कुरो ३ वर्ष अघि २०१९ को हो।
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डब्लुडब्लुएफ नेपालले संयुक्त रूपमा गर्न लागेको हिउँ चितुवाको अध्ययन टोलीमा म पनि अटाउन सफल भएको थिएँ।
म एकदमै उत्साहित थिएँ। हिउँ चितुवाको अध्ययनका लागि फिल्डमा जान लागेको त्यो मेरो दोस्रोचोटि थियो।
दसैंको टीका पछिको केही दिनमै हामी काठमाडौंबाट डोल्पाका लागि प्रस्थान गरेका थियौं।
नेपालगञ्जमा एकदिने अन्तर्क्रिया कार्यक्रमपछि भोलिपल्ट जुम्लातिर लाग्यौं। म काम गर्ने ब्लक जुम्ला हुँदै डोल्पा छिर्नुपर्ने थियो।
म आफू कर्णालीबासी भएता पनि त्यता जाने मौका कहिल्यै पाएको थिइनँ।
मेरा केही अगाडिका पूर्खा जुम्लाबाट सल्यान बसाइ सरी आएका थिए रे भन्दै बाजे अझै पनि सुनाउनुहुन्छ।
आफ्ना पूर्खा जन्मेका ठाउँ जान पाउँदा म निकै नै खुसी थिएँ।
त्यही ब्लकमा काम गर्ने जिम्मा पाएका हामी तीन जना थियौं, पूर्णमान दाइ, अमृत र म।
जुम्ला पुग्नासाथ संसारकै अग्लो स्थानमा फल्ने मार्सी धानबाट कुटाइएको चामलको खाना खायौं अनि बजार घुम्न निस्कियौं।
चिसो ठाउँ, न्याना मान्छेहरू अनि स्याउको बगैंचा, एकदमै रमाइलो लाग्यो।
स्याउ पाक्ने समयमा पुग्न सफल भएका हामी, भाइ प्रनिलले आफ्नै स्याउबारीमा हामीलाई लिएर गएका थिए। सँगसँगै पढेका साथीभाइ भेट्दा झनै आनन्द आयो।
चिया गफमा महेन्द्र दाइ, तेजेन्द्र दाइ, आशुतोष, प्रनिल अनि हामी गफिन थाल्यौं।
भोलिपल्ट आफ्नो गन्तव्य त छँदै नै थियो, गुठीचौर, मौरे लेक हुँदै डोल्पाको काइगाउँ र हुरीकोटतिर।
हुरीकोटमा दुई दिन जति बस्यौं। अध्ययनका लागि चाहिने सरसामान अनि खानेकुराहरू तयार गर्न लाग्यौं।
हामीलाई त्यस ठाउँमा सहयोग गर्ने निकुञ्जका सरहरू, हिउँ चितुवा संरक्षण समितिका साथीहरू र गाउँका स्थानीयहरू सबैसँग चिनजान गर्ने राम्रो मौका पनि पायौं।
आठौँ दिनका दिन हामी माथितिर लाग्न सुरू गर्यौं।
घरमा अबको केही हप्ता फोन नलाग्ने खबर पनि गरेको थियौं, किनकि गाउँभन्दा माथि कुनै किसिमको टावर नटिप्ने हामीले जानकारी पाइसकेका थियौं।
तस्विरः हुरीकोटबाट देखिएको हिमाल
माथि पुगेर काम गर्न सुरु गरिसकेका थियौं। हामी जम्मा १७ जना फिल्डमा गएका थियौं।
त्यस ठाउँलाई जगदुल्ला भनिँदो रहेछ। सुन्दर थियो तर काम गर्न अति नै कठिन।
प्रायःजसो चार हातखुट्टा टेकेर हिँड्नुपर्ने जस्ता ठाउँहरू धेरै नै थिए। बिहान आठै बजे खाना पाक्थ्यो। हामी खाना खाएर काम गथ्र्यौं र साँझ अबेर फर्किन्थ्यौं।
अगाडिका एक दुई दिन त राम्रोसँग निन्द्रा पनि पर्न सकेन, सायद चिसोले होला।
हुरीकोटबाट देखिएको हिमाल
डोल्पा बसाइको १६ औं दिन चलिरहेको थियो। लिङ्चो वारिपट्टी चौरमा टेन्ट गाढेर बसेका थियौं। सबै व्यवस्था पनि राम्रै थियो, खानेपानीबाहेक। पानी लिन पर झरनामा जानुपर्ने, जान मात्र करिब ४५ मिनेटदेखि १ घण्टा लाग्ने बाटो थियो।
हामी साँझतिर पुगेका थियौं। २ जर्किन भरी पानी लिएर साथीहरू आउनुभयो। खाना पकायौं र खायौं राम्रोसँग। अब भाँडा धुन पानी नपुग्ने देखिएपछि सबैले चम्चाले खाना खायौं।
सबैले थाल र चम्चा चाटेर टिलिक्क बनायौं अनि आ–आफ्ना झोलामा हाल्यौं। पानी नहुने ठाउँमा हामी प्रायः त्यसै गर्थ्यौँ । हाम्रा मोबाइल फोनहरू अलिअलि मात्र काम लागेका थिए। फिल्म हेर्न, फोटो खिच्न अनि हरेक रात सुत्नुअघि लुडो खेल्न।
लिङ्चो, सायद त्यो ठाउँ कहिल्यै पनि बिर्सिने छैन । १७ औं दिनमा लिङ्चो पुगेका थियौं। भिरका ती कहालीलाग्दा अनि डरलाग्दा बाटाहरूसँग लगभग बानी बसिसकेको जस्तै महसुस भैरहेको थियो। तर लिङ्चो, फरक थियो। कसैले सोच्न नसक्ने जस्तै फरक।
हामी १७ जना मध्यमा पनि सीमित मात्रै पुगेका रहेछौं। ४, ५ दिन अघिदेखि नै लिङ्चो पार गर्न हामीलाई डोरी चाहिन सक्ने कुराहरू चल्दै थिए एक आपसमा।
हामीसँग खानेकुराहरू पनि घट्दै गैरहेका थिए।
केही साथीहरू खाना ल्याउन र डोरी ल्याउन भनि गाउँ नजिकैको क्याम्पमा गएका थिए, जहाँ हामीले हाम्रा आधाजस्ता खानेकुराहरू लुकाएर आएका थियौं।
बाटो बिनाको त्यो भिर, डोरीले कम्मरमा बाँधेर चढ्नपर्ने ठाउँ कस्तो होला भन्ने कौतुहलता हामी प्रायः धेरैको मनमा थियो। लिङ्चो कस्तो रहेछ भने सबैजना एकैचोटि जान नमिल्ने साघुँरो ठाउँ।
आधा जति वारी बसे, हामी आधा पारी गयौं। तल गहिरो खोंच, त्यसमाथि भोजपत्रका कमला हाँगाहरूले बनाइएको कच्ची पुल, हिँड्न खोज्दा लचकलचक आवाज पनि आउने गर्दथ्यो। त्यसपछि कम्मरमा डोरी बाँधेर उक्लिन तयार भयौं, पालैपालो।
दुई जना अब्बल अनि सिपालु साथीहरू भिरमा टाँसिँदै माथि उक्लिनुभयो र डोरीका सहाराले तान्नुभयो, हामीलाई अनि सामानलाई पालैपालो।
मुटु काँप्दै थियो, ओठ मुख सुकेका पनि थिए, मनहरूमा त्रासदी छाएको थियो।
एउटा सानो डोरीका सहाराले कैयौं रहरहरूलाई अड्याइरहेको थियो। सबै जनामाथि आइपग्दा हामी चिच्याएका थियौं खुसीले, पूरै हिमालभरि सुनिने गरी।
३४ औं दिनका दिन सफलताका साथ काम सकी काठमाडौं आइपुगेका थियौं हामी।
कति दिनसम्मै हामी त्यही बाटाकै कुरा गरिरह्यौं पनि। अचेल पनि डोल्पामा सँगै काम गरेका साथीहरूसँग त्यही बाटाका कुरा हुन्छन्। नेपालमा त्यस्ता ठाउँ पनि रहेछन् भनि अचम्म लागिरहन्छ।
लिङ्चो अनि त्यो काममा साथ दिने धन्य सहयोगी हातहरू, अचेल काठमाडौंमा बस्दा त्यो बाटो सम्झिन्छु, सायद सधैं सम्झिरहने छु।
त्यही बाटोले जिन्दगीका बारेमा धेरै कुराहरू सिकाएको छ। सधैं आभारी रहिरहने छु ती बाटाहरूप्रति।