‘भो यती जाबो खाजाको पनि के हिसाब गर्नू। घर बनाउने चटारोले केही पकाएर ख्वाउन सकिएन,’ टिनले बारेको कटेरो भित्र साइकले अतिथिको सत्कार गर्दै कान्छामान तामाङ र सरिता तामाङले एकै स्वरमा भने।
हामी मानेनौं। भूकम्पले घर भत्किए पनि काभ्रे, गुर्धुम डाँडा, नयाँ गाँउका स्थानीयको मन भत्किएको रहेनछ। साइकले अतिथि सत्कारमा उनिहरू निक्कै खुसी देखिए।
शनिबारको दिन। दिपक श्रेष्ठ, दिपकमान जोशी, अनुज सिंह प्रधान र म बिहान सात बजे। पाटन बालकुमारीमा भेट्ने निँधो भयो। दुई जना आउन अलि ढिलो भएकोले हामी विस्तारै अगाडि बढ्यौ।
पाटन बालकुमारीबाट भक्तपुरको चित्रपुर हुँदै दधिकोट तखाल पुग्यौं। चिया तयार गर्दै गर्दा दिपकमान र अनुज आईपुगे। दिपक श्रेष्ठ कुशल साइकल शौखिनहरु मध्ये अव्वल व्यक्तित्व हुन्। उपत्यका र आस पास, यिनी नपुगेको ठाँउ कहाँ होला र?
दिपकमान पनि निक्कै अनुभवी साइकल पारखी हुन् भने अनुज पनि लामो समयदेखि आफ्नो अनुभव तिखार्न उपत्यकाका अधिकांश उकालो ओह्रालो नापी सकेका व्यक्ति हुन्।
भला कुसारी र चियाको सुर्कोसँगै चुनौतीपूर्ण रूट चुन्यौं। दधिकोट र गुण्डुको साँध हुदै डाँडाको फेदिबाट टुप्पो तर्फ उकालियौं। तखाल समुद्र सतहबाट करिब १,४०० मीटरको उचाइमा छ। त्यहाँबाट करिब २ हजार मीटर उचाईमा रहेको लाकुरी भञ्ज्याङतर्फ उकालियौं।
यहाँसम्म आई पुग्दा शहरी भीडभाड, कोलाहल प्रदुषणबाट निक्कै टाढा भईसकेका थियौ। चरा चुरुङ्गिका बिहानी गीतमा पाउदानको ताल मिलाउँदै भञ्ज्याङ्ग पुग्यौं। दधिकोट, तखालबाट लाँकुरी भञ्ज्याङ पुग्दा करिब ८ कि.मी तय गर्यौ।
लाँकुरी भञ्ज्याङबाट पश्चिमतर्फ ओह्रालो लागे लामाटार, लुभुहुँदै ग्वार्खु पुगिन्छ। बायाँ तर्फ ओह्रालो लागे मानेदोभान, कुशादेवी हुँदै पनौती।
हामी दक्षिण तर्फ उकालो लाग्यौं। यहाँको प्रकृती, भूगोल, जैविक विविधतामा संसार बिर्सिएर साइकलको पउदान मार्नुको आनन्द अनुपम छ।
चाँपा खर्क पुगेपछि यहाँको सुन्दरतामा जो कोहि हराउँछ। डाँडाको सानो भञ्ज्याङ। ठूलो घुम्तिको तल्लोपट्टि फराकिलो चौर। माथिपट्टि गोलाकार पोखरी।
हामी केही क्षण हरायौं। सम्झनाका क्षण क्यामरामा कैद गर्यौं । यात्रालाई निरन्तरता दिँदै लठ्ठा भञ्ज्याङ्गतर्फ लाग्यौं। लाँकुरी भञ्ज्याङ्गबाट यहाँसम्म आइपुग्दा करिब ५ कि.मी तय गरियो। लठ्ठा भञ्ज्याङ्गबाट बायाँ लागे माने दोभान, दायाँ लागे गोदावरी पुगिन्छ। हाम्रो रोजाईको बाटो लठ्ठाभञ्ज्याङ्ग हुँदै फुल्चोकी।
त्यसैले पुनः दक्षिण तर्फ उकालियौं। अगाडि बढ्दै जाँदा बाटो साँघुरिदै जान्छ। उकालोमा ठाँउ ठाँउमा सिँढी छ। कहिले साइकल चढ्दै कहिले साइकल काँधमा चढाउँदै खस्रु र निगालोघारी बिचबाट हिंड्यौं।
सुनसान जंङ्गलको बाटोको यात्रा निकै चाखलाग्दो छ। बाक्लो निगालोघारी भएको ठाँउमा बन्यजन्तु हुनसक्ने सम्भावना हुन्छ। जंगलमा अनगिन्ति बाटो भेटिन्छ। सहि बाटो पहिल्याउन कि त अनुभवी व्यक्तिसँग हिड्नुपर्छ, कि भने बाटोको नक्सा हेर्न जानेको हुनुपर्छ। घाँस दाउराका लागि हिंड्ने बाटो प्रशस्त हुन्छन्। हचुवामा हिँड्नु हुँदैन। हाम्रो टोलीमा दिपक श्रेष्ठ अनुभवी र बाटोको जानकार भएकाले म निश्चिन्त थिएँ।
यात्राका आ–आफ्ना अनुभव बाँड्दै अगाडि बढ्दा जंगल बीचको रोमाञ्चक यात्रा मूलबाटोमा आएर सकियो। मूलबाटोमा आई पुगेपछि दुई वटा बिकल्प छन्। मूल सडकहुँदै करिब पाँच कि.मी पूर्व उकालो लागे फुलचोकी टावर, मूल सडक सात कि.मी पश्चिम ओह्रालो लागे गोदावरी।
हामी उकालो लाग्यौं हाम्रो रोजाईको फुल्चोकीतर्फ भयो। मूलबाटो भएर पैदल र सवारी साधनमा जाने निक्कै समूह भेटिए। घाम नलाग्ने ठाँउमा केही साता अगाडि परेको हिँउ अझै नपग्लिएकौ अवस्थामा रहेछ। हिँउ थिचिएर चिप्लो भएको ठाँउमा मोटर साइकल र स्कूटरले निक्कै सास्ति भोगे। हामी होसियारीका साथ पाउदान चलाउँदै गयौं।
जति जति उकालो चढ्दै गयौं उत्तर तर्फका हिम श्रृंखला हेर्दै निक्कै रोमाञ्चित भयौं। केही क्षणमै उपत्यकालाई घेर्ने महाभारत पहाडको सबैभन्दा अग्लो पहाडि श्रृंखलाभन्दा अलिकति अग्लियौ। मनोरम हिमश्रृंखला हेर्दै आफैंमा हरायौं ।
घाम तिब्र गतिमा पश्चिम दौडदो छ। हामी घामको विपरित अर्को गन्तब्य कुशादेवी तर्फ जाने बाटो पहिल्यादैछौ। दिपकले बाटो पहिल्याए। हामी उनको पछि लाग्यौं। हाम्रो गन्तव्य तर्फ जाने बाटो सोचेको भन्दा निक्कै भिन्न रहेछ।
मानव निर्मित सिँढिको बाटो। हामी साइकलेहरू कत्ति पनि विचलित नभई साइकल डोहोर्याउँदै सिँढिको बाटो भएर। मानव गतिविधि शून्य जंगलबाट तलतिर झर्दा निक्कै रोमाञ्चित भयौं। एक आध ठाँउमा बाहेक अधिकांश ठाँउमा साइकल चढ्न मिल्ने ठाँउ भेटिदैन।
साइकल चढ्न मिल्ने ठाँउको व्यघ्र प्रतिक्षामा निरन्तर ओह्रालो लाग्छौं। करिब तीन कि.मी जति पार गरे डाँडाको टुप्पोबाट लामो धर्सो बाटो देखियो। बाटो र पातलो बस्ति देखिए पछि हामीलाई त्यहाँ पुगेर साइकल हुईक्याउने कौतुहलताले निक्कै रोमाञ्चित बनायो। हरेक कदमले दूरी छोट्टयाउँदैछ।
सिँढी सक्कियो। ओह्रालोमा हामी साइकल सवार भयौ। तिब्र गतिमा बत्तिएका साईकले टिनले बारेको कटेरो सामुन्ने रोक्कियौं। ठाँउको नाम त थाहा पाउनै पर्यो। नाम सोध्यौं । ‘नयाँ गाउँ।’ अनि यो डाँडाको नाम नि? ‘गुर्धुम डाँडा।’ आँगनमा पारीलो घाम तापेर खाजा खाई रहेका मध्येका एकले जवाफ दिए। उनीहरुले खाजा खाईरहेको देखेर हामीलाई भोक जाग्यो।
भूकम्प अगाडि १८ – २० घर भएको नयाँ गाँउमा अहिले ७ घर मात्र बाँकी रहेछ। भूकम्पले भत्काएको घर पुनःनिर्माण गर्ने कर्मीहरू आँगन भरि व्यस्त छन्। शरीरको इन्धन निक्कै कम भई सकेको छ। खाने कुरा खासै कैही छैन।
तातो चियाको भने तल तल लागिरह्यो। चिया बनाइदिन अनुरोध गर्यौ । पसिनाले निथ्रुक्क भिजेको शरीर। २२०० मीटर उचाइको गुर्धुम डाँडामा चलेको चिसो सिरेटोले शरीर थरर्र कँपायो।
कतै टुसुक्क बस्न पाए थकान मेटिने आस जागिरहँदा सरिता हतार हतार चिया पकाउन टिनले बारेको कटेरोमा छिरिन्। तातो केहि खाने पाए आँत अलि शान्त हुने आशामा हामी पनि पछि लाग्यौं।
चिसोमा चिया पाक्न समय लाग्यो। बसिबियाँलो बात चित गर्न थाल्यौं। कुराकै क्रममा कान्छामानले गाँउमा घरबासको व्यवस्था भएको सुनाए। सात जना सदस्यले चलाएको सामुदायिक घरबासमा २०–२५ जना पाहुनालाई सत्कार गर्न सक्ने बताए।
हाल अलि भद्रगोल भए पनि पुनःनिर्माण पछि व्यवस्थित गर्ने बताए। कुरा गर्दै गर्दा भोक चर्किएकोले हामीलाई जे भए पनि खुवाउन अनुरोध गर्यौं। सरिताले खेतालालाई ल्याएको चिउरा र अण्डा भुटेर खुवाइन्।
२,७०० मीटर उचाइमा अवस्थित फुल्चोकीबाट २२०० मीटर उचाइको गुर्धुम डाँडामा घाम उपत्यकाको पश्चिम क्षितिजमा तिब्र गतिमा दौडदो छ। हामी साइकले भने दक्षिण पूर्वी डाँडोबाट ओह्रालो लाग्दै छौ।
समय निक्कै घर्किसकेकोले कुशादेवीबाट पनौतीहुँदै काठमाडौं निस्कने योजना थाँती राखेर पर्खाल चौर तर्फ ओह्रालो लाग्यौं। पर्खालचौर आइपुग्दा झमक्क साँझ भयो। फुल्चोकीबाट जम्मा १४ कि.मी, साइकलका पारखिका लागि निक्कै चाखलाग्ने र निक्कै रोमाञ्चक ठाउँ हो यो।
दोभान खोला नजिक आइपुग्दा निश्पट्टै अध्यारो छायो। मुरलीखोलाको किनारमा साइकलको बत्ती जगायौं। पिलपिले बत्ती बालेर मुरली खोलाबाट रानीकोट उकालियौं। चिसा रातमा कठ्याङ्ग्रीएको सुनसान गाँउ छिचोल्दै रानीकोटको उकालो पार गरियो।
यहाँबाट झिलीमिली उपत्यका देखियो। ओह्रालोमा हुईँकिदा चिसोले नाक निक्कै कठ्याङ्ग्रियो। जंगल छिचोलेर हामी अब शहर पस्यौं। फुल्चोकीबाट सूर्यविनायक चोक आइपुग्दा करिब २५ कि.मी तय गरिएछ। दिनभरिको सम्झना मनमा संगाल्दै गुर्धुम डाँडा नयाँ गाँउका नयाँ मित्रलाई भेट्न जाने नयाँ रूट र नयाँ मितिका तय गर्दै कोटेश्वर चोकबाट छुट्टियौं।
होमस्टे सम्पर्कको लागि कान्छा मान तामाङ- ९८२३३७८४१६थप तस्बिरहरू