गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो ।आजको नयाँपत्रिकामा खबर छापिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए । उनले भने,‘पछिल्ला दिन चेक बाउन्सका उजुरी बढेका छन् । अनुसन्धानमा प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । यसले गम्भीर प्रकृतिका अपराध अनुसन्धानलाई समेत प्रभावित गरेको छ ।’
प्रहरीको तथ्यांकअनुसार काठमाडौं परिसरमा मात्रै प्रत्येक दिन २० भन्दा धेरै चेक बाउन्सका उजुरी पर्ने गरेका छन् । एक लाखदेखि पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएका उजुरी छन् । दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्स भएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै दर्ता हुने गरेका छन् ।
परिसरका मुद्दा शाखा प्रमुख डिएसपी मोहन थापाले प्रत्येक दिन २०–२५ वटा मुद्दा चेक बाउन्सका मात्रै दर्ता हुने गरेको बताए ।‘पछिल्ला दिन परिसरमा दर्ता भएकामध्ये अधिकांश मुद्दा चेक बाउन्सकै छन् । प्रत्येक दिन २०–२५ वटा चेक बाउन्सकै मुद्दा आउँछन् । दैनिक सरदरमा डेढ करोड रुपैयाँको चेक बाउन्सका मुद्दा दर्ता हुने गरेका छन्,’उनले भने ।