‘से नो टु ड्रग्स’ नारा लिएर रोयल इन्फिल्ड हवका १४ जना सदस्यहरू आन्तरिक पर्यटन प्रवर्धनका लागि भन्दै ११ वटा बाईक लिएर संखुवासभाको गुफा पोखरीतर्फ लागेका छन्।
भक्तपुरदेखि गुफापोखरीसम्म पुगेर पाँच दिनपछि काठमाडौं आइपुग्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष चन्द्र बोखिमले जानकारी दिए।
शुक्रबार भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले उनीहरूलाई विदाई गरेका हुन्। उनीहरू आज साँझ धनकुटाको भेडेटारमा पुगेर बास बस्ने र भोलि गुफापोखरी पुग्ने कार्यतालिका छ।
पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गरेको रोयल इन्फिड (बुलेट) बाइक चढ्ने युवाको संख्या बढेसँगै युवाहरू एकतृत हुने क्रम बढेको छ। बिभिन्न क्लब खोलेर क्लबकै माध्मबाट समाजसेवासमेत गरिरहेको उनीहरू आन्तरिक पर्यटन बढाउन निस्किएका हुन्।
नेपालमा पछिल्लो समय युवापुस्तामा देशभित्रै घुम्ने चलन बढेको छ। हामीले नगरे कसले गर्ने भन्दै आन्तरिक पर्यटन र त्यसका सम्भावनाबारे अध्ययन गर्न एडभेन्चर राइडका रूपमा युवाहरू यात्रामा निस्किएका हुन्।
अहिलेसम्म नेपालका पश्चिम क्षेत्रका रारा, मुक्तिनाथजस्ता अधिकांश स्थान पुगिसकेका टोलीले पहिलोपटक पूर्वाञ्चल भ्रमण गर्न लागेको हो।
‘अहिलेसम्म हामी पश्चिम क्षेत्रका अधिकांश पर्यटकीय स्थानहरू गइसकेका छौ,’ अध्यक्ष बोखिमले भने,‘पहिलो पटक पूर्वको पर्यटकीय सम्भावनाबारे प्रचार प्रसार र आन्तिरिक प्रोत्साहनका लागि हामी पूर्व लागेका हौ।’
पूर्वी पहाडी जिल्ला संखुवासभाको गुफापोखरी धार्मिक तथा पर्यटकीय हिसाबमा महत्वपूर्ण स्थान हो। यहाँ प्रचार प्रसारको कमीले सोचेजस्तो पर्यटक पुग्न सकिरहेका छैनन्। ‘धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण गुफापोखरीबारे सबैलाई जानकारी गराउनु हाम्रो एडभेन्चर राइडको मुख्य उद्धेश्य हो,’ उनले भने।
लालिगुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के हुँदै गुफापोखरी जान अहिलेको मौसम एकदमै उपर्युक्त छ। यो क्षेत्रमा १४ प्रकारका लालिगुराँस फुलेको हेर्न सकिन्छ।
यस्तै राईडर्सहरूले युवाहरूमा ड्रग्सको प्रयोग रोक्नका लागि जनचेतना फैलाउने भन्दै ‘से नो टु ड्रग्स’ प्लेकार्ड, झन्डा बोकेर जनचेतना फैलाउनेछन्।
टोलीका सदस्य एवम् री यूनिटि नेपाल रिहाबटेसनका सञ्चालकसमेत रहेका सन्तोस कार्की आफूले बुलेट चढेर ६५ जिल्ला घुमिसकेको भन्दै हरेक राइडमा ‘से नो टु ड्रग्स’ भनेर जनचेतना फैलाउँदै आएको बताए।
‘ड्रग्सका कारणले धेरैको घर र समाजमा समस्या देखिएको छ। रमाइलो भनेको ड्रग्स बिना पनि गर्न सकिन्छ भनेर आफू जहाँ पुग्छु त्यहाँ यस्ता किसिमका जनचेतना फैलाउने काम गरेको छु,’ कुनै समय ड्रग्सको कुलतमा फसेका उनले भने।
अर्का राइडर प्रतित श्रेष्ठले यस्ता किसिमका टुरले नेपालको आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। रारासम्मको यात्रा सम्झदै उनले हामी बाइक चढेर रारा पुगेपछि हाम्रै सिको देखेर दर्जनौ युवाहरू रारा गएको दाबी गरे।
सबै राइडरलाई प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बिदाई गर्दै पूर्वको ग्रामिण पर्यटनलाई आन्तरिक पर्यटनसँग जोड्न लागेको सफलताको शुभकामना दिए। उनले अबका दिनमा पनि यस्ता कार्यको निरन्तरताका लागि आव्हान गरे।
गुफापोखरीटिएमजे (तीनजुरे, मिल्के, जलजले) संरक्षण क्षेत्रमा रहेको गुफा पोखरी संखुवासभाको चैनपुर नगरपालिका १ मा पर्छ।
प्राकृतिक विविधताले भरिपूर्ण टिएमजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्छ।
टिएमजे क्षेत्रको पदमार्ग भएर बर्सेनि हजारौँ पर्यटकहरु ओहोरदोहोर गर्ने गरेका छन्। यो क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीहरुको अवलोकन वसन्त ऋतुमा राताम्मे गुराँसे वन र डाँडाकाँडाको दृश्यावलोकनका लागि पर्यटकहरु आउने गरेका पाइन्छ ।
पोखरीदेखि बाहिरपट्टि लालिगुराँस र अन्य विभिन्न फूलका बिरुवा रोपिएको छ ।पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहाँसिक गुफा छ । यही गुफाको आधारमा पोखरीको नाम पनि गुफापोखरी राखिएको स्थानीयवासी बताउँछन्।
विशेष गरी नागपञ्चमीदेखि जनै पूणिर्मासम्म पर्यटकीय एवं धार्मिक क्षेत्र सभापोखरीको दर्शन गर्नेहरुको भीड लाग्छ।
सुनसरीको धरानबाट भेडेटार, धनकुटा सदरमुकाम र हिले बजार हुँदै संखुवासभा पुगिने भएकाले बाहिरी जिल्लाबाट आउने पर्यटक एवम् भक्तजनहरुका लागि सभापोखरीको यात्राले अन्य क्षेत्रको समेत एकमुष्ट अवलोकन गर्ने मौका उपलब्ध गराउँछ।
https://youtu.be/xb22FAZGx8A