सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो । कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले कान्तिपुरलाई फोनमा भनिन्, ‘अरूको जिम्मा लगाउन सकिनँ । आफैं लिएर जान्छु । कर्म दिलाउँछु ।’
उनी ८ वर्षअघि घरेलु कामदार (हाउसमेड) का रूपमा कुवेत पुगेकी थिइन् । घरभित्रको काम सहज थिएन । दैनिक यातना सहनुपथ्र्यो । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो । ‘हामीसँगै बस्न थाल्यौं । मलाई आश्रय चाहिएको थियो । उसले आश्रय दियो । सँगै बस्दै गएपछि मायाप्रेम बस्यो । बच्चा पनि जन्मियो,’ उनले भने, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ । उसको आफ्नै संसार छ । तर, मेरो संसार अब यही छोरो हुनेछ ।’
कुवेत सरकारले झन्डै एकमहिने आममाफी कार्यक्रम ल्याएपछि सुष्माजस्ता घरेलु कामदारका लागि वैध रूपमा घर फिर्ने ढोका खुलेको हो । आममाफी खुलेको ६ दिन भयो । अहिलेसम्म नेपाली दूतावासबाट २५ बालबालिकालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ । जसमा १३ बालक र १२ बालिका छन् । तिनमा नवजातदेखि १४ वर्षसम्मका छन् ।