'नेपाली सीमाभन्दा करिब ७ सय किलोमिटर टाढाको कोलकातामा ‘मिनी नेपाल’ छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यहाँस्थित विवेकानन्द पार्क रोडले भने अहिले त्यही पहिचान बनाएको छ ।', कान्तिपुरमा आज समाचार छापिएको छ। कोलकातामा छरिएका नेपालीले घरजम मात्र गरेका छैनन्, आफ्नो पहिचान झल्काउने गतिविधिसमेत बढाएका छन् ।
सन् १९९० यता सहरका विभिन्न भागमा छरिएर बसेका नेपाली यसै क्षेत्रमा घरजम गरी बस्न थालेका हुन् । तीनैमध्येका एक हुन्, नारायण हुमागाईं । काभ्रेको धुलिखेल मूल घर भएका उनी करिब ५० वर्षअघि कोलकाता भासिएका थिए । एक इन्जिनियरिङ कम्पनीमा कार्यरत हुमागाईंले कोलकाताकै चर्चित सामाजिक अभियन्ताको छवि बनाएका छन् । उनले घर बनाएपछि त्यहीं बसेका अन्य प्रवासी नेपाली पनि आकर्षित भए । विस्तारै धेरैले घर बनाउन थाले । अढाई दशकको अवधिमा ३ किलोमिटरको सेरोफेरोमा करिब १ सय ५० जनाले घर बनाइसकेका छन् ।
अहिले विभिन्न पेसा–व्यवसायमा गरी कोलकातामा करिब ३ लाख नेपाली कार्यरत छन् । तीमध्ये अधिकांशले यसै क्षेत्रमा घर बनाउन चाहेको हुमागाईंले बताए । ‘परदेशमा जोकोही पनि एक भएर बस्न चाहन्छ,’ उनले भने,‘हामी प्रवासी नेपाली पनि यहाँ एकै थलोमा बसेर सामूहिक एकताको भावनामा बाँधिएका छौं ।’