हाम्रो देश यसै स्वर्गको टुक्रा। दसैंतिहारको मौसम झनै आनन्ददायी हुन्छ। पोषिला र चम्किला घामका किरण, बादलका टुक्राटाक्री नाच्दै गरेको नीलो आकाश, पाकेर काट्ने बेला भएका धान कोदोका झुलेका बाला, वर्षामा धोइपखाली सुमधुर धुन बजाउँदै सङ्लो बग्दै गरेका नदीहरू, हरियालीका खानी बोटबिरूवा अनि जंगल, कतै खाली नहुने गरेर उम्रिएका झारबिरूवाहरू अनि चाडवाडको मौसममा गच्छेअनुसार रमाउँदै गरेका मान्छे। प्रकृतिले यति प्रचुर उपहार यो याममा देसैंभरि बाँडेको हुन्छ, वाह!
प्रकृतिसँगको सत्संगले मानसिक र शारीरीक रूपमै मान्छेलाई ताजा बनाइराख्छ। पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ र घुमन्ते जमातले विभिन्न कारणवश गुम्सिएर बस्नेहरूलाई पनि घुमेर प्रकृतिको रसास्वादन गर्न उत्साहित गरिरहेको छ।
दसैं-तिहारबीच बिदा मिल्छ भने संखुवासभाको शिवधारा घुम्न जाने त?
राजधानी काठमाडौंबाट बिपी, मध्यपहाडी लोकमार्ग हुँदै खोटाङ, भोजपुर अनि धनकुटाको लेगुवाघाट हुँदै डेढ दिन जतिमा अनि तराईबाट इटहरी, धरान, धनकुटा, हिले, लेगुवाघाट वा बसन्तपुर हुँदै एक दिनमा संखुवासभाको पुरानो बजार खाँदबारी पुग्न सकिन्छ। लेगुवातिरबाट अक्करको बडेमानको भिर कपेर बनाइएको बाटो जाँदा तल्तिर तम्मर भेट्न व्यग्र अरूण नदी बेतोड बगिरहेको भेटिन्छ। संखुवासभाको सख्खर उत्पादन हुने प्रख्यात कत्ले भञ्ज्याङ र तुम्लिङटारतिरका उखुबारीका बीचैबीच हुइँकिनु कम्ता रमाइलो हुँदैन।
दोस्रो दिन खाँदबारीबाट संखुवासभाको पहाडी बजार नुम पुग्न ४० किमि जतिको स्तरोन्नति हुँदै गरेको बाटोलाई झण्डै ५ घण्टै लाग्छ। अरूण तेस्रो जलविद्युत निर्माणस्थल जाने यो बाटो ठूल्ठूला मालवाहक गाडी चल्ने गरेको भएर पनि बिग्रिराख्ने गरेको स्थानीयहरू बताउँछन्। नुम बजारमा छुटपुट सामानहरू किनेर खाना खाइवरी आरामसँग हिँड्दा रातिको बास १५०० मिटर उचाइको सेदुवामा हुन सक्छ। गाडी पाइहाले चम्लाखर्कसम्म गाडीमा जाँदा २ घण्टा जति हिँड्ने समय जोडिन्छ। चम्लाखर्कबाट १ घण्टा जतिको ओरालो हिँडेपछि झोलुङ्गे पुलबाट अरूण नदी तरिन्छ र अर्को ३ घण्टा जति उकालो हिँडेपछि सेदुवा पुगिन्छ। मकालु वरूण राष्ट्रिय निकुञ्जको सुरूआतबिन्दु रहेको सेदुवाबाट नै मध्यवर्ती क्षेत्र सुरू हुन्छ। यहाँ १०० रूपैयाँको निकुञ्ज प्रवेश टिकट काट्नुपर्छ। सेदुवामा बास बस्ने राम्रो प्रबन्ध छ।
मकालु वरूण क्षेत्र पदमार्गका लागि लोकप्रिय छ। अधिकांश बाटो ढुंगाले छापेको छ। वरिपरि निगाला घारी, घना जंगल, निगालाका चित्रा अनि टिनले छाएका घरहरू, गाउँका बीचमा लिङ्गे पिङ, यत्र तत्र पहाड रसाएर बगिरहेको पानी, खोला खोल्सी अनि झरना र तिनमा काठेपुलहरू, धान कोदो लहलहाउँदै गरेका टारी खेतबारी, दुख्खले जीविका गर्दा पनि अत्यन्तै खुसी अनुहारका पहाडी मान्छेहरू, यताउता खेलिरहेका साना केटाकेटी, चरिरहेका गाईवस्तु अनि आउँदै जाँदै गरेका देशीविदेशी पर्यटकहरू बाटोभरि भेटिइरहन्छन्। घरबारीमा लटरम्मै फलेका स्कुसलगायतका तरकारी अनि आँगनमा ढकमक्कै फुलेका सयपत्रीले तिहार डाकिरहेका हुन्छन्।
२ घण्टा जति यस्तै यस्तै दृश्यमा रमाउँदै हिँड्दा खाजा खाने ठाउँ च्याक्सेडाँडा पुगेको पत्तै हुँदैन। त्यहाँको विद्यालयको चौरमा विदेशी पर्यटकहरूका लागि खानपिनको व्यवस्थापनमा जुटेका सहयोगीहरू पनि देखिन सक्छन्। वृद्ध विदेशी पर्यटकहरू भने 'वाउ, ह्वाट ए वन्डरफुल वेदरु भन्दै रमाइरहेका अनि यताउता फोटो खिचिरहेका हुन्छन्।
खाना खाने बेलामा २१६० मिटर उचाइको टाशीगाउँ पुगिन्छ। गाइडले अघिबाट सम्पर्क गरेको अवस्थामा खाना खान खासै कुर्नुपर्दैन। उकालो बढ्दै जाँदा हिँड्न गाह्रो हुँदै जानु स्वाभाविक हो, तर नयाँ नयाँ मनमोहक भूगोल, झन् निलो र गहिरो हुँदै गरेको आकाश, बाटो छेउका घरमा बिस्कुन सुकाइरहेका महिला, क्यारामबोर्ड खेलिरहेका युवा, कोदो टिपिरहेका, घाँस दाउरा गर्दै गरेका गाउँले, चरिरहेका गाईवस्तु र भेँडाका बथान, तन्नेरी र अधवैंशे नेपाली पर्यटक, वयोवृद्ध विदेशी पर्यटक, रमिते केटाकेटी अनि चिसोपनको मिठासले थकाइ लागेको पनि कम नै महसुस हुन्छ।
टाशीगाउँबाट बस्तीहरू पातलिँदै जान्छन्। बाटोमा डाडाँखर्कमा आराम गर्न र खाजापानी खान सकिन्छ। त्यसपछि आरामसाथ बास बस्न ३५०० मिटर उचाइको खोङ्मा पुगिन्छ। यो दिन १० घण्टा जतिको सहज हिँडाइ हुन्छ। बासको राम्रो प्रबन्ध छ।
खोङ्माबाट हिँडेको दिन भने अझ उचाइ चढ्नु पर्ने भएकाले केही गाह्रो हुन सक्छ, थप रोमाञ्चक पनि हुन्छ। यहाँबाट अगाडि बस्ती छैनन्, मोबाइल पनि चल्दैन। केही पर्यटकले स्याटलाइट फोन चलाउँछन् भने होटलवालाहरूले सोलारमा चार्ज गरेर वाकीटकी चलाउँछन्। आपतकालीन उद्धार गर्न, हेली बोलाउन वाकीटकी सञ्चारले खुब मद्दत गर्दो रैछ।
अत्यन्तै मोटा र अग्ला धुपी, कवासे लगायतका रूखहरू, अनि बाह्रै मास ओसिलो हुनाले ती रूखमा पलाएका काला अनि बाक्ला झ्याउ, बाटोमा झरेका सुनौला पात, लडेका रूखहरूमा पलाएका नयाँ रूख, झ्याउ तथा लहराहरूले बनाएका अनौठा आकृतिहरू, तिखो न्यानो घाम, बेलाबखतमा कताकताबाट झ्याप्पै आइपुग्ने बादल र बर्सिहाल्ने पानीले यात्रामा रोमाञ्चकता थप्छन्। त्यसैदिन ३८०० मिटरको उचाइमा रहेका साना पोखरी, ठूला पोखरी अनि ४२०० मिटरको सेप्तुङ्ला पासको यात्रा गर्दा हिँउमै हिँड्नुपर्ने, हिँउ पर्दापर्दै हिँड्नुपर्ने, गाइड नभएमा बाटो अल्मलिने, हिउँमा चिप्लेर तलै पुगिने डर आदिको अनुभव गर्न सकिन्छ। हिउँसँग साक्षात्कार नगरेकाहरूलाई यो अत्यन्त रमाइलो हुन सक्छ। चारैतिर चट्टानले ढाकेर तलपट्टि ताल बनेका साना र ठूला पोखरी मनमोहक त छन् नै, धार्मिक महत्वका पनि छन्।
भक्तजनहरूले आस्थाअनुसार फूलपाती भेटी चढाउँछन्, परपरसम्म छरिएका नगद भेटी देखिन्छन्। पोखरीका छेउछेउमा हिउँका ढिक्का जमेका छन्, पानी कठ्याङ्ग्रिँदो चिसो। मौसम सफा हुँदा वारपारै देखिने यी पोखरीलाई घरिघरि हिउँ पर्ने बादलले स्वाट्टै ढाकिदिन्छन्। सेप्तुङ्ला पासमै होटल चलाएर बसेका सेदुवा माने गाउँका हेमन्त विष्ट शिवधाराको प्रसिद्ध साङ्ले बाटो बनाउने टोलीमध्येका एक हुन्। ताजा हिउँ खेल्दै उनीसँग साङ्ले बाटो बनाउँदाको अनुभव सुन्दा जिरिङ्गै हुन्छ अनि उनको समूहको साहसलाई साधुवाद दिन मन लाग्छ।
ठूलो पोखरीबाट छोटो उकालो अनि एकछिनको ओरालो हिँडाइमा ३५०० मिटर उचाइको दोबाटे पुगेर बास बसिन्छ। यो दिनको हिँडाइ पनि ९/१० घण्टा जतिकै तर सहज हुन्छ। ५०/६० जना जति बस्न सकिने होटलमा पाहुना बढी भए डाइनिङमा, भुइँमा, भान्सामा जताततै ओछ्यान लगाएर पल्टिन्छन् पाहुनाहरू। शौचालय भने एउटा मात्र हुँदा असहज हुन सक्छ।
भोलिपल्ट बिहान दोबाटेमा तातो चियासँग सातु आदि खाजा खाएर ओरालो लागेपछि बाटोमा विदेशी पर्यटकका भरियाहरू अस्थायी चुलो बनाएर खाजा बनाउँदै गरेका भेटिन सक्छन्। स्पिकरमा रमाइला गीत बजाएर नाच्दै गरेका हुन्छन् कोही। ढुंगा छापेको सिँढी बनाइएको ओरालोको केही अंश ठाडै छ, रिँगटा लाग्ने खालको। ओरालो सकिँदै गर्दा वरूणको बहाव सुन्न थालिन्छ र एकैछिनमा वरूण किनारमा पुगिन्छ पनि।
दुईपट्टि अग्ला डाँडालाई चिरेर बग्दै गरेका वरूणको तीरैतीरको २/३ घण्टा जतिको साँघुरो बाटोमा ठाउँ-ठाउँमा पहिरो गएको हुनाले पाइला मिलाएर सचेत भएर हिँड्नु पर्छ। माथिबाट ढुंगा खस्न सक्छन्, किनाराबाटै हिँड्दा खुट्टा अल्झेर चिप्लिँदा वरूणमै पुगिन सक्छ।
हिमालबाट भर्खरै झरेका वरूण अत्यन्तै सङ्ला छन् र बाख्राको पाठोझैं बुरूक बुरूक गर्दै, ढुंगाहरूमा उफ्रिँदै, बाटो हिँड्नेलाई चिसो पानी छिट्टाले जिस्क्याउँदै ओरालोतिर भाग्छन्। टाकुरातिरबाट झर्ने असंख्य ढुंगाहरूलाई आफूसँगै हुत्याउँछन् र कुनै किनारामा छाडिदिन्छन्। कतैकतै बीचमा अडिएका ठूला चट्टानको पछिल्तिरबाट ठोक्किएर माथिसम्म उछालिएर फेरि तल झर्छन् जलनृत्य देखाउँदै, कतैकतै ढुंगाको बीच भाग अग्लो हुनाले छेउतिरबाट अँगालो हालेर बग्छन्, मानौं ती ढुंगा शिवलिङ्ग हुन् र वरूणले तिनलाई निरन्तर नुहाइरहेका छन्।
अलिक अगाडि पुगेपछि वरूण तीरबाटै प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल शिवधारा र पार्वती गुफाको दर्शन पाइन्छ, सुदूर हिमाली डाँडाको शीरमा। भोलि त्यहाँ पुगिन्छ र कसरी पुगिएलाको कौतुहलता अनि हल्का सन्त्राससँगै फेमाताङ पुगिन्छ। फेमाताङमा खाना खाइवरि काठको पुलबाट वरूण तरेर २ घण्टा जतिको लगभग तेर्सै सहज बाटोबाट याङ्लेखर्क पुगिन्छ। यो दिनको हिँडाइ छोटो र आरामदायी पनि हुन्छ।
वरूणको किनार, अत्यन्तै अग्ला हिमाली डाँडाहरूबाट घेरिएको ३६०० मिटर उचाइमा अवस्थित याङ्लेखर्क फाँटिलो छ। डाँडाका टुप्पाहरूले हिउँको टोपी लगाएका छन्, पग्लिएको हिउँ पहाड खोतलेर वरूणमा झर्दैछ। पग्लिएको हिउँसँगै घरिघरि ढुंगा पनि झर्छन् र बगरतिर बज्रिन्छन्। नदीछेउ असाध्यै फराकिलो बगर, बगरभरि साना ठूला ढुंगा अनि छेउछाउमा अग्ला होचा बुट्यानको जंगल, अनि हरियो चौर। फाँटमै एउटा पुरानो गुम्बा छ। गुम्बा अघिल्तिर एउटा अग्लो खाँबोबाट चारैतिर होचा होचा खाँबासम्म डोरी बाँधेर लुङ्दर टाँगिएका छन्। चिसो सिरेटोले लुङ्दरहरूलाई स्थिर हुनै दिँदैन। अलिक मास्तिर नयाँ गुम्बा बनेको छ। छेउछाउ २/३ वटा होटलहरू छन्।
वातावरण असाध्यै चिसो हुन्छ, हिमाली सिरेटो चलिरहन्छ, कुनै पनि बेला बादल लागेर सिमसिम हिउँ बर्सिन सक्छ। त्यसैले धेरैबेर बाहिर बस्नु उपयुक्त हुँदैन। लेक लाग्ने सम्भावना हुने भएकाले न्यानोमा बसेर तातोपानी पिइराख्नु लाभदायक हुन्छ। १५० जना जति बास बस्न सकिने सहजता छ याङ्लेमा। विभिन्न ठाउँबाट आएका भिन्नभिन्न उमेरका घुमन्ते भेटिन्छन्, कोही व्यावहारिक गफ गर्दै, कोही विगतका अनुभव सुनाउँदै, कोही उफ्रिँदै, नाच्दै, कोही एकनासले प्रकृतिको सुन्दरतामा डुबिरहेका। विशेषगरी विदेशीहरू भने वृद्धावस्थाका भेटिन्छन्। उनीहरू भरिया, गाइडहरू लिएर अत्यन्तै सहजताका साथ सुस्तरी हिँडिरहेका वा थकाइ मारिरहेका भेटिन्छन् बाटाभरि। उनीहरूका नेपाली भरिया, गाइडहरू भने रमाइरहेका, नाचगान गरिरहेका भेटिन्छन्। नेपाली त हुन्, थाप्लोमा जत्ति भारी भए पनि रमाउन कहाँ छाड्छन् र? विदेशी पनि नेपालीसँगै रमाउँछन्, अर्कै संसारमा पुगेको महसुस गर्छन् सबैले।
भोलिपल्ट बिहान सखारै शिवधाराको यात्रा सुरू गर्नुपर्छ। ढिला गर्दा माथिको मौसम बिग्री जाने भएकाले बिहान सबेरै हिँड्नुपर्छ। शिवधारा जाँदा अनुभवी गाइड साथमा हुनु एकदमै जरूरी छ। एक्लै हिँडेकाहरू बाटो बिराएर, हराएर पुग्दै नपुगी फर्केका भेटिन्छन्। बिहानीको तुसारोले ढपक्कै ढाकेको भुइँ अनि रूखहरू, भर्खरै झुल्कँदै गरेका घामका किरणले सुनौला बनाएका हिम टाकुराहरू हेर्दै, घरिघरि निख्खर नीलो आकाशै नजिकको शिवधारातिर हेर्दै, विभिन्न कल्पनामा डुब्दै याङ्लेबाट थोरै अगाडि बढेपछि मकालु बेसक्याम्प र शिवधारा जाने बाटो छुट्टिन्छन्। अलिक अघि बढेपछि वरूण नदीको काठेपुल तरेर नेहा खर्क पुगिन्छ। लगाएका लुगा, लेक लाग्दा उपयोगी हुने लसुन, अदुवा, भुटेका मकै, उकालोमा मुख सुक्दा खान मिश्री आदि र गोजीमै अट्ने खाजाबाहेक सबैथोक त्यहाँको पाटीमै छाडेर उकालो लाग्नुपर्छ। त्यो अजंगको हिमाल हेर्दा 'पुगिएला त?' भनेर आफूले आफैंलाई सोधिन्छ। अत्यन्तै कठिन महसुस भैरहेको हुन्छ, र उत्साह पनि उत्तिकै हुन्छ।
ठाडै उकालो भएकाले बाटो असाध्यै कठिन छ, तर रोमाञ्चक पनि छ। दुई खुट्टा, हात र लौरो सबै उपयोग गर्नुपर्छ। ठाउँठाउँ बडेमानका ढुंगाको काँपबाट हिँड्नुपर्ने, ढुंगामै टेक्ने, ढुंगामै समाउने, कतै पाइला मात्र अट्ने भिर, २/३ ठाउँमा चट्टानमै फलामका किला ठोकेर फलामकै साङ्लो बाँधेर बनाइएका बाटो, कतैकतै चिप्लो हिउँमै हिँड्नु पर्ने, चट्टानमा बज्रिरहेका हिमाली जलका छिट्टासँगै जतनसाथ हिँड्नुपर्ने बाटो अत्यन्तै अप्ठ्यारा लाग्न सक्छन्। सास बढ्दै गएको हुन्छ, अत्यन्त सुस्तरी हिँड्नुपर्छ। गाइडहरू अत्यन्तै सहयोगी हुन्छन्, समाउँदै, तान्दै लैजान्छन्।
उकालो चढ्न थालेको लगभग ३ घण्टाको सुस्त अनि कठिन हिँडाइपछि ४३०० मिटर उचाइको शिवधारा पुगिन्छ। यहाँ पुगेपछि सम्पूर्ण थकान कता हराउँछ कता! अजङ्गको ओडार, ओडारको शीरको बीचतिरबाट ठाडै जमिनतिर झरेको ठूलो मुस्लो पानी हेर्दा साक्षात शिवजीको जटाबाट गंगाजी झरेजस्तो कल्पना हुन्छ। पानी झरेको आवाज मोहक छ। सिर्र चलिरहने हावाले पानीलाई घरि यता, घरि उता हुत्याउँछन्। घामका किरण पानीसँग ठोक्किँदा घरि तल, घरि माथि पानी बीचमै इन्द्रेणी बनिरहन्छन्। पानी अत्यन्त चिसो हुन्छ, तर पनि मान्छेहरू नुहाउँछन्, धार्मिक स्थलमा नुहाउनु पर्ने भएर पनि होला। ओडारभित्र आस्थाअनुसार पूजा गरिन्छ, त्रिशूल चढाइन्छ, रूद्राक्षका माला पहिर्याइन्छ, भेटी राखेर ढोगिन्छ।
कागजका र धातुका भेटीहरू राख्ने बाकस त छ, तर भेटी यत्रतत्र छरिएका हुन्छन्। यताउता लुङ्दरहरू टाँगिएका छन्। यहाँबाट चारैतिरका डाँडाहरू लगभग समानान्तर देखिन्छन्, डाँडाका टुप्पामा रहेका बाक्ला हिउँमा कतै बादलले छेक्ने र कतै घाम पर्ने दृश्य अलौकिक छन्। तलका सबै ठूला चिजहरू साना साना देखिन्छन्। वरूण नदी बाङ्गोटिङ्गो पारेर लमतन्न पसारिएको मोटो डोरीजस्तै देखिन्छन्, फराकिला फाँट साना चौरीजस्ता देखिन्छन्। पर्यटन प्रयोजनले याङ्ले धारातिर उडेका हेलिकप्टरहरू साना साना ड्रोन खेलौनाजस्ता देखिन्छन्। ती एकैछिनमा वरूणको धार पछ्याउँदै हिमालका बीचमा ओझेल पनि परिहाल्छन्। यहाँ पुग्दा पूर्णतः अलौकिक महसुस हुन्छ। एकाग्रता, भाव शून्यता आएजस्तै, उच्च आध्यात्मिक चेत भरिएको महसुस हुन्छ। यो सब महसुस सम्भवतः वर्णनीय छैन।
तर धेरै ढिला गर्न हुन्न। मौसम तत्कालै बिग्रेर हिउँ पर्न सक्छ, हिउँ परेपछि बाटो झनै दुस्कर हुन्छ।
शिवधाराबाट पार्वती गुफातिर जाने बाटो पनि कठिन नै छ। तल जमिनबाट झण्डै ६०० मिटर माथिको भिरबाट तल हेर्दा जिउ सिरिङ्ग हुन्छ। चट्टान कोपरेर फलामका बार लगाएर बनाएको पदमार्ग सहज छैन, रोमाञ्चक भने पर्याप्त छ। आफूभन्दा मुनिमुनि बादल उड्छन्। शिवधारा र पार्वती गुफाको बीचतिर गणेशजीको आकृति बनेको ठाउँ छ, त्यहाँ पनि मानिसहरू आस्थाअनुसारको ढोगभेट गर्छन्। त्यहाँ बनिएको प्राकृतिक संरचनामा एकातिरबाट हात छिराएर अर्कोतिरबाट निकाल्न सक्ने मान्छे धर्मात्मा हुन्छन् रे।
साँघुरो, लामो पार्वती गुफाभित्र छिर्न चार हातपाउ टेक्नुपर्छ। त्यहीँभित्र पूजा हुन्छ। चारैतिर टाँगिएका लुङ्दरहरू चिसो बतासले हल्लिइराखेका हुन्छन्। गुफाको छेउमा पकाउने भाँडाकुँडा, ढुंगाको चुलो छन् भोकाएका तीर्थारूहरूले पकाएर खानलाई। धुपीका झिक्राहरू बाल्न मिल्छ।
पार्वती गुफाभन्दा केही पर शेर्पा भाषामा आमा भुजुङ भन्ने धार्मिकस्थल छ। सन्तान प्राप्तिको कामना गर्न मान्छेहरू त्यहाँ पुग्छन् रे।
कठ्याङ्ग्रिदो चिसो, दिउँसो हुँदै गएपछि बतासको बेग बढ्ने, बाक्लो बादल लागेर हिउँ छिट्याइरहने, सास फेर्न कठिनाइ आदिले हतार-हतारमै फर्किन थालिहाल्नु पर्छ। भिरैभिरको ओरालो झर्दा झन् सचेत हुनुपर्छ। २ घण्टा जतिको हिँडाइमा नेहाखर्क आइपुगिन्छ। दिउँसो सबेरै याङ्लेखर्क फर्किहालिने भएकाले त्यो दिन आगो ताप्दै रमाइलो गर्न सकिन्छ। त्यो मौसम, त्यो माहोल, सञ्चार साधन नचल्दाको शान्ति, आफूसँग गर्न सकिने आध्यात्मिक साक्षात्कार फेरि कहिले पाइने हो भनेर पनि त्यो दिन त्यहीँ बस्नु उपयुक्त हुन्छ। कतिपय भने डेढ दिन जति लाग्ने मकालु बेसक्याम्पतिर जान्छन्।
फर्कंदा बढी जसो ओरालो हुने र फोटो भिडिओ पोस्ट गर्ने, घर-परिवारमा सम्पर्क गर्ने आदि हतारोले होला, केही चाँडै नै नुम आइपुगिन्छ।
अँ, पदयात्रामा प्लास्टिकजन्य र अन्य फोहोर गर्नु हुँदैन, वन्यजन्तुलाई जिस्क्याउन हुँदैन, गाउँले र अन्य पदयात्रीहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्छ भन्ने सन्देशहरू ठाउँ-ठाउँमा लेखिएका छन्, तपाईं हामीलाई सम्झाइ राख्नलाई।
गाइड अनि भरिया लिएर जाँदा उनीहरूले ठाउँ र मान्छे चिनिराख्ने हुनाले बास र खानाको प्रबन्ध गरेर, ठाउँ-ठाउँका बारेमा कथाकुथुङ्ग्रीहरू सुनाएर, भारी बोक्न मद्दत गरेर यात्रा रमाइलो अनि सहज बनाउन मद्दत गर्छन्।
चाडवाड शुभ होस्!
लाग्ने समय (खाँदबारीदेखि फर्कंदासम्म) : ७ दिन
खर्चः १५ देखि २०,०००.००
गाइड/भरियाः प्रतिदिन १५००.००
बोक्ने सामानः न्याना छरिता २ जोर लुगा, प्लास्टिकको हल्का रेनकोट, हलुका छाता, ड्राइ फुड्स, टर्च लाइट, थर्मस, लसुन, अदुवा, मिश्री, चकलेट, प्राथमिक उपचारका थोरै सामान, सिटामोलजस्ता सामान्य औषधी, मूभ आदि।