन्न यो होमस्टे सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ । कम पैसामा स्तरीय बसाई र ओलिभको अक्सीजनका लागि होमस्टे धेरैले रुचाएको हिमालयन प्लान्टेशनका प्रवन्धक पदमसिंह खड्का बताउँछन् ।
ओलीभका फाइदाहरु :
क्यान्सरको रोकथाम : ओलिभ भिटामिन ई को प्रमुख स्रोतहरुमध्ये एक हो । भिटामिन ई ले शरिरमा पैदा हुने अनावश्यक बोासोको मात्रालाई रोक्छ र शरिरभित्रका ससाना कोषहरुलाई सफा रहन मद्दत पुर्याउँछ । कोषको डिएनए बिग्रिएमा क्यान्सर हुन्छ । ओलिभले कोषलाई पर्याप्त शक्ति उत्पादन गर्न सहयोग गरी क्यान्सर हुनबाट रोक्छ ।
छाला र कपालको स्वास्थ्य : ओलिभमा अक्सिजनको आपूर्ति कम गर्ने र बोसो घटाउने तत्व हुन्छ जसले छाला र कपालको सुरक्षा गर्छ । ओलिभले छाला र कपाललाई पोषण दिन्छ । यसका लागि ओलिभ तेलले कपाल तथा अनुहारलाई मालिस गर्नुपर्छ ।
हाड र नशा : ओलिभ हाड जोर्नी, मुटु तथा नशासम्बन्धी रोगीहरुलाई फाइदाजनक हुन्छ । ओलिभ तेलमा ओलियोक्यान्थल नामक एक रसायन हुन्छ, जसले दुखाई कमगर्ने औषधीको रुपमा काम गर्छ । ओलियोक्यान्थलले इबुप्राफिन नामक औषधीको काम गर्ने एक अध्ययनले बताएको छ ।
पाचन प्रणाली : ओलिभ तेलको निरन्तर प्रयोगका कारण आन्द्राको क्यान्सर हुनेको संख्या क्रमशः घट्दै गएको पाइएको छ । शरिरमा उत्पादन हुने अनावश्यक पदार्थहरुको मात्रा कम गरी ओलिभले आन्द्राको क्यान्सर हुनबाट बचाउँछ । त्यस्तै, ग्याष्ट्रिक र अल्सर जस्ता पेटसँग सम्बन्धित रोगहरुका लागि पनि ओलिभ फाइदाजनक छ । ओलिभले औषधीभन्दा पनि छिटो प्यान्क्रियाटिक हार्मोन उत्पादन गर्छ, जसले पत्थरी हुन दिँदैन । यसरी ओलिभले पाचन प्रणालीसँग सम्बन्धी सबै रोगहरुको रोकथाम गरी स्वस्थ रहन मद्दत गर्दछ ।
आइरनको स्रोत : ओलिभ शरिरका लागि अत्यावश्यक तत्व आइरनको प्रमुख स्रोतमध्ये एक हो । आइरनको कमीले शरिरका कोषहरुले पर्याप्त अक्सिजन पाउँदैनन्, जसले गर्दा हामीलाई कमजोर बनाउँछ । यस्तो हुनबाट रोक्नका लागि ओलिभको प्रयोग गर्न सकिन्छ । पर्याप्त आइरनका लागि शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसैले, ओलिभ मानव शरिरका लागि फाइदाजनक छ ।
आँखा : आँखाको लागि पनि ओलिभ उपयोगी हुन्छ । ओलिभमा १० प्रतिशत भिटामिन ए को मात्रा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ । यसले आँखाको नाइट भिजन राम्रो बनाउँछ । उमेर ढल्केसँगै देखिने विभिन्न रोग तथा कमजोरीको उपचारस्वरुप पनि ओलिभको प्रयोग गर्न सकिन्छ ।