साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङ खेल सुरू भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन्।
पन्ध्र वर्षदेखि व्यावसायिक रूपमा सुरू भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो। धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन्।
मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन्। पोखरामा हुने गरेको प्याराग्लाइडिङको विकल्पका रूपमा धरान रहेको प्याराग्लाइडर मणिकुमार जिमीको भनाइ छ।
धरानको मौसम र भौगोलिक अवस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पाइलटलाई उपयुक्त रहेको छ। धरान वरिपरिका चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटारलगायतका स्थानबाट सहजैरूपमा उडान भर्न सकिने अवस्था रहेको प्याराग्लाइडर क्षितिज बटाजोले बताए।
विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू गरिएको छ। स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेलले धरानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुढा सुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालक लेखमणि जिमीले बताए।
पर्यटन प्रवर्द्धन भन्ने बित्तिकै मठमन्दिर घुमाउने योजना बनाउने धरानको स्थानीय सरकारलगायत सम्बन्धित निकायले प्याराग्लाइडिङको व्यावसायिक विकासका लागि पनि योजना बनाउन आवश्यक छ।
रासस