काठमाडौंमा ट्याक्सी चालकले उपत्यका भित्रको निश्चित गन्तव्यसम्म यात्रा गराउन यात्रुसँग विनम्रतापूर्वक आफ्नो ट्याक्सीमा चढ्न अनुरोध गर्छन्। उनीहरू मूल्यमा थोरै बार्गेनिङ गर्न पनि तयार हुन्छन्।
विमानस्थलको ‘एक्जिट गेट’ पार गर्दा होस्, बसपार्कमा बसबाट झर्दा होस् वा ट्याक्सी स्टेसनमा पुग्दा होस् क्षमताले भ्याएसम्म ट्याक्सी चालकको अनुरोध नकार्न सकिँदैन। ट्याक्सी नचल्ने सुर्खेतजस्ता सहर–बजारमा अटो रिक्सा चालकको पनि सुरूमा यस्तै विनम्रता हुन्छ। हामीलाई मूल्य/भाडामा चित्त बुझे तिनै सवारीसाधन प्रयोग गर्छौं।
रारामा न ट्याक्सी चल्छन्, न त अटो रिक्सा नै। निजी, भाडामा लिइएका वा सार्वजनिक सवारी साधनमा रारा पुगेका पर्यटकहरूलाई त्यस आसपासको क्षेत्रमा यात्रा गराउने भनेका त्यहाँका ‘घोडा चालक’ हुन्।
उनीहरू पनि ट्याक्सी र अटो रिक्सा चालकजस्तै विनम्र भएर प्रस्तुत हुन्छन्।
उनीहरू व्यक्तिगत बार्गेनिङ गर्न भने हिच्किचाउँछन्। मूल्यमा बार्गेनिङ गर्नुपरे उनीहरू समूहमै गर्छन्।
रारा छेउमा रहेको सल्लेरीको होटलमा हामीले सुत्नुअघि केही समय आगो ताप्यौं। अब सुत्ने बेला पनि हुँदै थियो। उसो त सुत्ने समय भनेको हामी त्यहाँ पुग्नुभन्दा अघि नै हो। हामी पानीले चिप्लो बनाएको जुम्ला–भुलभुले सडकको एउटा खण्ड पार गर्न धेरै समय लागेपछि सल्लेरी पुग्दा साढे ११ बजिसकेको थियो।
केहीबेर आगो तापेर राइडर र आयोजकहरू सुत्न गए।
म र रमेश दाइ केही समय अझै आगो ताप्ने भयौं, थकाइ मेटाउन मदिरा पनि पिउने भयौं। धेरै भोक लागेकाले मैले सुरूमै खाना खाएको थिएँ। खाना खाएपछि मलाई मदिरा पिउने इच्छा भएन। रमेश दाइले खाना खानुअघि सुरू गरिसक्नुभएको थियो। हामीले गफ गर्दै चुलोनजिक केही घण्टा बितायौं। त्यसबेलासम्म रातिको साढे १ बजिसकेको थियो।
जब हामी सुत्न भनेर गयौं, तब थाहा भयो त्यो होटलमा हाम्रो टोलीलाई सुत्न मिल्ने पर्याप्त ठाउँ थिएन। हाम्रो २१ जनाको समूहका लागि चार वटा कोठा बुक गरिएको रहेछ। काठले बनेका ती संरचनामध्ये एउटा कोठामा ३ वटा मुस्किलले अटाएका खाट थिए। त्यो कोठामा पहिल्यै गएर आयोजक र गाडी चालकको समूह सुतिसकेको थियो। अरू तीन वटा कोठामा करिब दुई वर्गमिटरसम्म वल्लो–पल्लो भित्तासम्म जोडिएका खाट रहेछन्। ती कोठालाई होटल मालिकले हल भन्थे।
तीन वटामध्ये पनि एउटा कोठामा राइडरमध्ये एउटा पारिवारिक समूह भएकोले तीन जनाले ओगटिसकेका थिए। त्यो कोठा हामीले सेयर गर्न मिल्ने थिए। बाँकी रहेको दुइटा कोठामा हामी १४ जना राइडर सुत्नुपर्ने थियो।
हामीले सुरूमा खोलेको कोठामा ६ जना राइडरहरू मुस्किलले अटाएर सुतेका थिए। अर्को कोठामा पनि ६ जनै थिए। तर हामी दुई जना मिलाएर पल्टिन सक्ने अवस्था भने थियो।
थाकेका राइडरहरूले हामी गएको र उनीहरूलाई सारेर हामी बीचमा पल्टिएको पत्तै पाएनन्।
हामी सुतेको कोठामा एकातर्फ कोल्टिएर सुतेपछि अर्कोतर्फ पल्टिनेसम्म अवस्था थिएन।
रमेश दाइ केही समयमै निदाउनुभयो। म भने थकाइ मेट्नमात्र पल्टिएकोजस्तो भएको थियो। साढे ४ बजेसम्म म निदाएको थिइनँ। त्यसपछि निदाएछु, तर साढे पाँच बजे नै निद्रा ब्युँझिएँ।
हामी अबेरसम्म सुते पनि हुने थियो। तर वातावरण थिएन। कोठाबाट निस्किएर मैले भुलभुलेको मोडमा जुत्तामा लागेको मोजा भिजाएर पुछेँ। कपडामा लागेको हिलो पनि सफा गरेँ। मभन्दा केही मिनेट अघि राइडर राजीव पनि उठिसकेका रहेछन्। उनले धारामा गएर आफ्नो रेनकोट र जुत्ता धोए। मोटरसाइकलमा जमेको हिलो पनि पाइप उठाएर पखाले।
हामी पुग्दा रारा छेउ सल्लेरीमा गाडीमात्र थिए। भोलिपल्ट बिहानै गाडीभन्दा धेरै घोडा थिए। सबै राइडर र आयोजक समूह उठेर होटल बाहिर निस्कँदासम्म लगभग ९ बजिसकेको थियो। राराका घोडा चालक हामीलाई नै कुरिरहेका थिए। उनीहरूले दुइटा कारण हामीसँग ठूलो अपेक्षा गरेका रहेछन्।
पहिलो त हाम्रो समूह नै २१ जनाको थियो। दोस्रो हामी मुर्माटप जाने योजनामा थियौं। हामी सबै योजनाअनुसार अघि बढेको भए २१ जना घोडा चालकले दिनभरको काम पाउँथे। मसँगै केही घोडा चालकले बारम्बार सोधिरहेका थिए– तपाईंहरू कतिबेला मुर्माटप जाने भनेर। घोडामा सल्लेरीबाट मुर्माट जान मात्र २ हजार ५ सय रुपैयाँ शुल्क रहेछ। यदि फर्किने पनि भए ४ हजार लाग्ने रहेछ। जाने र फर्किने भए उनीहरू रिर्जभमै जाने रहेछन्।
मैले आफूसँग सोध्न आउने घोडा चालकहरूलाई समूहमा सल्लाह गर्नुपर्छ भनेको थिएँ। समूहमा कुरा भएपछि भने आयोजकले मुर्माटप नजाने निधो गर्यो। राइडरहरू आफ्नो इच्छाअनुसार जान खोजे भने कसैले रोक्ने थिएन। हामी त्यो दिन रारा ताल भ्रमण गरेर ताल पारि सैनिक क्याम्प नजिकको डाँफे होटलमा बस्ने भयौं। किनभने त्यहाँ जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पनि त्यही दिन समापन हुनेवाला थियो।
सल्लेरीबाट रारा तालसम्म पुग्न हिँडेर आधा घण्टा लाग्छ। घोडा चालक आ–आफ्ना घोडा ल्याएर हाम्रो छेउमै उभिएका थिए। कतिपयले आफ्नो घोडाको बयान गर्दै थिए।
एक जनाले भन्दै थिए– यो त यहाँको घोडामध्येको राजा हो, अग्लो चिटिक्क परेको ह्याण्सम छ। एक जना सर यसमा चढ्नुस्।
राराका घोडा चालकहरूमध्येमा दुई जना बालिका बसन्ती कार्की र कल्पना रावत पनि थिइन्।
उमेरले १६ पुग्न लागेका उनीहरू स्कुल बिदा भएको समयमा राराका पर्यटकलाई घोडसवार गराउने रहेछन्।
उमेरले १४ वर्ष नपुगेका नरेन्द्र भाम र सिमुन रावत पनि त्यही समूहमा थिए। अरू बालबालिका पनि थिए। सबैको नाम सोध्न भ्याइएन। केही त आफ्नो अभिभावकसँग सिक्न पनि आएका होलान्।
बसन्तीले राष्ट्रिय खेलकुद परिषदका इञ्जिनियर माधव सरलाई आफ्नो घोडामा जान आग्रह गर्दै थिइन्।
माधव सरले बसन्ती र उनको घोडालाई एकै वाक्यमा ‘बसन्तीको वायुपंखी घोडा’ भन्नुभयो।
उहाँ घोडामा बसन्तीकै घोडामा रारा पुग्न तयार हुनुहुन्थ्यो।
आयोजकले गाडीमा अटाउने जति मिलिचौरसम्म जाने भनेपछि माधव सरसहित हामी ६ जना गाडीमा गयौं। अरू राइडरहरू घोडामै गए।
रारा ताल नजिकैको मिलीचौरसम्म सडक बनेको छ। त्यहाँसम्म सवारी साधन लिन भने निकुञ्जको अनुमति लिनुपर्छ। म २०७५ मा त्यहाँ पुग्दा भने सल्लेरीमा निकुञ्जको कार्यालय थिएन। हामीले अनुमति नलिएरै मिलिचौरसम्म गाडी लिएर पुगेका थियौं।
मिलिचौरमा लामबद्ध भएर चरिरहेका भेडाका बथानले पनि पर्यटकलाई मनमोहक बनाउने रहेछ। हामीले भेडाका बथानका तस्बिर खिच्यौं।
अरू पर्यटकले पनि खिच्दै थिए। मिलिचौरबाट १० मिनेट हिँड्यो भने राराको वल्लो छेउ पुगिन्छ।
हामी गाडीबाट झरेर हिँड्ने तरखरमै थियौं। घोडा चालक नरेन्द्र र सिमुन सवारी नलिएर मिलिचौर पुगे।
हाम्रो नजिकै ल्याएर रोकेर भने– यहाँबाट दुई जना सरहरू तालसम्म जाऔं न, तीन सय रुपैयाँ दिनुहोला।
सल्लेरीबाट रारा तालसम्मको शुल्क पाँच सय रुपैयाँ थियो।
सवारी नपाएर रित्तै आएका देखेपछि म र सौगातविक्रम शाह दाइ घोडा चढेर तालसम्म जाने भयौं।
सौगात दाइ साहसिक खेलसँग सम्बद्ध हुनुहुन्छ।
उहाँ हाम्रो आयोजकसँगै रारा पुग्नुभएको थियो। त्यहाँबाट माधव सर, आयोजक मानराज सिमखडा सर र रमेश दाइ हिँडेर जानु हुने भयो। गाडीका चालकले भने गाडी फर्काएर सल्लेरी राखेर फेरि घोडामा आउनुपर्ने थियो।
मैले १०–१२ वर्षअघि आफैंले घोडा चलाएको छु। घरको सानो घोडालाई ठूलो हुञ्जेल मान्छे बोकेर हिँड्ने बानी समेत आफैंले पारेको थिएँ। त्यो अनुभवले म घोडामा डराउँछु जस्तो लागेको थिएन। तर लामो समयपछि भएर होला म चढेको घोडा हिँड्न थालेपछि मलाई डर लाग्न थाल्यो। सौगात दाइ पनि डराउनुभयो होला सायद।
नरेन्द्र र सिमुनले घोडाहरूलाई ठाडो ओरालो भएको छोटो बाटोमा हिँडाले। घोडाको चालमा ओरालोमा हिँड्दा मानिस खस्न पनि सक्छन्। मलाई घोडा ओरालोमा हिँड्दा पछाडि र उकालो हिँड्दा अगाडि ढल्किनुपर्छ भन्ने थाहा थियो। सौगात दाइलाई पनि भनेँ। नरेन्द्र र सिमुनले पनि मैले भनेपछि त्यसै गर्नुपर्छ भने।
१५ मिनेट जति घोडामा जाँदा सिमुन र नरेन्द्रसँग कुरा भयो। हाम्रो फोटो खिच्न मैले क्यामरा निकालेँ।
तर घोडाबाट खस्ने डरले मैले फोटो चाहिँ खिच्न सकिनँ। नरेन्द्रले डिएसएलआर क्यामेरा चलाउन पनि जानेका रहेछन्। उनले आफूलाई क्यामेरा दिन भनें। मैले सुरूमा दिन मानिनँ। आफूले अरू पर्यटकको क्यामेराबाट फोटो खिचेको बताए। त्यसपछि मैले उनलाई धेरै तस्विर खिच्नु भनेर क्यामेरा दिएँ। उनले घोडा डोराउन छोडेर क्यामरामा फोटोहरू खिचे।
नरेन्द्र र सिमुनको घर छायानाथ रारा नगरपालिकाको झ्यारी गाउँका रहेछन्। अघिल्लो बर्खामा आएको खोलाले उनीहरूको घरजग्गा बगाइदिएको रहेछ। अहिले उनीहरूको परिवार गाउँभन्दा तलको खाली ठाउँमा त्रिपालमुनि बसिरहेका छन्।
घोडा चलाएर भएको आम्दानीबाट परिवारको खर्च चलाउने र केही जम्मा गरेर घर बनाउने योजना बनाएको उनले सुनाए। उनीहरूले घोडा चलाउन थालेको ३ वर्ष भएछ।
आफूले राराको सिजनमा मासिक ५० हजार रुपैयाँसम्म घोडसवार गराएर कमाउने गरेको नरेन्द्रले सुनाए।
‘स्कुल बन्द हुनेबेला नै यहाँको सिजन चल्छ, बिहानै घोडा लिएर आउँछौं,’ नरेन्द्रले भने, ‘कुनै दिन त खाली पनि जानुपर्छ, जे होस् मासिक ५० हजार रुपैयाँ कमाइ हुन्छ।’
कहिलेकाहीँ दिनमै ५ हजारसम्म कमाएर घर फर्किने गरेको पनि उनले सुनाए।
उनका साथी सिमुनले पनि त्यसैमा समर्थन जनाए।
ताल नजिकको चौरमा पनि हामीले केहीबेर नरेन्द्रलाई नै फोटो खिच्न लगायौं।
मैले नरेन्द्र र सिमनुसँग मौखिक रूपमा उनीहरूको तस्वीर प्रकाशन गर्न अनुमति लिएँ।
मैले नरेन्द्रको फोन नम्बर लिएँ र फर्किंदा फोन गर्नेगरि छुट्टियौं। उनीहरु तालबाट फर्किने पर्यटकलाई पर्खिएर केहीबेर त्यतै बसे। जे होस् घोडा चढ्ने मनस्थिति नबनाए पनि ती दुई जना घोडा चालक बालकसँगको भेटले छोटो दूरी भए पनि घोडसवार गर्ने उत्सुकता मलाई जागेको हो।
रारा तालमा अरू राइडरहरू पनि हामी सँगसँगै पुगेका थिए। उनीहरू आ–आफ्नो फोटो खिच्न व्यस्त भए। रमेश दाइ, सौगात दाइ, राजीव, सुजन र दिपेशको दुई–तीन वटा फोटोहरू मैले पनि खिचिदिएँ।
म तालको फोटोहरु खिच्न अभ्यस्त थिएँ। तर राराबाट तालको पूरा तस्बिर भने लिन सकिँदैन।
हामीले त्यही भएर मुर्माटप जाने योजना बनाएका थियौं। त्यहाँबाट सुन्दर रारा तालको पूर्ण तस्बिर क्यामेरामा कैद गर्न मिल्छ रे। हामीसँगका राइडर अखिल भने भोलिपल्ट भए पनि मुर्माटप जाने अडानमा थिए।
सुर्खेत–रारा राइडिङको दोस्रो दिन जुम्लाका खालीचौरमा दु:ख बिर्सिएका राइडरहरूले रारा पुगेपछि पनि केही समयलाई दु:ख बिर्सिएका थिए।
रमेश दाइले आफूले दु:ख बिर्सिएर आनन्द लिएको सुनाउनुभयो, जसरी खालीचौरमा दिपेशले सुनाएका थिए। त्यसैले पनि रारालाई ‘स्वर्गकी अप्सरा’ भनिएको होला। बेलाबेला पानीको रंग फेर्ने रारा साँच्चिकै मनमोहक छ।
हामीले रारामा केहीबेर फोटो सेसन गरेपछि पारिपट्टिको डाँफे होटलमा जान थाल्यौं। हामीलाई त्यहाँसम्म लैजान घोडाचालक तम्तयार थिए। तर हामीलाई आयोजकले डुंगामा लैजाने भए। हामी जम्बो टोली दुइटा बोटमा चढ्यौं। बोट भने तालमा चलाउनेवाला थिएनन्। नदीमा र्याफ्टिङ गर्ने बोटलाई त्यहाँ चलाइएको रहेछ। छेउबाट पानी छिरेर हाम्रा जुत्ता भिजेका थिए।
माधव सरलाई घोडसवार हुन अनुरोध गरेकी बसन्तीले हामी चढेको बोट चलाउन सहयोग गर्ने भइन्।
नरेन्द्रले क्यामेरा चलाउन सिकेजस्तै बसन्तीले पनि बोट चलाउन सिकेकी थिइन्। हामी पौने घण्टा लगाएर बोटमार्फत् ताल पार गरेर होटलमा पुग्यौं।
होटल अघिल्लो दिनको म्याराथनको टोलीले भरिएको रहेछ। संयोगले त्यो दिने केहीले होटल छोड्दै रहेछन्। हाम्रो २१ जनाको समूहले केही कोठा र टेन्ट पाउने भयो। हामी एक दिन मात्र त्यो होटलमा बस्ने थियौं।
होटलमा पुग्नेबित्तिकै अधिकांश राइडरहरूले खाना खान सुरू गरिसके।
रमेश दाइले हामी पनि खाऔं भन्नुभएको थियो। तर मलाई केही समय आराम गर्न मन थियो। त्यहीबेला होटलको आडैमा भएको बेन्चमा बसेर तीन जना युवतीले खाना खाइरहेका थिए। अल्ट्रा म्याराथनमा सहभागी भएका खेलाडीसँग कुरा गर्ने इच्छा मेरो थियो। मैले उहाँहरूलाई सोधिहालेँ– तपाईंहरू खेलाडी टिम हो। तीमध्येकी सीता न्यौपाने आयोजकका रूपमा गएकी रहिछन्। उनी पनि पहिले म्याराथनमा सहभागी हुन्थिन्। अहिले उनी नेपाल वन समूहमा जागिरे रहिछन्।
सीताले मञ्जु रावतलाई देखाएर भनिन्, ‘उहाँ हो जुम्ला–रारा अल्ट्रा म्याराथनमा प्रथम भएको।’
मैले मञ्जुलाई समय र दूरीबारे सोधेँ।
मञ्जुले ४९ किलोमिटर दूरी ६ घण्टा ६ मिनेटमा पार गरेको बताइन्। जुम्ला–भुलभुले सडक खण्डको उकालोमा मोटरसाइकलले चढाउन झरेपछि मोटरसाइकल पुगेको १५–२० मिटर हिँड्न मलाई सास रोकिएला जस्तो हुन्थ्यो। त्यसरी रारा पुगेको मलाई मञ्जुले हाई अल्टिच्युटमा त्यति लामो दूरी ६ घण्टामा पार गरेको भनेपछि मलाई अचम्म लागेको थियो। त्यसअघि मैले अल्ट्रा म्याराथन धावक कसैसँग प्रत्यक्ष भेटेको पनि थिइनँ। जुम्ला–रारा अल्ट्रा म्याराथनमा पुरूषतर्फ भने त्यही दूरी ४ घण्टा ५४ मिनेटमा दलबहादुर कुँवर प्रथम भएका रहेछन्। उनीसँग भने मेरो भेट भएन।
एकछिनपछि विस्तृतमा कुरा गर्ने भनेर मञ्जुसँग म छुट्टिएँ।
म र रमेश दाई खान खान गयौं। खाना खाइसकेपछि हामीले केही तस्बिरहरू खिच्यौं। होटलबाहिर १० वटा टेन्ट थिए। तीमध्ये पाँच वटा मात्र हाम्रो समूहलाई भनेर होटलले छुट्याएका थिए। त्यहाँ २१ जनाको समूह सुत्नुपरे अघिल्लो रातिकै जस्तो हालत हुनेवाला थियो। म र रमेश दाइमात्र सुत्न मिल्नेगरी एउटा टेन्ट सफा गरिदिन होटललाई आग्रह गर्यौं। होटलवालाले पनि सफा गरिदिए। हामीले झोला राख्यौं।
आयोजकले हामी राइडरहरूलाई प्रमाणपत्र वितरण गर्ने औपचारिक कार्यक्रम राखेका थिए।
हामी करिब २५ मिनेट त्यो कार्यक्रममा सहभागी भयौं। डाँफे होटलमै हिमाली च्याङ्ग्रा किनेर समूहले आफैं विभिन्न आइटम तयार पारेर खाने कुरा थियो। अरू राइडरहरू त्यतातर्फ लागे। अघिल्लो राति सल्लेरीमा जबर्जस्ती एक घण्टामात्र सुत्न पाएकोले मलाई रिंगटा लागिरहेको थियो। म टेन्टमा गएर सुतेँ। रमेश दाइले चार पटकसम्म उठाउने प्रयास गर्नुभयो, तर म टाउको दुखेको बहानामा सुतिरहेँ। करिब चार घण्टा सुतेपछि म उठेर समूहमा गएँ। त्यतिबेलासम्म रात पर्नै लागिसकेको थियो। राइडरहरू मासु पोल्दै, दोहोरी गाउँदै थिए।
राति भइसकेको थियो, खाना पनि पाक्दै थियो। हामीले केही समय क्याम्प फायर गर्यौं। क्याम्प फायरमा राइडर सुजनले मासु पोले। झण्डै डेढ घण्टाको क्याम्प फायरपछि हामीले खाना खायौं। हामीलाई भोलि राराबाट फर्किनु थियो। सल्लेरी पुगेर केही मोटरसाइकलमा हिलो पनि पखाल्नु थियो।
प्राविधिक अरमानलाई हाम्रो ब्रेक गएको मोटरसाइकल बनाउनु थियो, अरू मोटरसाइकलका खोलिएका मडगार्डहरू जोड्नु थियो। भोलि राराबाट फर्किने तर गन्तव्य सुर्खेतसम्मै वा कालीकोटसम्म मात्र भन्ने निश्चित नगरिकनै आ–आफ्नो टेन्ट र कोठामा गएर हामी सुत्यौं।
यी पनि:
भुलभुलेको एउटै मोडमा साढे २ घण्टा यात्रा
राइडरका दु:ख बिर्साएको 'खालीचौर'